
नेपालगन्ज, ३० बैशाख – नेप्लिज अमेरीकन च्याम्बर अफ कमर्स डालस टक्सास, अमेरीका र वेष्टर्न हस्पिटल नेपालगन्जको सहयोग तथा बास नेपालको ब्यवस्थापनमा आज ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री टिकापुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।
बास केन्द्रीय कार्यालयमा आज ईलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख रामबहादुर कुरुम्वाङ्ग र टीकापुर अस्पतालका अध्यक्ष दिपकबहादुर रावललाई २०० थान पिपिई वेस्टर्न हस्पिटल नेपालगन्जका निर्देशक डा. राहुल थापा, बासका अध्यक्ष रमेश सिटौला र कार्यकारी निर्देशक नमस्कार शाहले हस्तान्तरण गरेका छन् ।
वेस्टर्न हस्पिटल नेपालगन्जका निर्देशक डा. राहुल थापाबाट १ लाख ७५ हजार र बाँसको समन्वयमा १ लाख ७५ हजार गरि ३ लाख ५० हजार बराबरको २०० थान पिपिई टिकापुर अस्पताललाई प्रदान गरिएको थियो । सामाग्री ग्रहण पश्चात बोल्दै ईलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख कुरुम्वाङ्गले बाँकेमा यस अघि एक बर्षको कार्यकालमा बाँके बासिहरुबाट राम्रो सहयोग पाएको स्मरण गरे । उनले कोभिड महामारि बिरुद्ध टिकापुर अस्पतालमा स्वास्थ्य सामाग्री अभाव हुन नदिन सहयोग संकलन गरिरहेको बताए ।
विपतको समयमा सामुहिक रुपमा अगाडी बढ्न सकेमा मात्रै विपत्ति बिरुद्ध जित हासिल गर्न सकिने उनको भनाई थियो । उनले स्वास्थ्य सामाग्री सहयोग गर्ने संस्थाहरुलाई धन्यबाद ज्ञापन गरे ।
यसैगरी कार्यक्रममा बोल्दै टिकापुर अस्पतालमा अध्यक्ष दिपकबहादुर रावलले ईलाका प्रशासन कार्यालय टिकापुरमा प्रमुखको रुपमा कुरुवाङ्ग आएपछि टिकापुरका जनताका लागि ठुलो सहयोग र समन्वय भईरहेको बताए । उनले अस्पतालका लागि यति ठुलो सहयोग गरेकोमा सहयोग गर्ने संस्थाहरुलाई टिकापुर बासिको तर्फबाट धन्यबाद ज्ञापन गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वेस्टर्न हस्पिटल नेपालगन्जका निर्देशक डा. राहुल थापाले टिकापुर अस्पतालका लागि बासको समन्वयमा सानो सहकार्य गरेको बताए । उनले सबैले मिलेर अगाडी बढेमा मात्रै महामारि बिरुद्ध लड्न सकिने प्रतिक्रिया दिए । कार्यक्रमको सञ्चालन बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा ईलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख कुरुम्वाङ्ग, टीकापुर अस्पतालका अध्यक्ष रावल, टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, वेष्टर्न हस्पिटल नेपालगन्जका निर्देशक डा. राहुल थापा, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख, प्रहरी निरिक्षक डिल्लीबहादुर खड्का, बासका अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, निर्वतमान अध्यक्ष मन भण्डारी, उपाध्यक्ष लुना बुढाथोकी, महासचिब शिवकुमार बर्मा, निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहरा, लेखा अधिकृत दिपा चौधरी लगायतको उपस्थिती रहेको थियो ।

