Monday, April 20सत्यम खबर
Shadow

“महेन्द्र मधुकर” को ८६ औं जन्मजयन्तिमा दुई श्रष्टालाई पुरस्कार तथा सम्मान

नेपालगन्ज, १६ श्रावण – बाँके जिल्लाको नेपालगन्जमा सुप्रसिद्ध गायक, संगीतकार तथा साहित्यकार प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को ८६ औं जन्मजयन्ति आज शनिवार एक साहित्यिक कार्यक्रमका बिच मनाईएको छ । भेरी साहित्य समाज केन्द्रीय समितिद्वारा प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को ८६ औं जन्मजयन्ति, पुरस्कार अर्पण तथा सम्मान कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
रुकुम जिल्लाको मुसीकोट, सेरिगाउँमा जन्मनु भएका प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को विनासकारी महाभूकम्पको पूर्व सन्ध्या बि.सं. २०७२ साल वैशाख ११ गते निधन भएको थियो ।


प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को छोरी वाणीश्री मल्ल, जुवाई बखतबहादुर मल्ल र भेरी साहित्य समाजद्वारा स्थापित प्रेमप्रकाश मल्ल स्मृति कोषबाट हरेक वर्ष सम्मान सहित नगद पुरस्कार वितरण गर्ने क्रममा आज शनिवार ८६ औं जन्मजयन्तिको अवसरमा यस वर्ष बाँकेका वरिष्ठ लोकगायक कमल विके निर्मोही र बर्दियाका साहित्यकार इन्द्रराज पौडेललाई नगद २५ हजार १ सय ११ रुपैयाँ रकम सहितको पुरस्कार र सम्मान पत्र प्रदान गरिएको छ ।


उक्त पुरस्कारका लागि भेरी साहित्य समाज केन्द्रीय समितिले सल्लाहकार पूर्णलाल चुकेको संयोजकत्वमा महासचिव लेकप्रसाद प्याकुरेल र सचिवालय सदस्य लता शर्मा सदस्य रहेको “प्रतिभा छनौट समिति” गठन गरेका थिए ।
पुरस्कृत तथा सम्मानित भएका वरिष्ठ लोकगायक बाँकेका “निर्मोही”ले बि.सं.२०३९ सालदेखि साँगीतिक क्षेत्रमा निरन्तर क्रियाशील रही वरिष्ठ लोकगायक निर्मोहीले पहिलो पटक बि.सं. २०४० सालदेखि रेडियो नेपालमा आफ्नो लोकगीत, आधुनिक गीतहरु रेकर्ड गराउनु भएको थियो भने १ सय ५८ वटा गीत रेकर्ड गराउनुका साथै १० वटा गीति एल्बम तयार गर्नु भएको छ ।


अर्का पुरस्कृत तथा सम्मानित बयोवृद्ध बर्दिया जिल्ला निवासी साहित्यकार इन्द्रराज पौडेलको स्वर्गीय प्रेमप्रकाश मल्लको नाममा पे्रमाञ्जलि लगायत ८ वटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् ।
प्रमुख अतिथि नेपाल प्रज्ञा प्रष्ठिानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनतकुमार रेग्मी, कोषका संस्थापक वाणीश्री मल्ल र समाजका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले दोसल्ला ओढाएर उक्त सम्मान र पुरस्कार रकम हस्तान्तरण गर्नु भएको थियो ।
यसअघि उक्त पुरस्कार डा. गोपालप्रसाद अधिकारी, वरिष्ठ पत्रकार पूर्णलाल चुके, गुल्जारे अदबका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, डा. जीवेन्द्र देव गिरि, महेश विक्रम शाह र श्यामानन्द सिंहलाई प्रदान गरिएको थियो । कवि मल्लका सिर्जनाहरु प्रकृति प्रतिको प्रेम, राष्ट्रिय भावना र देशभक्तिबाट ओतप्रोत एकदमै छोटा र सटिक लेखन, नयाँ नयाँ शब्द चयन, प्रस्तुती उहाँको साहित्यिक विशेषता हो ।
मधुकर छोटो जीवनी लामो कहानी (लघुकाव्य), एउटा त्यो अजेय शिखर (लघुकाव्य), अनुभूतिका स्वरहरु (गीत–गजल–लघुकविता सङ्ग्रह), सजल (गजल सङग्रह), गाउँदा गाउँदै (कविता सङ्ग्रह), “उनी” रोदन गीति गाथा लगायत दर्जन बढी कृतिहरु प्रकाशित छन् भने रेडियो नेपालमा थुप्रै गीतहरु रेकर्ड भएर प्रसारण हुने गरेका छन् ।
मल्लका एक मात्र २१ वर्षिय सुपुत्र मधुकर मल्ल गुमाएपछि आफ्नो नामको पछाडी “मधुकर” उपनाम थप्नु भएका पे्रमप्रकाश मल्लले आफ्ना जीवन संगिनी महेन्द्रकुमारी मल्लको समेत दिवंगत भएपछि मधुकरको अगाडी “महेन्द्र” थप्नु भएको थियो ।


