Wednesday, April 15सत्यम खबर
Shadow

दुध, माछा, मासुमा आत्मनिर्भर खजुरा

खजुरा, २६ जेष्ठ – खजुरा गाउँपालिका स्थानीय सरकार आएदेखि विकासको गतिमा फड्को मारिरहेको पाईन्छ । हाल खजुरा गाउँपालिकाकाे कृषि क्षेत्रलाई हेर्ने हो भने त्यहाँबाट उत्पादन भएका अन्नहरु अन्य जिल्लाहरुमा बिक्री वितरण हुने गरेको खजुरा गाउँपालिकाका किसानहरु बताउँछन् ।
हाल खजुरा गाउँपालिका भित्र रहेका उत्पादनशिल जमिन क्षेत्रफलको मात्र कुरा गर्दा करीब ८५ प्रतिशत जमिनमा कृषकहरुले मौसम अनुसार उत्पादन गरिरहेका छन् । खजुरा गाउँपालिका भित्र १५ प्रतिशत बाँझो रहेको जमिन समेत गाउँपालिका मार्फत विभिन्न उत्साहजनक योजनाहरुलाई कृषक माझ लगि खेती गर्न तर्फ प्रोत्साहन गर्ने कार्य भईरहेको खजुराका कृषकहरुको भनाई रहेको छ ।
हाल खजुरा गाउँपालिकाका किसानहरु विभिन्न खाद्यान्न (धान, गहुँ, मकै, अरहर, मसुराे) लगायत उत्पादनतर्फ मात्र केन्द्रित नभई खाद्यय (दुध, माछा, मासु) गाई पालन, माछा पालन, खसी पालन, बंगुर पालनलगायत क्षेत्रमा मनग्य आम्दानी गरिरहेको उक्त कार्यमा संलग्न कृषकहरुको भनाई रहेको पाईन्छ ।


श्रमले के हुँदैन भन्ने उदाहरण खजुरा गाउँपालिका वडा नं. ४ बस्ने नरेश बुढाले देखाएका छन् । उनको ५ कठ्ठा बाँझो रहेको जमिनलाई मेहनत गरी उर्बरायुक्त बनाएका छन् । हाल उक्त बाँझो रहेको ५ कठ्ठा जमिनमा कृषक बुढाले बाख्रालाई खुवाउन उन्नत जातका घाँसहरु उत्पादन गरिरहेका छन् । बाँझो जमिनलाई सदुपयोग गर्दै किसान बुढाले घरमा पालेका बाख्रा, गाई, भैंसीलाई खान चाहिएको घाँस आफ्नै खेतबाट उत्पादन गरिरहेको बताउँछन् ।
किसान बुढाको देखासिखी गरी वडा नं. ४ मा रहेका अन्य किसानहरु समेत आकर्षित भई अब उप्रान्त आउने दिनमा हामीले पनि आपनो जमिन बाँझो नराख्ने र आवश्यक पहलको लागि खजुरा गाउँपालिका वा कृषि अनुसन्धानमा सम्पर्क राखी समस्या समाधान गर्ने बताउँछन् ।
यसैगरी खजुरा गाउँपालिका वडा नं. ४ का नारायण खड्काले समेत गाउँपालिका मै उदाहरणीय कार्य गरिरहेका छन् । हाल उनी खजुरा गाउँपालिकामा रहेको जनता दुग्ध उत्पादक सहकारीमा दैनिक ५० लिटर बढी दुध बिक्री गरिरहेकाे सहकारी (डेरी)को रेकार्डले देखाईरहेको पाईन्छ । खड्का विगत १०–१२ वर्षदेखि लगातार दुध बिक्री वितरण गर्ने गरिरहेका छन् । कृषक खड्काले घर मै गाई पालन गरी उक्त दुध उत्पादन गरी आफै सहकारी (डेरी) सम्म पुर्याउने गरेको बताउँछन् ।


उमेरले ढलेको जस्तो देखिए पनि जोस र जाँगरमा युवा जस्तै देखिका ५३ वर्षिय कृषक खड्का घरमा रहेको १० वटा गाईबाट दैनिक ४५–५० लिटर दुध उत्पादन हुने गरेको बताउँछन् । दैनिक उत्पादन हुने दुधमा घरपरिवारले सहयोग गरेरै उक्त स्थान प्राप्त गर्न सकेको बताउँदै भन्नुभयो– “खजुरा गाउँपालिकाको समन्वय र भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयले दिएको ५० प्रतिशत अनुदान सहयोगले गाईको लागि नयाँ गोठ बनाउन लागेको बताउनुभयो ।”
कृषक खड्काले दुधबाटै घर खर्चदेखि छोराछोरीको पढाई, विवाहलगायत सम्पूर्ण कार्यको खर्च टार्दै आईरहेको बताउँदै हाल कोरोनाको कहरमा सरकारद्वारा लगाईएको लकडाउनले गर्दा उत्पादन हुने दुध खेर गईरहेको हुँदा सम्बन्धित पक्षले यसतर्फ ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।


कृषक खड्का एउटा पात्र मात्र हुन । उनी जस्तै २० देखि २५ लिटर दूध साँझ बिहान उत्पादन गर्ने कृषकहरुमा गणेश शाही, शेरबहादुर रावत, युवराज उपाध्यायलगायत धेरै कृषक रहेको जनता दुग्ध उत्पादक सहकारी डेरीको रिकार्डबाट देखिन्छ । खजुरा गाउँपालिकामा रहेका कृषकहरुले उत्पादन गरेको दुध अन्यत्र समेत सप्लाई हुने गरेकाे सञ्चालककाे भनाई रहेकाे छ ।
खजुरा गाउँपालिकाले किसानलाई लक्षित गरी प्रत्येक वर्ष नयाँ नयाँ कार्यक्रम ल्याईरहेकै कारण हाल खजुरा गाउँपालिकामा उत्पादन हुने दुध, माछा, कखुरा नेपालगन्ज बजारमा समेत दैनिक लाखौं रुपैयामा बिक्री गरी आम्दानी गरिरहेको खजुरा गाउँपालिकाका किसानहरु बताउँछन् ।
हाल खजुरा गाउँपालिका मासु, दुध, अण्डामा आत्मनिर्भर भईरहेको अवस्था रहेको भन्न मिल्छ ।


खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले किसानलाई व्यवसायिक बनाउन गाउँपालिकाले हरेक वर्ष प्रभावकारी कार्यक्रम ल्याएको जानकारी गराउनुभयो । गाई पालन, कखुरा पालन, बंगुर पालन, बाँझो खेतमा उत्पादन बृद्धि गर्ने किसानहरुका लागी पनि आगामी बर्ष थप कार्यक्रम ल्याउने योजनामा रहेको प्रमुख कक्षपतिले जानकारी गराउनुभयो ।


प्रमुख कक्षपतिले भन्नुभयो– ‘कृषकले आफूले गरेको पेसामा इमानदारिताका साथ व्यवसाय गर्ने हो भने खजुरा कृषिको क्षेत्रमा एक वर्ष भित्रै पुर्ण रुपमा आत्मनिर्भर हुन्छ ।’ प्रमुख कक्षपतिले केही राम्रो काम गर्ने गरि योजना माग गरेको खण्डमा कुनै पनि कृषकलाई निर्धक्कता साथ गाउँपालिकाले आर्थिक सहयोग सहकार्य गर्ने जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *