Tuesday, April 28सत्यम खबर
Shadow

१४ वर्ष लोकतन्त्रका लागि जेल बसेका हुन् कि एकतन्त्रका लागि ? : पूर्वराष्ट्रपति

जनकपुरधाम, ७ फागुन – पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र माथि ग्रहण लागेको टिप्पणी गरेका छन् । शुक्रबार नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र बिपी विचार संग्रह दुई पुस्तकको विमोचन गर्दै पूर्वराष्ट्रपति डा. यादवले उक्त टिप्पणी गरेका हुन् ।
उनले १४ वर्ष लोकतन्त्रका लागि जेल बसेको धाक देखाउने प्रधानमन्त्री स्वयं लोकतन्त्रलाई संकटमा पार्न उद्दत रहेको आरोप समेत लगाए ।
‘१४ वर्ष लोकतन्त्रका लागि जेल बसेका हुन् कि एकतन्त्रका लागि ?,’ उनले भने, ‘प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गर्ने कदमको साक्षी राष्ट्रपति स्वयं बन्नु सरासर गलत हो क।’
उनले वर्तमान राष्ट्रपति आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप समेत लगाए ।


‘सम्माननीय राष्ट्रपतिजी दलको नेतृ होइन, प्रधानमन्त्रीले सिफारिस गर्दा उनले कुलिङ पिरियड लिन सक्नु पर्थ्यो, विपक्षी दलहरूसँग छलफल गर्नु पर्थ्यो वा फिर्ता पठाउनु पर्थ्यो त्यो पनि नभए अदालतमा पठाउन सक्नुहुन्थ्यो तर त्यस्तो गर्नु भएन,’ पूर्वराष्ट्रपति डा. यादवले अगाडि भने, ‘मलाई पनि देशको प्रथम नागरिक बन्ने सौभाग्य प्राप्त भएको थियो, मैले गिरिजाबाबुलाई राजीनामा बुझाएको उनले बुझाउनु भएको छ कि छैन थाहा भएन ।’
दल विभाजनको अध्यादेश ल्याउनु, राष्ट्रपतिद्वारा त्यसको सदर गर्नु, संवैधानिक परिषदमा आफ्ना मान्छेलाई भर्ती गर्नु लगायतका क्रमिक रूपमा लोकतन्त्र माथि प्रहार हुँदै आइरहेको र यस्तो परिस्थितिमा निर्वाचनमा जानु भनेको दलहरू आफ्नै टाउको फुटाउन बाहेक केही नरहेको पूर्वराष्ट्रपति यादवले बताए ।
कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदमले संघीयता र संविधान नै धरापमा परेको बताए ।
उनले देशमा अहिले लोकतन्त्र नै बाँकी नरहेकोले देशमा लोकतन्त्र फेरि स्थापित गर्ने जिम्मा कांग्रेसको काँधमा आएको बताए ।
डा. कोइरालाले वर्तमान समस्याको विकल्प निर्वाचन होइन संसद पुनर्स्थापना हो र संसद पुनर्स्थापना लागि कांग्रेसलाई नै अग्रसर हुनुपर्ने बताए ।
उनले वर्तमान अवस्थामा निर्वाचन हुने कुनै अवस्था नरहेको भन्दै प्रधानमन्त्रीको कदमविरूद्ध सबै लोकतन्त्र पक्षधर एक भई अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । (स्रो.सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *