
नेपालगन्ज, ८ भाद्र – नेपालगन्ज उपमहानगरपालिका–४ मा रहेको कब्रस्तान सञ्चालक समितिको मनोमानी विरुद्ध स्थानीय बिरोधमा उत्रिएका छन् । कब्रिस्तान सञ्चालक समितिले कब्रिस्तानको जग्गामा व्यवसायिक प्रयोजनका लागि सटरहरु निर्माण गर्न थालेपछि स्थानीयले बिरोध गरेका हुन् । जसका कारण सटर निर्माणको काम रोकिएको छ ।
जामा मस्जिदका महासचिव मोहम्मद इरफान सिद्दिकीले कब्रिस्तानलाई जग्गाकै अभाव भइरहको सटर निर्माण गर्नु गलत भएको बताए । ‘यहाँ सटरको आवश्यकता नै छैन्’ उनले भने– ‘भएका सटरहरुलाई नै सञ्चालक समितिले व्यवस्थित गर्न सकेको छैन् किन सटर चाहियो भनी प्रश्न गरे ।’
उनले कब्रिस्तान सञ्चालक समितिले सटरवाफतको भाडाको रकम समेत पारदर्शी तरिकाले खर्च नगरेको बताए । ‘सटर भाडाबाट आउने रकम कहाँ जान्छ उनले भने– ‘अव हामीलाई यसको हिसाव चाहिन्छ ।’
लगभग कब्रिस्तानका ६२ वटा सटर छन् । एउटा सटर १२ सयदेखि १५ सय रुपैयाँसम्म भाडामा दिइएको छ । यसबाट लगभग मासिक एक लाख आम्दानी हुने गरेको छ ।
नेपाल मुस्लिम समुदायका प्रवक्ता मेराज अहमद हलवाइ हिमालयले समितिले मनोमानी गर्ने गरेका कारण स्थानीय बाध्य भएर बिरोधमा उत्रिएको बताए । ‘६÷७ बर्षदेखि समितिले सटर भाडाको रकम सार्वजनिक गरेको छैन्’, उनले भने –‘सटर भाडाबाट आउने रकम कहाँ जान्छ ? स्पष्टसँग भन्नु पर्यो ।’ समिति कै केही व्यक्तिहरुले बर्षौदेखि सटरभाडा नदिएको गुनासो आएको पनि उनको भनाइ छ ।
उनले उनीहरुबाट किन भाडा उठाइएन् भनेर प्रश्न गरे । सटर भाडाबाट आउने रकमबाटै कब्रिस्तान व्यवस्थित भइहाल्ने भएकाले थप सटर बनाउन आवश्यक नरहेको उनको भनाइ रहेको छ ।
अर्का स्थानीय अनिस शाहले पनि कब्र खनेर सटर बनाउन थालिएपछि आफुहरु बिरोधमा उत्रिएको बताए । कब्रिस्तानका लागि जग्गा कै अभाव भइरहेको बेला त्यसलाई मास्न खोज्ने प्रवृत्ति ठिक नभएको उनको भनाइ छ । स्थानियका अनुसार कब्रिस्तानको करिव २६ कठ्ठा जग्गा छ । त्यही जग्गाको पूर्वतिर बंगाला रोडमा पक्की सटर निर्माण थालिएको थियो ।
एकलैनी, फुल्टेक्रा, घरवारी टोल, रामनगर लगायत आसपास टोलका मुस्लिम धर्मावलम्बीहरुको मृत्यु पश्चात अन्तिम संस्कार यहाँ गर्ने गर्छन् । कब्रिस्तानलाई राम्रो र सुन्दर बनाउनलाई व्यापारी, नेता र संघसंस्था लगायतले ठूलो रकम चन्दा दिने गर्छन । तर हालसम्म हिसाब सार्वजनिक नगरेको गुनासो स्थानीयहरु गर्दछन् ।
याकुव अन्सारी नेतृत्वको समितिले आफुखुसी निर्णयहरु गर्ने गरेका कारण स्थानीय बिरोधमा उत्रिएका छन् । संघीय सांसद मोहम्मद इस्तियाक राइले संसदीय कोषको ३९ लाख सहयोग गर्नुभएको छ । उनले दुई आर्थिक वर्षमा २५ र १४ लाख गरी ३९ लाख कब्रिस्तानमा खर्च भएको समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राईले जानकारी गराए ।
उक्त रकमबाट टाइल्स मार्बल, टिनको छाना, हात मुख खुट्टा धुने अर्थात वजु बनाउने पानीको टंकी, पंखा मस्जिदमा दुई वटा एसि जडान गरिएको थियो । त्यस्तै शहरी विकास अन्तर्गत एक वटा हाइमास्ट लाइट समेत लगाइएको छ ।
त्यस्तै वडा नम्बर ४ को अध्यक्ष सफिक बेहनाले नेपालगन्ज उपमहानगरपालिका र वडाको १० लाख बजेटले कब्रिस्तानको नयाँ जग्गामा माटो पटान गरिएको बताए । वडाअध्यक्षका अनुसार ८०÷२० को बजेटबाट उपमहानगरपालिकाले कब्रिस्तानको बाटो निर्माणको क्रममा खर्च गरेको थियो । लाइटका लागि स्टिल पाइप वडाअध्यक्ष आफैले सहयोग गरेका थिए ।
सटरलाई यसरी व्यवस्थित गराउने काम भइरहेका बेला कब्रिस्तान सञ्चालक समितिले मनोमानी तरिकाले काम गर्न खोज्नु दुर्भाग्यपूर्ण रहेको संघीय सांसद मोहम्मद इस्त्यिाक राइले बताउनुभयो । कब्रिस्तानलाई अतिक्रमण गरेर सटर बनाउनु गलत काम भएको उनको भनाइ छ ।
सञ्चालक समितिका अध्यक्ष अन्सारीले भने सटरबाट उठेको रकम कब्रिस्तान मै खर्च गरिएको दावी गरे । उनले सटर भाडाबाटै कब्रिस्तानको पर्खाल निर्माण गरिएको जानकारी गराए ।
यस्तै कब्रिस्तानका उपाध्यक्ष शकिल अहमद जसगढले कब्रिस्तानको जग्गा खरिद तथा विस्तारका लागि समिति निर्माण भएको बताए । उनका अनुसार, कब्रिस्तानमा जग्गा अभाव भएपछि केही कठ्ठा जग्गा खरिद गरिएको थियो ।
जग्गा खरिद गर्नका लागि रकम सबैबाट संकलन भएको थियो । उनले कब्रिस्तानमा सटर निर्माणको बिषयमा आफुलाई कुनै जानकारी नभएको बताए ।
उनका अनुसार यही साता भित्र सबै हिसाब किताब जनता सामुन्ने सार्वजनिक गर्न समितिले निर्णय समेत गरेको जानकारी गराए ।
मुस्लिम समुदायका धर्मगुरूहरूले कब्रमाथि भवन निर्माण गर्नु महापाप हुने बताएका छन् । उनीहरुले कब्र चिहान खनेर त्यसमाथि कुनै पनि किसिमको भवन निर्माण गर्न नमिल्ने बताउँछन् ।