
नेपालगन्ज, १२ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसले आक्रान्त बनेको बाँँके जिल्लाको सदरमुकाम नेपालगन्जमा हाल सहयोगी हातहरुले देखाएका तदारुक्तालाई सराहनीय कार्य हो भनी नेपालगन्जबासीहरुलाई भन्नै पर्ने देखिन्छ ।
भेरी अस्पताल प्राङ्गण भित्र सञ्चालनमा रहेको अन्जनी माता रसोई, भेरी अस्पताललाई उपलब्ध हुने सहयोग, राजकुमार रौनियारको संयोजकत्वमा रहेको फुड बैंक, पन्चसिलद्वारा सञ्चालित फुड बैंक, बासद्वारा सञ्चालित मास्क बैंक, ललित रौनियारको संयोजकत्वमा रहेको वाटर बैंकलगायत यसको उदाहरण रहेको देखिन्छ, जो सहयोगी दाताहरुको मनकारी सहयोगले सञ्चालनमा रहेको पाईन्छ ।
२४ सैं घण्टा सर्वसाधारणको सुरक्षामा खटिएका प्रहरीको लागि समेत बेला–बेलामा सहयोगी हातहरुले केही न केही गरिरहेका विभिन्न सञ्चार माध्यममा देखिन्छ । आज बुधबार पनि योगदान राष्ट्रको लागि संस्थाले प्रहरीहरुको योगदानको उच्च मूल्यांकन गर्दै धम्बोझी स्थित रहेको टेण्टमा पंखा जडान गरि मावनताप्रेमी कार्य गरेको छ ।
योगदान राष्ट्रको लागि संस्थाका लुम्बिनी प्रदेश अध्यक्ष राहुल कौशलले दिएको जानकारी अनुसार आज धम्बोझी स्थित प्रहरी टेण्टमा पंखा जडान गरिएको छ भने भोलि विहिबार जमुनामा रहेको टेण्टमा पंखा जडान गरिने बताउनुभयो ।
अध्यक्ष कौशलले आउने दिनमा नेपालगन्जका मुटु धम्बोझीमा फ्रि मास्क बैंक सञ्चालन गरिने तथा प्रहरी विटहरुका लागि फास्ट ऐड बाक्स उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।
अध्यक्ष कौशलले योगदान राष्ट्रको लागि संस्था नेपालमा प्राथमिक उपचार सम्बन्धी तालिम दिई, देशमा आईपर्ने दैविप्रकोप, महामारी, दुर्घटना तथा आपतकालिन अवस्थाका लागि जनशक्तिको विकास गरी स्वतन्त्र स्वयंसेवक खडा गरेर समाजमा योगदान दिन गठित सामाजिक संस्था भएको बताउनुभयो ।
हाल देशका ७७ वटै जिल्लामा गठन भएको संस्था हरेक स्थानीय तहसँगको समन्वयमा हरेक गाउँ टोलसम्म प्राथमिक उपचार सम्बन्धी आधारभूत ज्ञान, सीप, सिकाई गराउँदै समाजमा हुन सक्ने घटना, दुर्घटना र क्षतिबाट जोगाउन प्रयत्नशिल रहेको बताउनुभयो ।



