
नेपालगन्ज, ९ भाद्र – मधेशको समस्या जबसम्म देशको समस्या बन्दैन तबसम्म यसको समस्या समाधान हुँदैन, उक्त कुरा मधेशी नेता तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदेश त्रिपाठीले भनेका छन् ।
नेपालगन्जमा मंगलबार अवधी पत्रकार संघ नेपालको केन्द्रिय समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मधेशी नेता त्रिपाठीले भने मेरो नेपालगन्जसँग आत्मीय सम्बन्ध छ, यसकारण पटक पटक म यहाँ आउने गरेको छु, म मन्त्री हुँदा यहाँ बन्न लागेको क्यान्सर अस्पताललाई सघाएको थिए । आज यस क्षेत्रमा नेपालगन्ज विश्व विद्यालय बन्नु पर्ने आवश्यकता रहेको बोध भईरहेको भने ।
नेपालगन्जमा विश्वविद्यालय निर्माणको लागि सबै नै लाग्नु प¥यो, आव्हान गर्दै उनले भने– देशको राजनीति अहिले लिकभन्दा बाहिर गएको छ । यसबाट संविधान र व्यवस्थालाई नकारात्मक प्रभाव पर्दै गएको छ । यसलाई म विधायिका माथि आक्राण भएको अनुभूति गरिरहेको छु । अहिले न्यायधीश राख्ने कि न्यायमूर्ति राख्ने सोच्ने बेला आएको छ । मेरो सोच अनुसार अदालतमा न्यायधीश रहनु पर्छ त्यसको पक्षमा म छु । मधेशी आन्दोलनमा हामी सबैको भूमिका थियो । उपेन्द्र यादव, मो. ईस्यिाक राईहरु बाम गठबन्धनसँग मिलेर संघर्ष गरेका थिएनन् । तर हामी मधेश आन्दोलनमा बाम गठबन्धनसँग मिलेर संघर्ष गर्यौ । तर उपेन्द्र यादवहरु पछि बाम गठबन्धनसँग मिलेर सरकारमा सहभागी भए ।
यसरी मधेश आन्दोलनमा मधेशी जनताको क्षति बढी भयो तर उपलब्धी भने मिल्न सकेन । बाम गठबन्धनको सरकार बन्न लाग्दा मसँग सहमति भएन तर उपेन्द्र जी सहमति गरी सरकारमा जानु भयो । यसरी देशको बास्तुशास्त्र नै बिग्रेको छ । अहिले विभिन्न राजनीतिक दल विभाजित भएका छन् । मधव नेपाल–केपी शर्मा ओली एउटै पार्टीका व्यक्ति हुन तर उनीहरुले व्यक्तिगत कारणले आफ्नो पार्टीका विभाजन गरेका हुन । सैद्धान्तिक रुपले भने उनले गरेका होईनन् । यस्तै विभाजन विभिन्न मधेशी दलहरुमा पनि भएको छ । यो सैद्धान्तिक कारणले नभई व्यक्तिगत कारणले भएको हो ।
पत्रकारले नेपालमा एमसिसि आउने भएको छ यसप्रति तपाईको धारणा के छ भनी प्रश्न सोध्दा उनले भने एमसिसि भनेको कुनै बाघभालु होईन, अहिले अमेरिकी सेना पनि आउँदै छ भन्ने कुरा चर्चा परिचर्चामा छ । एमसिसि बारे मलाई दिएको प्रतिवेदनमा अमेरिकी सेना आउने कुरा उल्लेख रहेको देखिदैन । तर अशंकाहरु धेरै नै विद्यमान छन् । सैनिक आउने सम्झौताहरु कहिल्यै हुँदैन । नेपालसँग पनि अमेरिकी सेना आउने भन्ने सम्झौता छैन तर विभिन्न समयमा विदेशी सैनिक कैयन देशमा भित्रिएको उदाहरणहरु छ । इराकमा पनि अमेरिकी सेना जाने सम्झौता थिएन । तर पनि अमेरिकी सेना त्यहाँ पुग्यो भने ।
पत्रकारसँग भेटघाट गर्ने क्रममा मधेशी नेता त्रिपाठीले भने देवीले सधैं सोझोको बलि लिनु हुन्छ । हिंसक पशुको बलि लिंदैनन् । बाघ भालुको बलि दिएको कहिले पनि देखिदैन । अहिले यस्तै नै भईरहेको छ । अहिले मेरो बलि लिने तयारी भएको उनले भने ।
उक्त प्रेस भेटघाट कार्यक्रमको सञ्चालन अवधी पत्रकार संघ नेपालका महासचिव गुरमुरत यादवले गरेका थिए । संघका केन्द्रिय अध्यक्ष राकेश मिश्राको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा स्थानीय मधेशी नेता पशुपतिदयाल मिश्रा, जगदीशप्रसाद शुक्ला लगायतहरुको उपस्थिति रहेको थियो । मधेशी नेता हृदेश त्रिपाठी नेपालगन्जमा नयाँ पार्टी गठनको लागि आएको कुरा बुझिएको छ ।