
२०७७ चैत १४ गते
पत्रकारिता पेशा मर्यादित र सम्मानित पेशा हो । समाज परिवर्तनका लागि गरिने पत्रकारिताले अमुल परिवर्तन ल्याउँछ । समाजमा ऐनाको रुपमा पत्रकारलाई चिन्ने गरिन्छ । पत्रकारले आफ्नो मूल्य, मान्यता, पत्रकारिता आचारसंहिताभित्र रहेर व्यवसायिक पत्रकारिता गर्नुपर्दछ । त्यसै बमोजिम हामी पत्रकारहरु यो पेशा अपनाएका पनि छौ ।
यो पेशालाई व्यवसायिक रुपमा अगाडी बढाइरहँदा थुप्रै चुनौती तथा समस्या झेल्नुपरेको अवस्था छ । त्यसमा पनि पेशागत चुनौती, दक्षताको चुनौती, संचार गृहको दिगोपनाको चुनौती लगायतले गर्दा पत्रकारिता पेशाको निरन्तरता न्युन देखिन्छ । तर अहिले पछिल्लो समय हेर्ने हो भने पत्रकारिता जगत निकै फस्टाएको छ । दिनहु संचारमाध्यम खुल्दै जानु, नयाँ पत्रकारहरुको संख्या बढदै जानुले नेपालमा पत्रकारिता झन अघि बढेको पुष्टी गर्दछ । यसले मुलुकमा सूचना तथा सञ्चारको विकास भएको त मानियो तर यसले आगामी दिनमा पार्ने प्रभावको विषयमाथी भने प्रश्न चिन्ह खडा गरेको छ । च्याउ जस्तै उम्रने मिडिया हाउसको संरक्षण तथा दिगोपना र त्यसमा काम गर्ने श्रमजिवी पत्रकारको पेशा तथा रोजगारी र दक्षतामाथी बेला बेलामा उठने प्रश्नले समस्या निम्ताएको देखिन्छ ।
नेपालमा सूचना प्रविधीको विकास तिब्र गतिमा अघि बढेको छ । सामाजिक सञ्जालको प्रयोग र रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन जस्ता मिडिया हाउसको विकास भएको छ । तिब्र रुपमा खुल्ने गरेका संचार माध्यम केही मात्रामा छडिक देखिन्छ । बडो तामझामका साथ खुलेका मिडियाहरु विच यात्रा मै विश्राम लिएको उदाहरण हामी समक्ष प्रस्सत छन् । त्यसैले मिडियाको विकासलाई रोक्नुभन्दा दिगोपना बनाउन सरकारको पनि जिम्मेवारी हो ।
समाबेशी शब्द यस्तो शब्द हो जुन अहिले आरक्षणको रुपमा प्रभावकारी बन्दै गएको छ । तर समाबेशीलाई हाम्रो समाजले महिला र पुरुषबिचको सहभागितालाई मात्र बुझेको छ । समाबेशिता अन्तर्गत महिला, मधेशी, जनजाती, दलित, अपांगता भएका व्यक्ती, अल्पसंख्यक, मुस्लिम, तेस्रोलिंगी सबै पर्दछन । यी समुदायका नागरिकहरुको पहुँच र समान सहभागिताको अवस्था नै समाबेशिता हो । नेपाली पत्रकारितामा पनि समाबेशिताको सवाल खुबै उठने गर्दछ । यसलाई आरक्षणको रुपमा अघि बढाइएको छ । नेपाली मिडिया हायसमा यी समुदायको कतिको सहभागिता छ, कति संख्यामा पत्रकार छन्, उनीहरु कुन स्तरमा काम गर्दछ, कति पारिश्रमिक पाउँछन्, नेतृत्व तथा सम्पादक तहमा कतिको सहभागिता छ ? यी सबै प्रश्नहरुको उत्तर खोज्न जरुरी छ । कहिं कतै सहभागिताको प्रयास गरिएको छ तर कुनै न कुनै बाधा व्यवधानको सामाना गर्न परिरहेको अवस्था छ । त्यसैले समाबेशिताको कुरा जोडदार उठेको
पाइन्छ । समाबेशिताको नाममा आफु फेरी दक्ष नभएको अवस्थामा आरक्षणका लागि भने खोज्नु त्यो बेइमानी पनि मानिन्छ । किन कि मिडिया हाउसको विकासका लागि पत्रकारको दक्षता विशेष रुपमा हेर्ने गरिन्छ ।
नेपाली पत्रकारहरुको छाता संंगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघले विशेष गरि पत्रकारहरुको हितमा काम गर्नुपर्ने हो तर प्रभावकारी रुपमा काम गरेको पाइंदैन । छाता संगठनको रुपमा संस्था भएपछि मुलुकका सम्पुर्ण पत्रकारहरुको बृहत्तर विकासका लागि विभिन्न कार्यक्रम ल्याउनुपर्ने हो । त्यसमा पनि अहिले खुशीको कुरा के हो भने मुलुक संघियतामा गइसकेपछि स्थानीय, प्रदेश र संघिय गरि तीनवट सरकार रहेका छन् । यी सरकारहरुबाट मिडियाको नाममा बजेट बउछार भएको अवस्था छ । बजेटको सदुपयोग गरि पत्रकारको विकास, क्षमता अभिबृद्धी लगायत कार्यमा लागेको भए बर्षेनी सैयौ पत्रकारहरुको अवस्था थप जर्जर, दर्दनाक नभएर राम्रो स्थानमा काम गर्ने अवसर मिल्थ्यो होला ।
