
प्रहलाद विश्वकर्मा
नेपालगन्ज, १८ अषाढ – कोभिड–१९ महामारीको तेश्रो लहरको पूर्वतयारी गर्ने क्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले भेरी अस्पताल नेपालगन्जलाई स्वास्थ्य सुरक्षा सामग्री शुक्रवार हस्तान्तरण गरेको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले भेरी अस्पतालका मेडिकल सुपरिटेन्ट डा. प्रकाशबहादुर थापालाई संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको छ ।
हस्तान्तण गरिएको सामग्रीहरुमा स्वाचलित सेनिटाइजर मेसिन २ थान, पी.पी.इ. ३५५ सेट र सेनिटाइजर ५ लिटरको ११३ जार गरी रु. ६ लाख ९४ हजार ३ सय ७५ बराबरको सामग्री रहेको छ ।
हस्तान्तरणका क्रममा प्र.जि.अ. गेलालले जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने भावनाबाट देश विदेशमा मानवीय सेवा गर्दै आएको स्मरण गर्दै बाँके रेडक्रसको योगदान उल्लेखनीय रहेको बताउनु भयो ।
भेरी अस्पतालका मे.सु. डा. प्रकाशबहादुर थापाले कोभिडमा खटिने स्वास्थ्यकर्मीका लागि नेपाल रेडक्रसले पटक पटक सहयोग गर्दै आएको प्रंशासा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गर्नु भयो ।
हस्तान्तरण कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, कार्यक्रम व्यवस्थापक दोलखबहादुर डाँगी, आपत्कालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायतको सहभागिता रहेको थियो कार्यक्रम संचालन लेखा अधिकृत झवीलाल शर्माले गर्नु भएको थियो ।




