Monday, April 13सत्यम खबर
Shadow

संविधान दिवसमा मोदीले दिए शुभकामना

काठमाडौं, ३ असोज – नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका छन्।

संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उनले सन्देशमा दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गरेका छन्।

अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धता प्रधानमन्त्री मोदीले सन्देशमा दोहोर्‍याएका छन्।

ओजपूर्ण एवम् बहुआयामिक साझेदारीको माध्यमबाट शान्ति र समृद्धि हासिल गर्ने दुवै देशका जनताको साझा लक्ष्यका निम्ति भारत र नेपालबीचको सुदृढ पारस्परिक सम्बन्धलाई थप गति दिन प्रधानमन्त्री देउवासँग निकटमा रहेर सहकार्य गर्न आफू प्रतीक्षारत रहेको प्रधानमन्त्री मोदीले बताएका छन्।

प्रधानमन्त्री देउवा र समस्त स्नेहशील नेपाली जनताको सुस्वास्थ्यको कामना पनि प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गरेका छन्।

संविधान एवम् राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री देउवालाई हालसम्म बङ्गलादेश, श्रीलङ्का, म्यान्मा र लाओसका प्रधानमन्त्री तथा बेलारुसका परराष्ट्रमन्त्रीले शुभकामना सन्देश पठाएको र अन्य राष्ट्रबाट पनि शुभकामना प्राप्त हुने क्रम जारी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *