Monday, April 20सत्यम खबर
Shadow

“भानु तिम्रो रामायणले” को लोकार्पण

नेपालगन्ज, ७ श्रावण – गायक तथा संगीतकार केशव शर्मा दाहालले आदिकवि भानु भक्त आचार्यको जन्म दिवसको अवसर पारेर “भानु तिम्रो रामायणले, मैले राम जाने” बोलको भजन गीतको लोकार्पण गरेका छन् । कनेक्टिकट नेपाली समाजले मनाएको २०८ औं आदिकवि भानु भक्त जन्म जयन्तिको अवसरमा औपचारिक लोकार्पण गरिएको भजन गीतको रचना कवि तथा गीतकार धन लामाले गर्नु भएको हो ।

नेपाली भाषा साहित्यको विकासमा आदिकवि भानु भक्त आचार्यको योगदान अतुलनीय छ । त्यसमा पनि साँस्कृत भाषामा रहेको वाल्मिकी रामायणको नेपाली भाषामा गरेको अनुवादले नेपाली समाजमा अध्यात्मिक जागरणको नयाँ युगको आरम्भ गरेको देखिन्छ । कवि तथा गीतकार लामाको “भानु तिम्रो रामायणले” गीत भजनले सिंगो रामायणको सार बोकेको छ ।

भानु तिम्रो रामायणले मैले राम जानें

भानु तिम्रो रामायणले मैले राम जानें
उनै बिष्णु भगवानको अर्को नाम जानें
राम नाम जानें भानु, राम नाम जानें
तिमीले गर्दा रामभक्त हनुमान जानें

भानु तिम्रो कामले आज नयाँ धाम जानें
अज्ञानको हट्यो बादल, मैले घाम जानें
धर्म जाने, कर्म जानें, कर्तव्यलाई जानें
दया जाने, दान जानें, गन्तव्यलाई जानें

धनलाई जाने, मनलाई जानें, लक्ष्मणलाई जानें
वनकी जानें, मनकी जानें, जानकीलाई जानें
मौनतामा थीर मनको तपोवन जानें
जानी तिम्रो योगदानलाई मैले धन्य मानें !!!

भानु तिमी शब्द ब्रम्हा, म हुँ तिम्रो भक्त
शब्द-को पार भक्ति बुझें, भएँ भ्रम मुक्त
पूल दियौ तर्न नदी, सहज भयो यात्रा
भाषा भित्र आशा रोप्यौ, बल्ल बुझें शास्त्र !!!

कवि तथा गीतकार धन लामा भन्नु हुन्छ: गुरु पूर्णिमाको पूर्वसन्ध्यामा भानु जयन्तीको अवसर पारेर सार्वजनिक यो गीत भजनमा राम र रामायण एक बिम्बात्मक प्रयोग हो ।

शास्त्रले भन्छ:
गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वरः
गुरुः साक्षात्परब्रह्मा तस्मै श्री गुरुवे नमः

भानुलाई यहाँ भक्ति भजन मार्फत गुरुको रुपमा प्रतिबिम्बित गरिएको हो । उनी यसका योग्य छन् । अस्तित्व निशब्दको विश्व विद्यालय हो । तर त्यसतर्फको यात्रा शब्दलाई सारथी बनाएर गर्दा सहज हुन्छ ।

भक्तिमा यस्तो अवस्था पनि आउँछ, जहाँ शब्द पनि छुट्छ र भाव मात्र बाँकी रहन्छ, त्यही भावको आकाशमा साँचो रामको दर्शन हुन्छ । यहाँ राम भन्नाले हामी हरेकको हृदयमा विराजमान राम भन्ने बुझ्नु पर्दछ । हामी हरेकको हृदयमा दया, प्रेम र करुणाको रुपमा सदैव रामले वास गरेको हुन्छ तर तृष्णाको धुँवाले, अपरिमित ईच्छा र आकांक्षाको बतासले र वासनाको बादलले हृदयको त्यो रामलाई ढाकी दिन्छ । हामी भजन र किर्तन पनि गर्छौं, शास्त्रका लामा लामा सँस्कृतका श्लोकहरु पनि कण्ठस्त गर्छौं तर पनि सत्यको सारको अनूभूति पाईरहेका हुँदैनौ ।

हामी शब्दलाई समातेर बस्छौं, भावको भूमिमा प्रवेश गर्नको लागि शब्दलाई पनि छोड्नु पर्छ, तर शब्द त हाम्रो सारथी: हामी त्यसलाई कहाँ छोड्न सक्छौ ? बरु धन, साथी, संगी, छोड्न सकिएला तर शब्द छोड्न असम्भव प्राय: हुन्छ । त्यही शब्दले त हामीलाई ज्ञानी प्रतित गराउँछ । त्यसैले त शास्त्र युग युग बाँच्छ तर सत्य मर्छ, चरा उड्छ तर सुनको पिंजडा सदा रहन्छ । हामी त्यही पिंजडालाई पुज्छौं जहाँ सत्य र सारको कुनै गुञ्जायस हुँदैन । यस भक्ति गीतका सोह्र पंक्तिहरुले त्यही सत्य तर्फ, त्यही सार तर्फ इंगित गर्न खोजिरहेको छ ।

भानु भक्त आचार्य नेपाली साहित्यिक आकाशका नक्षत्र हुन । भानु र उनको रामायणलाई बिम्ब बनाएर लेखिएको यो गीत भक्ति भजन लेखनमा एक नौलो प्रयोग हो । कवि तथा गीतकार धन लामाको यो शब्दलाई संगीतकार केशव शर्मा दाहालको संगीत र बिनुसा राई र केशब शर्मा दाहाल कै स्वरले न्याय गरेको देखिन्छ ।

तामसिक गीत र संगीतले राज गरेको यो समयमा भक्ति गीत र संगीतका श्रोताहरु अत्यन्त कम छन् । यदी तपाईं यी पंक्तिहरु पढ्दै हुनु हुन्छ भने यो भक्ति गीत र संगीतलाई नेपाली भाषा र साहित्य जगतमा पुर्याउन तपाईंको साथ र सहयोगको उत्तिकै जरुरी छ । यो गीत विद्यालयका विद्यार्थीहरुलाई भानु जयन्तिको अवसरमा वा अन्य कुनै अवसरमा सुन्न/सुनाउन प्रेरित गर्नु होला ! आफू सुन्नुहोला र अरुलाई पनि सुनाउनु होला । आउनुहोस न नेपाली साहित्य र अध्यात्मिक चिन्तनमा भानु भक्त आचार्यको योगदानलाई अझ उजागर गराउँन हुन्न ?

पुनश्च: गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वरः गुरुः साक्षात्परब्रह्मा तस्मै श्री गुरुवे नमः

यो गीत भजन यो लिंकमा सुन्न सकिने छ । https://youtu.be/oUQaEfMnTbM

Leave a Reply

Your email address will not be published. Required fields are marked *