
शुभम् शर्मा
नेपालगन्ज, १२ बैशाख – भेरी अस्पतालमा देखिएको अक्सिजन ग्यास अभावलाई लिएर सार्वजनिक सञ्जालमा देखिएको दुईमतलाई कसैले सकारात्मक र कसैले नकारात्मक भनी स्टाटस लेख्ने गरेका छन् । लोकतन्त्र हो भाई बोल्न र लेख्न त पाईन्छ नी, होईन त ?
भेरी अस्पताल आर्थिक रुपमा आफै सक्षम रहेको पाईन्छ भने फेरी किन आर्थिक संकट भयो भनी भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापासहित व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिताललगायतद्वारा अक्सिजन ग्यास खरीद गर्न आर्थिक अभाव भनी स्टाटस लेखियो त ? भित्री कुरा के हो ।

यस विषयमा भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धितालका अनुसार आर्थिक अभाव त होईन तर केन्द्र सरकार र प्रदेश सरकारले सहयोग नगरेको हुँदा अलि समस्या भएको छ । त्यसमाथि यदि कुनै मनकारी सहयोगी हातहरुले आर्थिक सहयोग गरिरहेका छन् भने त्यसलाई सकारात्मक रुपमा लिनु पर्दछ भनी बताउनुभयो ।
अध्यक्ष धितालले विगतमा अस्पतालको दैनिक ३ लाखबढी आर्थिक स्रोत भएको तथा कोभिड–१९ कोरोना भाईरसको अवस्था जटिल बन्दै गएपछि अन्य बिरामीहरुको आउने चाप कम भएसँगै आर्थिक स्रोत समेत घटेको हुँदा यस्तो अवस्था आएको बताउनुभयो ।
उहाँले अगाडी थप्नुभयो– हाल दैनिक ६–७ हजार मात्र आउने तथा कोभिडका बिरामीहरुबाट मन्त्रालयले समेत कटौती गरी पैसा पठाउने भएको हुँदा अस्पताललाई घाटा भएको बताउनुभयो । उहाँले पूर्वमन्त्री ईस्तियाक राईद्वारा अस्पताललाई गरिएको आर्थिक सहयोगमा समेत सुधार गर्नुपर्ने तर्क राख्नुभयो ।

अध्यक्ष धितालका अनुसार हाल अक्सिजन ग्यासको कमी भएको हो तर उहाँले ग्यास सिलेण्डरको टेण्डरको लागि भनी बजेट छुट्टाउनु भयो । त्यसमा उहाँले सुधार गरी अस्पताललाई चाहिएको ग्यास खरीदको लागि रकम उपलब्ध गराउनुपर्छ । उहाँद्वारा गरिएको प्रक्रिया अनुसार चाईनाबाट सिलेण्डर ल्याउन २–३ महिना लाग्छ, तर हाल कोभिडका बिरामीको चाप बढी भएको हुँदा अवस्था जटिल रहेकोले अक्सिजन ग्यासको खपत बढी भएकोले ग्यासको कमी हो, सिलेण्डरको कमी होईन भनी बुझ्नु पर्दछ ।
उहाँले हाल केही दिन अगाडी आर्थिक संकट भनी सार्वजनिक सञ्जालमार्फत गरिएको गुहारबाट प्रेरित भई मनकारी सहयोगी हातले हालसम्म दिएको सहयोग रकम करीब ५ लाख बढी आएको अध्यक्ष धितालले बताउनुभयो ।
यसै विषयमा नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार उपमहानगरसित पैसाको कमी छैन, ४–५ करोड रुपैया हामीसँग उपलब्ध छ । हामीलाई सिलेण्डरको अभाव छ । यसमा सम्बन्धित प्रशासनले हाल लकडाउन भएको बेला विभिन्न कलकारखाना, कम्पनी र उद्योगहरुले प्रयोग गर्ने सिलेण्डरलाई फिर्ता ल्याउन सके अक्सिजन ग्यासको अभावलाई टार्न सकिने थियो भनी बताउनुभयो ।
उहाँले भेरी अस्पतालमा सबै बिरामीहरुलाई भर्ना नगरी कम्तीमा पनि ९४ प्रतिशत अक्जिसन लेबलभन्दा तल रहेका बिरामीहरुलाई चेकजाँच गरी मात्र भर्ना गर्ने हो भने यो समस्या पनि समाधान हुने तथा अक्सिजनको लेबल हेरेर मात्र बिरामी भर्ना गर्नुपर्छ भन्नुभयो ।
आर्थिक रुपमा मजबुत रहेको भेरी अस्पतालमा आर्थिक अभाव कसरी भयो । भेरी अस्पतालको लेखाजोखा सार्वजनिक हुनुपर्ने माग बाँकेबासीहरुले गरिरहेका छन् । यसबारे पूर्वमन्त्री मो. ईस्तियाक राईलाई मोबाईल सम्पर्क गर्दा उहाँको मोबाईल नउठेको हुँदा थप जानकारी आउन सकेन ।
