
नेपालगन्ज, २७ भाद्र – आजभोलि अधिकांशले जन्म दिनलाई तडकभडक ढंगबाट मनाउने गरेका छन् । तर, नेपालगन्ज १२ का आरोस शाहीको जन्म दिन क्यान्सर पीडितलाई सहयोग गरि मनाइएको छ ।
आरोसका बुवा अर्जुन शाहीले छोराको तेस्रो वर्ष पूरा भएर चौथो वर्ष प्रवेश गरेको अवसरमा आईतबार गुलरिया नगरपालिका २ घर भइ हाल नेपालगन्ज १२ बस्दै आएकी ब्लड क्यान्सर पीडित बालिका सभ्यता नगरकोटीलाई आर्थिक सहयोग गरेका हुन । पीडित बालिकाको घरमै पुगेर बुवा बसन्त नगरकोटीलाई १० हजार १ सय रुपैयाँ हस्तान्तरण गरेको शाही जानकारी दिए ।
अर्जुन शाहीका अनुसार आरोसले ५ हजार पचास र खजुरा २ का उनका मामा सुशान्तसिंह ठकुरीले पनि तीन दिन अगाडि पर्न गएको जन्म दिनको अवसरमा आजै ५ हजार पचास गरि १० हजार १ सय उनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको हो । गत वर्ष पनि आरोसको जन्म दिनको अवसरमा तिनै बालिकालाई ५ हजार सहयोग गरेको उनले बताए ।
आफ्नो छोरा १५ वर्ष पुग्दासम्म यस्तै परकारका सहयोग गरेर जन्म दिन मनाउने सोचाइमा रहेको शाहीले बताए । नेपालगन्जको घरबारी टोलमा व्यवसाय गर्दै आएका युवा व्यवसायी शाहीले यसअघि धुर्मुस सुन्तली फाउन्डेसनलगायत विभिन्न क्लबलाई पनि सहयोग गर्दै आएका छन् ।