
नेपालगन्ज, २७ बैशाख –राप्ती सोनारी गाउँपालिकाले सोमबारदेखि एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण सुरु गरेको छ । राप्ती सोनारीको वडा नम्बर १ र ३ बाट शंकास्पद बिरामीको एन्टीजेन परीक्षण गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।
सोमबार १७ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७ जनालाई पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले जानकारी दिए । प्रमुख शर्माका अनुसार वडा नम्बर १ मा एक जना र वडा नम्बर ३ मा ६ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका सबै सामान्य अवस्थामा रहेकाले उनीहरुलाई होम आइसोलेसनमा उनले राखिएको बताए ।
भेरी अस्पतालले पीसीआरका लागि स्वाब लिन नमानेको र स्वाब लिए पनि रिपोर्ट ढिला आउने भएकाले कोरोना भाइरस गाउँस्तरमा नफैलियोस् भन्ने उद्देश्यले एन्टीजेन परीक्षणको सुरुवात गरिएको प्रमुख शर्माको भनाइ रहेको छ। कोरोना भाइरससँग मिल्दोजुल्दो ज्वरो आउने, टाउको दुख्ने रुघा लाग्ने जस्ता लक्षण देखिएका गाउँपालिका अन्तर्गतका सबै बिरामीको एन्टीजेन परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख शर्माले जानकारी दिए ।
एन्टिजेनमा आधारित परीक्षण भनेको के हो ?
पीसीआर परीक्षण गर्नको लागि प्रयोगशाला, विशिष्टकृत उपकरण, विभिन्न किट, धेरैथरिका जनशक्ति चाहिन्छ भने एन्टिजेनमा आधारित परीक्षणमा धेरै झमेला नगरिकन नै सामान्य परीक्षणको आधारमा रिर्पोट थाहा पाइने परीक्षण हो । भाइरस पत्ता लगाउनका लागि उपकरण चहिँदैन, स्वाव निकाल्न बाहेक अन्य कार्यका लागि दक्ष जनशक्ति पनि चाहिदैंन । घाँटीको स्वाव निकाल्न सक्ने मानिसले पनि परीक्षण गरिएका व्यक्तिमा भाइरस संक्रमण भएको छ वा छैन पत्ता लगाउन सक्छ ।
त्यस्तै पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको दिनदेखि ४८–७२ घण्टामा मात्रै नतिजा थाहा पाउन सकिन्छ । पिसिआर परीक्षणको नतिजा ६–८ घण्टामा नै आउने भए पनि विविध कारणले रिपोर्ट ढिला आउने हुन्छन् । तर एन्टिजेनमा आधारित परीक्षण गर्दा धेरै चाँडो (१५ मिनेटमा) रिर्पोट आउने जनस्वास्थ्य वैज्ञानिक डाक्टर समीरमणि दिक्षित बताउँछन् ।
