
खजुरा, २ असोज – बाँकेको खजुरामा रहेकोे सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले बिस्तारै सेवा बृद्धि गर्दै आएको छ । जनताको प्रत्येक्ष सहभागितामा सञ्चालनमा आएको अस्पतालले आजदेखि ईको मेशिनबाट मुटुको एक्सरे जाँच सेवा आरम्भ गरेको हो ।
यसअघि ब्राकी थेरापी, हिस्टोप्याथालोजी, किमो सेवा सञ्चालनमा ल्याईसकेको अस्पतालले अबको दुईमहिना भित्रै लिन्याक मेशिन जडान गरि पूर्णरुपमा सेवा सञ्चालनमा ल्याउने जनाएको छ । ईको मेशिनको शुभारम्भको अवसर पारेर मुटु र पाठेघरका क्यान्सरका बिरामीहरुलाई लक्षित गरि क्यान्सर स्क्रिनिङ तथा मुटु सम्बन्भि एक दिने स्वास्थ्य शिखिर समेत सञ्चालन गरि २ सय २० बढी मुटुका बिरामी र २ सय २२ पाठेघरका बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको अस्पतालले जनाएको छ ।
खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालल नेपालकै इतिहासमा जनताको प्रत्येक्ष सहभागिताबाट बनेको अस्पतालले दैनिक १ सय ५० बढीले ओपिडी सेवा लिईरहेको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति बताउछन् । उनले जुन क्यान्सरका बिरामीलाई किमो दिईन्छ त्यस्ता बिरामीको मुटुको अवस्था थाहा पाउन ईको मेशिनद्वारा भिडियो एक्सरे गर्न आवश्यक पर्ने भएकाले अस्पतालमा इको मेशिनको शुभारम्भ गरिएको बताए ।
किमोका बिरामीहरुलाई मुटुमा असरपर्ने भएकाले असर पत्तालगाउन भिडियो एक्सरेको आवश्यकता रहेकाले अस्पतालले ईको मेशिन खरिद गरि आजैदेखि सञ्चालनमा आउनेगरि शुभारम्भ गरिएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक कृष्ण प्रसाद आचार्य बताउछन् । उनले आजै राखिएको निःशुल्क शिविरबाट धेरै भन्दा धेरै सेवाग्राहीले मुटुको पत्रपत्रको जाँच गराउने भन्दै बिबाहित महिलाहरुले पनि यसै शिविरबाट पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर शुरुमै निदान गर्ने अवसर पाउने बताए ।
खजुरेली जनताले मुठीमानो दान गरेर निर्माण गरेको यस सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट कसरी सहजै गुणस्तरीय सेवा प्राप्त गर्न सकिन्छ भनेर सेवाग्राही पनि सचेत हुन जरुरी रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितिका अध्यक्ष भक्तबहादुर केसी बताउछन् । उनले अस्पतालले प्रदान गर्ने सेवा सुबिधा बारे सबै नागरिकले बुझ्न जरुरी रहेको पनि बताए ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आयोजना गरेको इको मेशिनको सुभारम्भ तथा मुटु सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविरमा शहिद गंगालाल हृदय रोग केन्द्र काठमाण्डौका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.कार्तिकेश कुमार ठाकुर, प्रशुति गृह काठमाण्डौकी वरिष्ठ गाईनोकोलोजिष्ट डा. अनामिका झा, नेपालगन्ज मेडिकल कलेजका प्रा.डा. मिता सिंह, र प्रा. डा. राजश्री झाले मुटु तथा पाठेघरको जाँच गरेका थिए । कार्यक्रमको सहआयोजक लायन्स क्लब अफ नेपालगन्ज खजुरा, लियो क्लब अफ नेपालगन्ज खजुराले गरेको थियो ।
