
काठमाण्डौ, १५ पौष – नेवार समुदायमा यःमरी पुर्णिमा बुधबार घर घरमा नै धुमधाम सँग मनाइँदै छ । विहानदेखि नै पूजा गरी यःमरी (मनपर्ने रोटी) पकाएर भोज खाएर मनाइने छ । कोरोना भाइरस सङ्क्रमण यो वर्ष ज्यापु समुदायले सार्वजनिक उत्सव नगरी यःमरी पुन्ही मनाउँने भएका छन् । परम्परा अनुसार गुठीले गर्नुपर्ने पूजा घरघरै सम्पन्न गरेर यो पर्व मनाइँदै छ ।
उपत्यकामा पनि योपल्ट सभा तथा नगर परिक्रमा हुँदैन । ज्यापु दिवसपनि रहेको सो दिन विगतमा जसो भीडभाड जन्य कार्यक्रम समाजले राखेको छैन । हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार समुदायले मनाउने पर्व योमरी पुर्णिमा हो । यो पर्व विशेष गरी ज्यापु समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाने गर्दछन ।

नेवार समुदायमा नयाँ बालीका रुपमा धान भित्र्याएपछि विभिन्न देवी देवतालाई योमरी बनाएर पूजा गरी यो पर्व मनाउने गरिन्छ । नयाँ धान कुटी पिसेको पिठोमा चाकु, तिल, नरीवल वा खुवा वा मास पिनेको वा किमा मासु लगायतका विभिन्न सामग्री राखी त्रिकोण आकारको वा लाम्चो आकारको बनाई बाफले पकाएर योमरी तयार गरिन्छ ।
योमरीले जाडोमा शरीरमा आवश्यक ताप र उर्जा दिने र चिसोबाट लाग्ने रोग बाट बचाउने भएकाले स्वास्थ्यका लागि निकै फाईदाजनक मानिन्छ । यसरी बनाएको योमरी नयाँ आएका धानको भकारी वा कुल देवता वा पूजा कोठामा पुजा गरमो कृषि उत्पादनमा वृद्वि हुने र अन्नको अभाव नहुने विश्वास छ ।

योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रुपमा परिवारमा बाँडेर खाने चलन छ । यस पर्वका अबसरमा विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । तिहारमा देउसी भैलो खेल जस्तै यस दिन टोलभरी त्यः छिं त्यः गित गाउँदै योमरी माग्ने चलन नेवार समुदायमा छ ।
