
नेपालगन्ज, १७ चैत – सस्तो लोकप्रियता पाउनको लागि अध्यक्ष नन्दलाल वैश्यले जे पनि गर्न सक्छन् । हाल त्यस्तो कार्य गरेको प्रमाण महामूर्ख सम्मेलन कार्यक्रमबाट देखिएको नेपालगन्जबासीहरुले बताएका छन् । अर्काको ब्यानर तल महामूर्ख सम्मेलनको आयोजना गरेपछि प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्य स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यको यहाँ तिब्र आलोचना हुन शुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा महामूर्ख सम्मेलनको आयोजन ५०औं वर्षदेखि हुँदै आएको छ । यस महामूर्ख सम्मेलनको आयोजन गर्ने परम्परा स्व. राम गोपाल वैश्य र स्व. मोहनलाल वैश्यबाट चलाइएको थियो । २०७३ सालसम्म महामूर्ख सम्मेलन कार्यक्रम निरन्तर रुपमा चल्दै आएको थियो । तर २०७४ मा राम गोपाल वैश्य सिकिस्त रुपमा बेरामी पर्दा यो कार्यक्रम हुन सकेन । २०७४ पुस ७ मा राम गोपाल वैश्यको निधन र त्यसपछि मोहनलाल वैश्यको पनि निधन भएपछि सो कार्यक्रम हालसम्म स्थागित थियो ।
महामूर्ख सम्मेलनको परम्परा लोप नहोस् यसको लागि केही दिनअघि स्मृति प्रतिष्ठानको बैठक बस्दै यस वर्ष यो कार्यक्रम भव्य ढंगले गर्ने निर्णय गरिएको थियो । चैत्र १५ गते यो कार्यक्रम गर्ने निर्णय गरिएको थियो तर पछि यसको समय बढाई होली पर्वको दिन चैत्र १६ गते गर्ने तयारी गरिएको थियो । यस कार्यक्रमको प्रचार–प्रसार सत्यम खबर डटकमबाट निरन्तर रुपमा चलाइएको थियो । यस वर्ष होली पर्वमा महामूर्ख सम्मेलनको अध्यक्षता नन्दलाल वैश्यले गर्ने र सो दिन विजयकुमार वैश्यलाई यसको संरक्षक बनाउने समेत प्रचार–प्रसार गरिएको थियो ।
तयार गरिएको कार्यक्रम अनुसार नेपालगन्ज उद्योग वाणिज्य संघ अगाडि नगरका गणमान्य व्यक्ति भेला भई नन्दलाल वैश्यलाई तरकारी लगायतको माला लगाई महामूर्खको टोपी लगाई भंगडा बाजागाजासहित नगर परिक्रमा गर्ने कार्यक्रम थियो । यसको सबै नै तयारी पूरा थियो । महामूर्ख सम्मेलनको अध्यक्षको लागि विशेष पोशाक पनि बनाइएको थियो तर कार्यक्रमको समयमा प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले कार्यक्रममा एक्कासी फेरबदल गरी महामूर्ख सम्मेलनको कार्यक्रम अर्कैको ब्यानर तल सम्पन्न गराएका थिए ।
समय फेरबदल कार्यको प्रतिष्ठानका पदाधिकारीहरुमा समेत असन्तुष्टि रहेको बताईन्छ भने अर्काेतर्फ प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यको यस्तो कार्यको नेपालगन्ग निवासीहरुले आलोचना गरेका छन् । होली पर्वको दिन नेपालगन्ज उद्योग वाणिज्य संघ अगाडि एक संस्थाबाट सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । त्यसै सांस्कृतिक कार्यक्रम बीच महामूर्ख सम्मेलन कार्यक्रमको पनि आयोजना गरियो ।
प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यलाई महामूर्ख सम्मेलनका पूर्व आजीवन संरक्षक स्व. राम गोपाल वैश्यको सुपुत्र अजयकुमार गुप्ताबाट तरकारी, जुत्ता चप्पलले बनेको माला पहिराई, अध्यक्षता ग्रहण गराई प्रमाण पत्र प्रदान गरिएको थियो । यसैगरी, विजयकुमार वैश्यलाई महामूर्ख सम्मेलनको संयोजकको नियुक्ति प्रमाण पत्र प्रदान गरिएको थियो । नव नियुक्त सम्मेलनका संरक्षक विजयकुमार वैश्यले पनि अहिले सम्पन्न गरिएको महामूर्ख सम्मेलनप्रति असन्तुष्टि प्रकट गर्दै भने, अहिले जेनतेन कुनै प्रकारले यो महामूर्ख सम्मेलन आयोजना गरिएको छ तर अब यो कार्यक्रम भव्यताले हरेक वर्ष गराउने जिम्मेवारी मलाई सुम्पिएको छ । अब कुनै अर्काको ब्यानर तल हामी कार्यक्रम गर्दैनौं आगामी दिनमा हुने होली पर्वमा आफ्नो नेतृत्वमा महामूर्ख सम्मेलन भव्यताले सम्पन्न गराउने र नेपालगन्ज उद्योग वाणिज्य संघको अगाडी नै धर्मेन्द्र पाण्डेबाट भब्य ढंगले कार्यक्रम आयोजित गर्ने बताए ।
यस वर्ष होली पर्व नजिकिँदा नै स्थानीय प्रशासनबाट होलीपर्वमा रंग घरमा नै खेल्न, भिडभाड नगर्ने, कोभिडबाट आफूहरु पनि बच्ने र अरुलाई बचाउने भनी अपील गर्दा चैत्र १५ गते आईतवार दिनभरी कुनै प्रकारको होली खेलिएको देखिएन तर १५ गते राती न्यूरोड, त्रिवेणीमोड लगायतमा भिडभाड गरी होली खेलियो र पर्वको अवसरमा अबेर रातीसम्म नाचगान गरिएको थियो ।
१६ गते दिनभर नै होलीको रंग खेलियो । स्थानीय प्रशासनको सो अपीललाई अनदेखा गरी ठाउँ ठाउँमा डिजे लगाई नाचगान कार्यक्रमहरु गरियो । यस वर्ष कोभिड–१९ को कारण होली पर्व अति नै फिक्का ढंगले मनाइयो । छिमेकीदेश भारतमा कोभिडको संक्रमण तिव्र ढंगले फैलिएको प्रभाव यहाँ नेपालगन्जमा पनि देखियो । होली पर्वमा वैदिक सनातन धर्मावलम्बीहरु १५ गते राती ८ः४८ बजे साइतदेखी होलिका दहन गरेर १६ गते बिहानैदेखि होलिका ताप्ने परम्परा निर्वाह गरेका थिए ।
यो होलिका दहनलाई सामुहिक यज्ञ पनि भनिन्छ । होलिकाको आगोमा नै नयाँ अन्नबाली, अक्षत, गाईको गोबरले बनेको गुइठा हालीपुजा गर्ने र होलिकाको परिक्रमा गर्ने परम्परा रही आएको छ । त्यसपछि रंग अबीर खेल्ने गरिन्छ । यस वर्ष होली पर्व अति नै शान्ति र सद्भावका साथ सम्पन्न भएको नेपालगन्जबासीहरुले बताए ।








