
नेपालगन्ज, १९ भाद्र – फुल्टेक्राको बृहत विकासका लागि युवा नागरिक समिति वडा नं. ६ विगत दुई महिनादेखि सक्रियतापूर्वक सकारात्मक पहलतर्फ अग्रसर हुँदै कार्य गर्दै आईरहेको छ । प्रत्येक हप्ताको शनिबार स्थानीय पर्यटकीय स्थल हडियाबाबा आश्रममा बैठक बसी छलफलको माध्यमद्वारा वडाभित्र रहेका समस्याहरुलाई पहिचान गरी कसरी समाधान गर्न सकिन्छ । त्यसतर्फ निरन्तर कार्य गर्दै आईरहेको समितिका संयोजक मदनराज शर्माले बताउनुभयो ।

सोही अनुसार आज शनिबार स्थानीय पर्यटकीय स्थल हडियाबाबा आश्रममा युवा नागरिक समिति वडा नं. ६ को बैठक बसी विभिन्न निर्णयहरु गरेको छ । जसमा गत शनिबार गरिएको निर्णयहरुको कार्य मूल्यांकन समेत गरिएको समिति सचिव बृजेशकुमार त्रिपाठीले बताउनुभयो ।
गत शनिबार गरिएको प्रमुख निर्णयहरुमा सार्वजनिक बाटो तथा सडक पेटीमा भएको व्यवसायिक अतिक्रमण हटाउने सम्बन्धमा, आम सर्वसाधारणका लागि आवत–जावत गर्ने फुल्टेक्रा गाउँमा रहेको हाईस्कूलदेखि राप्ती पथ मार्गसँग जोडिएको बाटो आवागमन गर्न सहज गराउने सम्बन्धमा । युवा नागरिक समिति वडा नं. ६ कार्यालयमा सञ्चालन सामग्रीहरु व्यवस्था गर्ने सम्बन्धलगायत निर्णय गरेको थियो ।

जसको लागि सम्बन्धित पदाधिकारीहरुले वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंहलाई लिखित निवेदनसाथ जानकारी समेत गराईसकेका तथा हाल सो बारे के कति कार्य प्रगति भएको नभएको बारे मूल्यांकन गरेको सहसंयोजक दीलिप रेग्मीले बताउनुभयो ।
सहसंयोजक रेग्मीका अनुसार हाल मानसुनको चापले गर्दा फुल्टेक्राको टोलहरुमा कतिपय स्थानमा बाटो हिडडुल गर्न कठिनाई भईरहेको तथा त्यसैबारे सम्बन्धित वडा कार्यालयको ध्यानाकर्षण गराईएको तथा छिटोभन्दा छिटो समस्या समाधानको पहल गरिदिनु हुन अनुरोध गरिएको बताउनुभयो ।

यसैगरी आज शनिबार सोही कार्यलाई निरन्तरता दिंदै युवा नागरिक समितिद्वारा विभिन्न निर्णयहरु गरिएको छ । जसमा फुल्टेक्रा स्कूलको पश्चिमदेखि स्व.लालकुमार सोनीको घरसम्म हिलाम्य भएको बाटोबारे सम्बन्धित वडा कार्यालयलाई जानकारी गराउने सम्बन्धमा । वडा नं. ६ मा रहेका ऐतिहासिक सार्वजनिक मठमन्दिर, धार्मिक स्थललगायतको रेकर्ड व्यवस्थित गरी राख्ने व्यवस्था भएकोले त्यसबारे वडा कार्यालयबाट जानकारी संकलन सम्बन्धमा । टोलमा वैचारिक विचारलाई साझा गरी टोलमा भए गरेका जालसाज, ठगी, प्रलोभन गरी विचारका व्यक्तिहरुलाई अमानवीय, अनैतिक कार्य गर्नबाट सम्झाई बुझाई टे«कमा ल्याउने सम्बन्धमा तथा टोलमा रहेको फुल्टेक्रा माध्यमिक विद्यालय भित्र हुने गतिविधिहरुको सन्दर्भमा पूर्ण जानकारी संकलन गर्न सर्वसहमतिबाट निर्णय गरिएको समितिका कोषाध्यक्ष अनुप अधिकारीले बताउनुभयो ।
आज सम्पन्न बैठकमा संयोजक मदनराज शर्मा, सहसंयोजकद्वय दीलिप रेग्मी, सञ्जु योगी (संगीता), सचिव बृजेशकुमार त्रिपाठी, कोषाध्यक्ष अनुप अधिकारी, सदस्यहरुमा आइतेराम पुन मगर, सुभाष गुप्ता, मन्जु शाह, अरविन्द देव, माधवराम बर्मा, हितेश भारती, दुर्गेश शाह, प्रमोद सोनी, ललीत पौडेललगायतको सहभागिता रहेको थियो ।