प्रमुख अतिथि नेपाल प्रज्ञा प्रष्ठिानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मीले स्वर्गीय पे्रमप्रकाश मल्लको साहित्यिक लेखन, गायन तथा सांगीतिक क्षेत्रमा दिनु भएको योगदान अतुलनीय रहेको बताउनु भएको थियो ।
सोही अवसरमा पुरस्कार संस्थापकद्वय स्वर्गीय मल्लका छोरी÷जुवाई वाणीश्री मल्ल र बखतबहादुर मल्लले पुरस्कार कोषमा नगद दुई लाख रुपैयाँ समाजका अध्यक्ष हरिप्रसाद तिमिल्सिनालाई हस्तान्तरण गर्नुभयो । अब अक्षय कोषमा उहाँहरुले जम्मा गरेको तीन लाख र भेरी साहित्य समाजले राखेको रु. ४० हजार सहित ३ लाख ४० हजार रुपैयाँ जम्मा भएको छ । प्रत्येक वर्ष रु.२५ हजार ५ सय ५१ रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने गरिएको छ ।
समाजका केन्द्रीय सल्लाहकार प्रतिभा छनौट समितिका संयोजक चुकेले समितिमा केही प्रतिभाहरुका बारेमा छलफल गर्दै प्रतिभा छनौट गरिएको र पहिलो पटक सांगीतिक क्षेत्रबाट पनि छनौट गरिएको बताउनु भयो । उहाँले कुनै पनि विधाका श्रष्टा देशकै गहना र अमूल्य निधि भएकोले उनीहरु माथि राजनीतिक आस्थाका आधारमा हेरिनु र मूल्याङ्कन गर्न नहुने धारणा राख्नुभयो ।


स्व. मल्लका बारेमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका निवर्तमान अध्यक्ष महानन्द ढकाल र पुरस्कृत इन्द्रराज पौडेल र कमल बिके निर्मोहीका बारेमा आख्यानकार तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख डा. इन्द्रबहादुर भण्डारी इन्द्रेणीले विस्तृत परिचय सहित उहाँहरुले साहित्यिक र सांगीतिक क्षेत्रमा पु¥याउनु भएको योगदानका बारेमा प्रकाश पार्नु भएको थियो ।
समाजका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुम्हार, सम्मानित श्रष्टा इन्द्रराज पौडेल, मध्यपश्चिम श्रष्टा समाज बाँकेका अध्यक्ष शुक्रऋषि चौलागाई, संस्थापक वाणीश्री मल्ल लगायतले आ–आफना विचार राख्नु भएको थियो ।
उक्त कर्यक्रममा खगेन्द्र गिरि केपिला, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरै, मध्यपश्चिम श्रष्टा समाजका सचिव बिपि अस्तु, वोधराज प्याकुरेल, हिरा बस्याल, शिक्षाविद् किरण आचार्य, पुष्पमणि प्रधान, भरत रानाभाट, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका उपाध्यक्ष सुमित्रा न्यौपाने, मणि अर्याल, हेरय बिक, पूर्णिमा कँडेंल, माया जैसुरी, नारायणदत्त पौडेल, भीवराज बम, वीरबहादुर सिंह, दिनेश ओली, भावना मल्ल, बुद्धिलाल अहिर लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतले प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को तस्वीरमा अबीरका साथै माल्र्यापण गर्नु भएको थियो ।
समाजका महासचिव लेकप्रसाद प्याकुरेलद्वारा सञ्चालित कार्यक्रममा वरिष्ठ लोकगायक निर्मोहीले स्व. मल्लको कालजयी लोकप्रिय गीत “वनकी म चरी…” शीर्षकको गीत गाउनु भएको थियो ।
भेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं सह प्राध्यापक तिमिल्सिनाले साहित्यकार तथा समाजका सदस्य ईश्वरीप्रसाद रिजाल “उल्कापातुद्वारा लिखित तथा संकलित बाँके जिल्लाको एक सय वर्ष यताको साहित्यिक इतिहास, अनुसन्धान, खोजमूलक, विविध साहित्यिक गतिविधि र साहित्यिक प्रतिभाहरु समेतको परिचय समेटिएको महत्वपूर्ण पुस्तक “शताव्दी साहित्य” प्रकाशित गर्ने निर्णय गरेको बताउनुभयो ।
पश्चिम नेपालकै साहित्यिक संघ संस्थाहरुमा अग्रपङ्तिमा आफ्नो सक्रिय पहिचान बनाउन सफल विधिवत रुपमा क्रियाशील भेरी साहित्य समाज केन्द्रीय समितिले यस अघि पनि दर्जन बढी विभिन्न श्रष्टाका कृतिहरु प्रकाशित गरिसकेको छ भने विगत २३ वर्षदेखि दौंतरी नामक साहित्यिक मासिक पत्रिका नियमित रुपमा प्रकाशित गर्दै आएको छ ।
समाजका केन्द्रीय सदस्य मीन बरालले स्वागत भाषण गर्नुभएको उक्त कार्यक्रममा समाजका कोेषाध्यक्ष फणिन्द्र आचार्यले प्रेमप्रकाश मल्ल पुरस्कार कोषको आय–व्यय प्रस्तुत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *