
नेपालगन्ज, १४ जेष्ठ – भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु माथि भएको हातपातको घटनालाई लिएर चौतर्फी विरोध गरिएको छ ।
सम्बन्धित पक्षलाई कानुनी कार्वाहीको माग गर्दै पूर्वमन्त्रीदेखि वर्तमान मन्त्री र नेतासम्मले कडाभन्दा कडा कार्वाहीको माग गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि भएको आक्रमणका घटनामा निष्पक्ष छानविन गरिने बताएका छन् । उनले दोषीलाई कार्वाही गरिने पनि बताए ।
बिहीबार बेलुकी ८ बजे कोरोना संक्रमित बिरामीको मृत्युपछि उनका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए ।
आज बिहान ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही हुनेछ ।’
घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई कोरोना देखिएको थियो । उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।
उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल स्रोतले जानकारी दिएको छ ।
यसैगरी भेरी अस्पतालको घटनालाई लिई पूर्वमन्त्री मो.ईस्तियाक राईले भयावह महामारी समेत आफ्नो ज्यानको परवाह नगरि दिनरात खटिएको नेपालगन्ज स्थित भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको कुटपिट तथा अमानवीय व्यवहारको कडा शब्दा निन्दा र भत्सर्ना गर्छछु भनी फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।
अगाडी लेख्नुभएको छ, सत्ता र शक्तिको उन्मादमा मात्तिएर डाक्टर र नर्सहरुमाथि गरिएको कुटपिट तथा अमानवीय व्यवहार कुनै पनि हालतमा क्षम्य हुनसक्दैन ।सत्ताको उन्मादमा यस्ता घटना गर्नेहरुलाई अविलम्ब कडाभन्दा कडा कारवाही गर्नुका साथैय स्वास्थ्यकर्मीहरुको सुरक्षाको विशेष प्रबन्ध मिलाउन बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गरेर ध्यानाकर्षण गराएका उल्लेख गरेका छन् ।


