
काठमाण्डौ, २८ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।
वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई आईतबार विशेष अदालत उपस्थित गराएर ४ घन्टा बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले बताए ।
बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्मामा लगेको आरोप थियो । यो आदेशमा चित्त नबुझे बस्न्यातले सर्वोच्च अदालतमा निवेदन दिन पाउँछन् ।
थुनछेक बहसपछि अदालतले यो मुद्दाको अन्तिम टुङ्गो लागुन्जेल बस्न्यातलाई थुनामा राख्ने, धरौटीमा वा तारेखमा छाड्ने भन्नेबारे निर्णय दिनेछ । ललिता निवास प्रकरणमा मुद्दा चलाइएका मध्ये अहिलेसम्म अदालतमा बयान दिएका कसैलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छैन ।
अख्तियारले बस्न्यातमाथि भ्रष्टाचार निवारण ऐनअनुसार तीन वटा अभियोग लगाएको छ । पहिलो– सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएको । दोस्रो– नेपाल सरकारई हानी पु¥याउने बदनियतले लिखत तयार गरेको र तेस्रो– सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको ।
बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिहरूको नाममा सार्न भूमिका खेलेको अभियोग लागेको हो । उक्त समयको न्यूनतम सरकारी मूल्यांकन अनुसार भन्दै अख्तियारले बस्न्यातका कारण नेपाल सरकारको रू. ९ करोड ६५ लाख ७६ हजार नोक्सान भएको निष्कर्ष निकालेको थियो ।
उक्त रकमलाई बिगो कायम गरी अख्तियारले त्यति नै जरीवाना र ८ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ । साथै नियतवस गलत लिखत तयार पारेको भन्दै उनलाई ३ महिनादेखि १ वर्षसम्मको थप सजाय र १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना पनि माग गरेको छ ।
साथै भ्रष्टाचार निवारण ऐन, २०५९ ले नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीले गरेको कसूरमा थप तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेबमोजिम बस्न्यातलाई थप त्यस्तो सजायसमेत हुनुपर्ने अख्तियारको माग रहेको छ । (सेतोपाटी)
