
नेपालगन्ज, ९ श्रावण – तिथिको अनुसार हिजो बिहानदेखि नै गुरुपूर्णिमा लागेको भएता पनि मितिका अनुसार आज अषाढ शुक्ल पूर्णिमाका दिन गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा मनाइँदैछ ।
ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ ।
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरस् ।
गुरुस् साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमस् ।।
माता पिता जस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।
गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् संघ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिक रुपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।
आषाढ शुक्ल पूर्णिमा कै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने परम्परा रही आएको हुँदा आज मनाईँदै छ । व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका छन् ।
‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।
अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् ।
यस वर्ष गुरुपूर्णिमा र व्यास जयन्तीका कार्यक्रम मनाउन नयाँ भेरियन्ट सहितको कोरोनाको जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाइँदैछ ।
मानव रुपी शरीरमा भएका विकारहरुलाई बाहिर फाली ज्ञानरुप प्रकाशको माध्यमबाट समाज, राष्ट्रलाई प्रगतिको मार्गतर्फ लैजान सके मात्र सच्च गुरुप्रति श्रद्धा हुने अध्यात्म गुरु श्यामराज शर्माको भनाई रहेको छ ।
अध्यात्म गुरु शर्माका अनुसार गुरुलाई गुरुपूर्णिमाको संज्ञा किन दिईएको हो भने अषाढ मसान्तमा बादल लाग्ने, आकाशमा समेत तारा नदेखिने तर प्रकाशको किरण लिएर जब चन्द्रमा प्रकट हुन्छ, त्यसैलाई पूर्णिमा भनिएको छ र सोही अनुसार गुरुले ज्ञानरुपी प्रकाश फैलाउने भएको हुँदा त्यसलाई गुरुपूर्णिमा भनी सम्बोधन गर्ने गरिएको बताउनुभयो ।

