
नेपालगन्ज, १४ जेष्ठ – विहिबार रात ८ बजे भेरी अस्पतालमा कार्यरत स्वास्थयकर्मी गरिएको कुटपिट घटनाको चौतर्फी निन्दा भईरहेको छ ।
जेष्ठ ४ गते कोरोना संक्रमित भई भेरी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको विहिबार राती मृत्यु भएपछि उनका आफ्न्तहरुले भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नेकपा एमाले केपी गुटको लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायतले कुटपिट गरेका थिए । स्वास्थ्यकर्मी माथी गरेको आक्रमण निन्दनीय भएको भन्दै उनीसहित संलग्नहरुलाई कारबाही गर्न माग गर्दै राजनीतिक दलदेखि विभिन्न स्वास्थ्य संगठनहरुले समेत विभिन्न माध्यमबाट आवाज उठाईरहेका छन् ।
जसपाको पार्टी कार्यालयमा नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेल, नेकपा (माओवादी केन्द्र) बाँकेका अध्यक्ष आइपी खरेल, नेकपा एमाले बाँके सचिव रत्न खत्री, जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राई र राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकालले संयुक्त बिज्ञप्ति निकाली दोषी माथी कडा कार्वाहीको माग गरेका छन् ।
हाल कोरोना भाईरसको संक्रमितहरुबाट आक्रान्त भएको नेपालगन्जमा स्वास्थ्याकर्मीहरुले खेलेको भूमिकालाई बाँकेबासीहरुले महत्वपूर्ण मानिरहेका छन् ।
यही परिस्थितिमा भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर अग्रपंक्तिमा रही कोभिड–१९ का संक्रमित बिरामीहरुको उपचार गर्दै आईरहेका छन् । यसै शिलशिलामा रावत लगायतले भेरी अस्पतालका डाक्टर नर्स लगायत स्वास्थयकर्मी माथी सांघातीक आक्रमण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा भनिएको छ–“यस्ता अराजक सत्ता उन्माद गुण्डागर्दीप्रति हामी तपशिलका पार्टीहरु संयुक्त रुपमा घोर भत्सर्ना गर्दछौं । साथै यस्ता अराजक कुतत्वलाई कडा कारवाहीको माग गर्दछौ र कोरोना संक्रमणबाट संक्रमित बिरामीको उपचारमा खटिएका स्वास्थयकर्मीको मनोबल बढाउन अनुरोधका साथै स्वास्थ्यकर्मीको सुरक्षाको जोडदार मांग गर्दछौ ।”




