
नेपालगन्ज, ८ माघ – फुल्टेक्रा गाउँ भित्र बाटो निर्माण गर्न पटक–पटक फुल्टेक्रा माध्यमिक विद्यालयले गर्दा निर्माण हुन नसकेको वडाबासीहरुमार्फत आरोप लागेपछि फुल्टेक्राका समाजसेवी दाता माधवराम बर्माले सहकार्य गरी मन्दिर ट्रष्टको नाममा रहेको १४ कठ्ठा जग्गा विद्यालयलाई भोजाधिकारको लागि दिने सम्झौता गरेका थिए ।
फुल्टेक्रा माध्यमिक विद्यालय र जग्गा दाता बाबुराम कुर्मीका छोरा माधवराम बर्मा बीच गरिएको सम्झौतालाई सम्बन्धित स्थानीय सरकारद्वारा स्वीकृत भई भोगाधिकारको लागि प्राप्त १४ कठ्ठा जग्गामा ८ कोठा भवन बन्ने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरख थापा तथा सम्बन्धित सबैको उपस्थितिमा नगर प्रमुख डा. धवल शम्शेर राणाले दाताद्वारा प्रदान गरिएको १४ कठ्ठा जग्गामा ८ कोठे विद्यालय भवनको शिलान्यास गरेका छन् ।
शिलान्यास गर्दै उपमहानगर प्रमुख डा. राणाले जग्गा दाता माधव बर्मा तथा शिक्षा शाखा प्रमुख थापामार्फत कम समयमा ८ कोठे विद्यालय भवन निर्माण गर्न सहयोग गरेकोमा प्रशंसा गर्दै निर्माण सम्पन्न गराई विद्यालयले आफ्नो स्वरुप लिई विद्यार्थीहरुलाई छिटोभन्दा छिटो पढाई गर्न सहज होस् भनी बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति सदस्य ओमप्रकाश श्रीवास्तवको भनाई अनुसार ७ सय विद्यार्थीहरुको लागि ८ कोठे भवन निर्माणको शुभाराम्भ गरी शिक्षा शाखाले सकारात्मक पहल गरेपनि हाललाई सो ८ कोठे भवनबाट मात्र सम्पूर्ण विद्यार्थीहरुलाई समावेश गर्न नसकिने भएको हुँदा थप कक्षा कोठा निर्माणको लागि पहल गर्नुपर्ने बताउनुभयो ।
वडाअध्यक्ष समिरप्रताप सिंहले यो सकारात्मक पहलमा सबैले हातेमालो गर्नुपर्छ । तर सार्वजनिक कार्यमा पारदर्शी हुनु जरुरी भएकोले विद्यालय भवन निर्माण उपभोक्ता समिति गठन गरी सोमार्फत विद्यालय निर्माण गर्न सुझाव दिएका थिए ।
शिलान्यास कार्यक्रममा वडा सदस्य दिपक श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरतबहादुर बर्मा, फुल्टेक्रा माध्यमिक विद्यालयका प्रधानाध्यापक समिम कुरैसी, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष तथा शिक्षक बिरेन्द्र यादव, रामसुमिरन मिश्र, नेपाल शिक्षक महासंघ बाँकेका पवन यादव, मनोज श्रीवास्तव, नेपाल राष्ट्रिय शिक्षक संघ बाँकेका बामदेव सुवेदी, ने.ए.प.स.का बृजेशबहादुर सिंह, शिक्षा प्रेमी विजय शम्शेर राणालगायतको उपस्थिति रहेको थियो ।
उक्त विद्यालय भवन निर्माणको लागि नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखामार्फत ७२ लाख रुपैयाँ बजेट उपलब्ध गराईएको छ । जसमा ४–४ गरी ८ कोठा निर्माण गर्ने योजना रहेको छ ।






