
नेपालगन्ज, १४ चैत – “काँचो ईट्टा तयार भएर पनि पकाउन चाहिएको कोईला आफूसित सिजन कै बेला नभएपछि अब कस कहाँ हारगुहार गर्न जाने” भनी प्रश्न यतिबेला बाँकेका ईट्टा उद्योगीहरुले गरिरहेका छन् ।
भारतको विभिन्न राज्यबाट नेपाललाई सप्लाई गर्दै आईरहेको कोईला भारत सरकारले रोक लगाएपछि लुम्बिनी प्रदेशका ईट्टा व्यवसायीहरुलाई समस्या भईरहेको श्रद्धा ईट्टा उद्योगका सञ्चालक सुधिरप्रताप सिंहले बताउनुभयो ।
सञ्चालक सिंहका अनुसार हाल भारतका कोईला व्यवसायीहरुले उपलब्ध गराउँदै आएको कोईला भारत सरकारले रोक लगाएपछि सिजन कै बेला तयार भएको काँचो ईट्टा समेत पकाउन नपाएको बताउँछन् । सञ्चालक सिंहले भन्नुभयो– “भारतको बंगाल, गुहाटी, वनारसको डिपो, झारखण्डको धनवादलगायतका स्थानहरुबाट कोईला आउने गरेको छ । तर रोक लगाएपछि अब यहाँका ईट्टा उद्योगीहरुलाई समस्या परेको बताउनुभयो ।”
अब तेस्रो मुलुकबाट कोईला ढुवानी भईरहेको अवस्था विद्यमान रहेको छ, त्यसमाथि नेपालमा रहेका आधिकारिक बिक्रेताहरुले आफूखुशी मनोमानी तवरले बिक्री गर्ने भएको हुँदा झन समस्या परेको नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले बताउनुभयो ।
अब आउने वर्षायाममा काँचो ईट्टा नपाके कै अवस्था रह्यो भने पानी परेर काँचो ईट्टा पग्लेर व्यवसायीहरुको नोक्सानी हुनु बाहेक थप विकल्प केही नभएको बताउँदै संघका उपाध्यक्ष देवबहादुर वलीले भने – “गतवर्ष कोरोनाको मार, त्यसपछि वर्षायाममा ईट्टा पग्लेर नोक्सानी भएरपनि बैंकका ब्याज तिरियो तर बीमा कम्पनीले काँचो ईट्टाको बीमा गरेवापत दिने रकम समेत भुक्तानी नदिने भएपछि ऋणको भारीमा डुबेका ईट्टा व्यवसायीहरुलाई हाल कोईला अभावले ठूलो मारमा परेको दुःखेसो पोख्नु भयो ।”
यसैगरी, बाँकेमा हाल श्रमिकहरुको समेत अभाव रहेको बताउँदै संघका महासचिव टंक बुढाले भन्नुभयो– “भारतबाट आउने श्रमिकहरुको भरमा बाँकेलगायत जिल्लाका ईट्टा व्यवसायीहरुको व्यवसायी चलेको पाईन्छ । त्यसमाथि कोरोना कालमा लागेको लकडाउनका बेलामा श्रमिकहरु आउन नपाएर तथा हाम्रो बैना (पेश्की) लिएर बसेका श्रमिकहरुले गर्दा समेत हामीलाई आर्थिक समस्या परेको अवस्था रहँदारहँदै हाल भारत सरकारद्वारा लगाईएको कोईलामा रोकले गर्दा थप समस्या परेको बताउनुभयो ।”
बाँकेमा हाल दर्ता भएको र नभएको ६० वटाभन्दा बढी ईट्टा उद्योग सञ्चालनमा रहेका छन् । भारतले ८ मार्च, २०२१ देखि कोइला ल्याउन नदिएको संघका सदस्य विजय प्रसादले बताउनुभयो । उनले कोइला नपाउँदा २० लाख काँचो ईट्टा बाहिर रहेको बताउँदै कोइलाका लागि पटक–पटक भारत गए पनि ल्याउन नपाएको दुःखेसो पोखे ।
“भारतले कोइला ल्याउन नदिए यस क्षेत्रमा ईट्टा अभाव हुने सम्भावना बढेको छ । कोइला अभावले गर्दा बजारमा चाहिएको निर्यात गर्न नसकिए ईट्टाको मूल्य समेत बढ्न सक्ने संकेत उद्योगीहरुले लगाएका छन् । कोइला ल्याउन नपाए ईट्टा पकाउन सक्ने अवस्था छैन । ईट्टा पकाउन नसकिए बजारमा अभाव हुने देखिन्छ । त्यसपछि इट्टाको मूल्य स्वतः बढ्ने” बताए । जिल्ला कै कुरा गर्नुपर्दा कोइला अभावले गर्दा करोडौं बढी नोक्सानी ईट्टा उद्योगीहरुले उठाउनुपर्ने तथा बैंक ऋणले थप समस्या आउने देखिन्छ । (स्रोतः समाज जागरण साप्ताहिक)




