
नेपालगन्ज, १८ चैत – खुशी कस्तो हुन्छ, त्यसको अनुभूति कसरी गरिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् राप्तीसोनारी गाउँपालिकाका स्थानीय बासिन्दाहरुले ।
बाँके जिल्लाको पालिकाहरु मध्ये विकट क्षेत्र मानिएको राप्तीसोनारी गाउँपालिकामा विगत १२ वर्षदेखि विद्युत पोललाई देखेर स्थानीय बासिन्दाहरुले अब विद्युत आउँला भनी प्रतिक्षा गर्दै आएको सपना स्थानिय जनप्रतिनिधिहरु विजयी भई आएपछि अब पुरा भएको बताउँछन् ।
बाँके जिल्लाको पुर्बीउत्तर क्षेत्रमा पर्ने राप्तीसोनारी गाउँपालिकाले आप्mनो क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि विद्युत बिस्तार परियोजना सञ्चालन गरी स्थानिय बासिन्दाहरुलाई विद्युतीकरणसँग जोडने कार्यलाई तिब्र रुपमा अगाडी बढाएको छ ।
राप्तीसोनारी गाउँपालिकाले गत आर्थिक बर्ष ०७६÷०७७ मा विद्युत सम्बन्धी नीति तथा कार्यक्रम पारीत गरी राप्तीसोनारी गाउँपालिकाको वडा नं. ३ बैशामा पहिलो पोल गाडेर विद्युतीकरण गर्ने अभियानको शुरुवात गरेको थियो । सोही विद्युतीकरण अभियानलाई वडा नं. ३ र ४ का जनप्रतिनिधि र बासिन्दाहरुको सक्रियताले आजदेखि अँध्यारोबाट मुक्त हुने शुरुवात गरिएको गाउँपालिका प्रमुख लाहुराम थारुले बताउनुभयो ।
पालिका प्रमुख थारुका अनुसार वडा नं. ४ मा अधिकांश स्थानहरुमा विद्युत लाईन विस्तारको कार्य सम्पन्न भईसकेको र नभएको स्थानहरुमा बिस्तार हुने क्रम निरन्तर जारी रहेको बताउनुभयो ।
ग्रामीण क्षेत्रमा बिधुत बिस्तारसँगै बाँके जिल्लाको बिकट क्षेत्र मानिएको राप्तीपारीका सबै घरमा बिधुत बिस्तार कार्यलाई बिधुत प्राधिकरणले पनि प्राथमिकताका साथ अगाडी बढाएको र यसमा जनप्रतिनिधि तथा स्थानिय जनताहरुको साथ र सहयोग निरन्तर हामीलाई भईरहेको सवडिभिजन कार्यालय नेपालगन्जका प्रमुख सुरज गौतमले बताउनुभयो ।
आज बुधबार बिधुत बिस्तार कार्य सम्पन्न भएकोमा वडा नं. ३ का अध्यक्ष, गाउँपालिकाका अध्यक्ष लगायतको समूहले उक्त बिधुत बिस्तार कार्यको १ बर्ष अघी गरिएको शिलन्यास आज एक समारोह बीच उद्घाटन गरिएको थियो । उक्त बिधुत बिस्तारका लागि गाउँपालिकाले ३ करोड ५४ लाख ४५ हजार रुपैया बिनियोजन गरेको थियो ।




