
नेपालगन्ज, १५ बैशाख – सामाजिक दायित्व सबैलाई हुन्छ तर बहन कसै कसैले मात्र गरेको सुन्न र देख्न पाईन्छ । सोही सामाजिक दायित्व निर्वाह गर्ने क्रममा नेपाल शिवसेनाले बाँकेमा २४ औं घण्टा दिनरात नभनी डियुटीमा खटेका सुरक्षाकर्मीहरुलाई पानी वितरण गरेका छन् ।
बुधबार नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियार र मदनराज शर्मालगायतको टीमले १०० पेटी पानी कोभिड–१९ कोरोना भाईरसको महामारीका बेला दिनरात डियुटीमा रहेका सुरक्षाकर्मीहरुका लागि उपलब्ध गराएको छ ।
नेपाल शिवसेना केन्द्रीय कार्यालय बाँकेले हालमात्र नभई विगतमा समेत मानवताप्रेमी कार्य गर्दै आईरहेको मदनराज शर्माले बताउनुभयो । बाँकेमा विगतको लकडाउनको लागि नेपाल शिवसेना, अवधी पत्रकार संघ नेपाल बाँके शाखा, लगायतहरुबाट समन्वय गरी क्वारेन्टाईनमा बसेकाहरुका लागि साँझ बिहान खाना, नास्ता समेतको व्यवस्था गरेको बताउनुभयो ।
सोही अनुसार हाल पनि जिल्लामा निषेधाज्ञा जारी रहेको अवस्था तथा तापक्रमको बढ्तो चापलाई मध्यनजर गरी नेपाल शिवसेना केन्द्रिय कार्यालयद्वारा १०० पेटी पानी हालको लागि शुभारम्भ गरी उपलब्ध गराईएको केन्द्रीय अध्यक्ष राजकुमार रौनियारले बताउनुभयो ।
अध्यक्ष रौनियारका अनुसार सुरक्षाकर्मी हाम्रो लागि दिनरात नभनी कुना काप्चामा खटिरहेको अवस्था रहेको तथा उहाँहरुको लागि खाने पानीको समेत उचित व्यवस्था नभएको हुँदा हामी उहाँहरुको सेवालाई पहिलो प्राथमिकतामा राखी मानवता नै सर्वोपरी भनी सहकार्य गरेको बताउनुभयो ।
केन्द्रिय सदस्य शर्माका अनुसार नेपालगन्ज उपमहनगरपालिकाको समन्वयमा नेपाल शिवसेना, अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा र गुरुद्वाराले लकडाउनमा फसेका दैनिक ३ सय जना व्यक्तिहरुलाई खानाको व्यवस्था गरेको थियो ।
नेपालगन्जको दासगजा क्वारेंटाईनमा रहेका व्यक्तिहरु र लकडाउनको चपेटामा परेका असहाय व्यक्तिहरुलाई नेपाल शिवसेना, अवधी पत्रकार संघ नेपाल, जिल्ला शाखा र नेपाल मानव धर्म सेवा समितिले खाना र खाजाको व्यवस्था गरेका थिए । नेपाल शिवसेनाले मजदूर, गरीब र असहाय व्यक्तिहरुलाई चामल, दाल, स्वयबिन, तेल, नून, बेसर, आलू, प्याज, चिनी समेत विगतमा वितरण गरेको थियो ।
सोही अनुसार हामीलाई समन्वय गर्ने अवसर मिल्यो भने यो सालको कोरोनाको महामारीमा पनि हामी निस्वार्थ भावना साथ दिनरात सेवामा तल्लीन हुनेछौ ।
आजदेखि पानी वितरण गरेका छौं, आवश्यकता अनुरूप तन, मन, धनले मानवता प्रेमी, जनसेवामा यो भौतिक शरीर दिनेछौ । हामी भगवान शिवको सैनिक सधैं लोकसेवामा तैयार हुने नेपाल शिवसेनाको केन्द्रीय अध्यक्ष रौनियारले बताउनुभयो ।



