Monday, April 13सत्यम खबर
Shadow

चीनले नेपाली सीमास्तम्भ कहाँ–कहाँ मिच्यो ? हेलिकप्टरबाट एकेक हिसाब निकाल्दै अध्ययन समिति

नेपालगन्ज, ३ असोज – चीनले मिचेको नेपाली सीमा अध्ययन गर्न गएको समितिले हेलिकोप्टरबाट अध्ययन थालेको छ । समितिको टोलीले हुम्लामा पर्ने ३, ४ र ११ नम्बरको सीमास्तम्भ हेलिकोप्टरबाट अध्ययन गर्ने भएको हो।

नाम्खा गाउँपालिका– ६ लिमिलाप्चा १२ नम्बरको सीमास्तम्भ अध्ययन गरी ३, ४ र ११ नम्बरको सीमास्तम्भ अध्ययन गर्न नेपाली सेनाको हेलिकोप्टर शुक्रबार हिल्सातर्फ उडेको हो।

नाम्खा गाउँपालिका– ५ स्थित पाँच हजार एक सय २५ मिटरको उचाइ चिम्ला भञ्ज्याङको ३ नम्बर सीमास्तम्भ, पाँच हजार दुई सय ५० मिटर उचाइमा रहेको नुमुचे टुप्पाको ४ नम्बर सीमास्तम्भ र पाँच हजार दुई सय मिटर उचाइ टाकुलेको ११ नम्बर सीमास्तम्भ अध्ययन गर्न लागिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिएका छन् ।

गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा रहेको टोली शुक्रबार नै सुर्खेत फर्किनेछ। सीमास्तम्भको अध्ययन गर्न अध्ययन समितिको टोली गत भदौ २७ गते लाप्चा गएको थियो। टोलीमा नापी विभागदेखि अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्।

सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका नेपाली भूभाग अतिक्रमण भए–नभएको सम्बन्धमा टोली स्थलगत अध्ययनमा खटाएको छ । ( स्रोतः मिडिया डबली)

Leave a Reply

Your email address will not be published. Required fields are marked *