यी सवालमा पत्रकार महासंघ आफै बेखबर छ । संस्थाको नाममा भजाउने, शक्तिको दुरुपयोग, नजायज फाइदा लिने गरेको मात्र पाइयो । केन्द्रदेखि जिल्ला स्तरका संस्थाहरुमा यस्तै चरित्रले पत्रकारिता जगत नै बदनाम गरेको अवस्था हामी सामु छर्लग छ । संस्थालाई राजनीति गर्ने थलोको रुपमा मात्र यसको प्रयोग भइरहेको छ । पत्रकार नभएकालाई सदस्यता प्रदान गरि निर्वाचनमा मतदाताको रुपमा मात्र प्रयोग गर्ने परिपाटीको अन्त्य गर्न जरुरी छ । दसकौदेखि पत्रकारिता क्षेत्रमा लागि परेका वरिष्ठ पत्रकारहरु यदि संस्थामा आउन खोजे भने विभिन्न पसल, व्यवसाय क्षेत्रमा लागेकाहरुले सदस्यता पाएर मतदाता बनेकासँग मत माग्न होस् या पेशाप्रतिको कुरा गर्ने बेला लाजमर्दौ अवस्था सिर्जना हुन्छ । यहाँ नेपाली पत्रकारहरुको छाता संठनको रुपमा पत्रकार महासंघ रहेकोले त्यसको मात्रै उदाहरण दिइएको छ ।
यसैगरि विभिन्न विचार तथा आस्थाका रुपमा खुलेका विभिन्न पत्रकारका संस्थाहरुमा यस्तो क्रियाकलापको अन्त्य हुनु निकै जरुरी छ । त्यसैले पत्रकारिता अन्तर्गत रहेका विभिन्न संघ संगठनहरु समेत निस्वार्थ भावनाले प्रेरित भई अघि बढनुपर्ने हुन्छ । यी सबै निकायमा विभिन्न जाती, धर्म समुदायको सामान रुपमा सहभागिता हुन पनि आवश्यक छ । अनि मात्र समाबेशीमुलक संस्थाको विकास भएको देखिन्छ ।
त्यसैले पत्रकारको बृहत्तर विकास र समाबेशिताको कुरालाई अहिलेका तीन वटै सरकारले बुझ्न जरुरी देखिन्छ । सरकारले पत्रकारिता विकास कार्यक्रम संचालन गर्न आवश्यक देखिन्छ । विशेष गरि स्थानीय सरकारलाई पत्रकारका विकासका लागि विशेष प्याकेज ल्याउन म अनुरोध गर्दछु । स्थानीय सरकारको विकासमा पत्रकारिताले ठुलो मद्दत पु¥याउँछ ।
अन्त्यमा नेपालगन्जबाट प्रकाशन हुने साप्ताहिक पत्रिका समाज जागरणको १३ औँ वार्षिक उत्सवमा यो सन्देश दिन पाउँदा म एकदम हर्षित भएको छु । पछिल्लो समय मिडियाको विकासका क्रममा पनि साप्ताहिक रुपमा पत्रिकालाई निरन्तरता दिनु भएको एउटा राम्रो सकारात्मक प्रयासको सराहना गर्दै आगामी दिनमा पनि निरन्तरताको शुभकामना व्यक्त गर्दछु ।
यो पत्रिकाले जुन अवधी भाषालाई समेत माया गरेर अवधी भाषा, कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा विशेष योगदानका लागि शुरु गरेको प्रयासले पनि समाबेशिताको उदगम मान्नु
पर्दछ । यो सन्देशले नै समाबेशीको बत्ती बालेको छ । त्यसैले अवधी भाषाको विकासमा यो पत्रिकाले सफलता हासिल गरोस् र हाम्रो अवधी भाषी पत्रकारहरुको छाता संगठन अवधी पत्रकार संघ नेपालले पनि हातमा हात मिलाएर अघि बढने प्रतिबद्धता समेत जाहेर गर्दछु ।
साथै यस पत्रिकाका सम्पादक तथा प्रकाशक चन्द्रेश्वरराज त्रिपाठीले थाल्नु भएको अर्को सत्यमखबर अनलाईनलाई पनि पाठक स्रोताका लागि उपयोगी बनोस् भनेर शुभकामना दिन चाहन्छु । अहिलेको अस्वस्थ प्रतिस्पर्धामा मिडिया संचालन गर्न निकै चुनौतीका बेला यो प्रयासको प्रशंसा गर्दै नेपालगन्जमा एउटा नमूनाको रुपमा आफ्नो परिचय बनोस् । हार्दिक शुभकामना ।
(स्रोतः समाज जागरण साप्ताहिक)

