
नेपालगन्ज, २० बैशाख – भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोभिड संक्रमित र अन्य विरामीका कुरुवालाई लक्षित गर्दै सञ्चालित अञ्जनी माता रसोईलाई नेपालगन्ज उपमहानगरपालिकाले मासिक एकलाख ५० हजार रुपियाँ सहयोग गर्ने भएको छ ।
विगतमा अस्पतालमा उपचाररत विपन्न विरामी र कुरुवाहरुलाई २० रुपियाँमा प्रति छाक बिहानको खाना खुवाईरहेको रसोईलाई उपमहानगरपालिकाले मासिक ५० हजार रुपियाँ सहयोग गरिरहेको छ । पछिल्लो समय कोभिडका बिरामीको संख्या बढेपछि रसोईले प्रति छाक ८० रुपियाँमा साँझको खाना खुवाईरहेको छ ।

रसोईले साँझको खाना खुवाउन आर्थिक अभाव भएको भन्दै उपमहानगरपालिकामा अनुरोध गरेपछि सोमबार बसेको कार्यपालिका बैठकले मासिक एकलाख ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरभित्र उपचार तथा अन्य सेवा प्रभावकारी रुपमा अघि बढाउन पहल गर्ने निर्णय गरेको छ । नगर क्षेत्रभित्र कोभिड बिरामीको सहजताका लागि एउटा एम्बुलेन्स सञ्चालनमा रहेको बैठकले अर्को एउटा एम्बुलेन्स समेत थप गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
यसैगरी नगरभित्र होम आईसोलेसनमा बसेका बिरामीहरुलाई वडाका स्वास्थ्य फोकलपर्सनहरुले नियमित फोन सम्पर्क गरी उनीहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिई आवश्यक परामर्श दिने निर्णय बैठकले गरेको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा बाल मन्दिरमा तत्काल आईसोलेसन सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
