बाबुआमाले अब अर्को छोरी जन्मिन्न भनेर ऊभन्दा अघिल्लि छोरीको कान्छी नाम राखेपछि जन्मेकी छोरी भएकीले उस्को नाम रह्यो, झनकान्छी । कान्छीभन्दा बढ्ता कान्छी । कान्छीलाई भन्दा थप पनि प्रेम । पहिलादेखि आमाकी साथी ।
रक्सी बेचेरै जीवन बिताएकी आमासँग बस्दा बस्दा उस्ले पनि जीवनमा आमासँगै रक्सी बेच्ने कला सिक्यो । आमा बुढी हुँदा ऊ तरुनी भइ । हरियो पर्दाभित्रको एउटा सानो कोठामा, आमाको छाती सुक्दा उस्को जवानी भरिलो भयो । त्यही कोठामा, रक्सीको जवानी भने अमर थियो ।
सलाईको काँटी झनकान्छीको पानीमा खन्याउने हो भने गिलासमै डढेलो लाग्थ्यो, मानौँ कुनै बस्तीमा आगो बौरिएर हिँडेको जस्तो । आमालाई जिन्दगीको चौतारीमा आराम गर्न दिएर, खन्याउन थाल्यो झनकान्छीले आफ्नो पोतिलो वैँशले रक्सीको भरिलो वैँश अरुको खाली गिलासमा ।
म झनकान्छीको भट्टीको नियमित ग्राहक । मलाई उस्को रक्सी निकै मिठो लाग्छ । गिलासमा रक्सी हाल्न यसो निहुँरिदा आधा स्तन नै गिलासमा खस्लाजस्तो झुक्थ्यो । अथवा स्यानु हिमालको हिउँ पग्लिन खोजे जस्तो पनि देखिन्थो । एउटा रक्स्याहा न हुँ, मातिएको बेला, मनमा कल्पना नानाथरीको आउँथ्यो ।
मलाई फेरि, फेरि हिमाल पगाल्नु थियो । त्यसैले एक गिलास च्वाटै पारेर बोल्थेँ, ‘एक गिलास अर्को हाल्देऊ त झनकान्छी ।’
म उस्लाई प्रेम गर्छु, अथाह । अरु ग्राहकलाई उस्ले हिमाल पगाल्दै हिँडदा मलाई मन पर्दैन । ऊ रक्सी खन्याउन झुक्दा अरुले घुरेर उस्को छातीमा हेर्दा मलाई सलाई झ्यार्र कोरेर ती विषालु आँखालाई मैनबत्ती जस्तो सल्काइदिन मन लाग्थ्यो । अनि चिच्याउन मन लाग्थ्यो, झनकान्छी मेरी हुन्, आँखा भुइँमा जोतेर, खुरुखुरु रक्सी खाऊ, जाऊ। झनकान्छीको छातीमा आँखा जोत्ने होइन ।
एक साँझ म निकै मातिएको थिएँ । पसलमा अरु कोही थिएन । म र ऊ मात्र थियो । रक्सी खन्याउन आएकी झनकान्छीको नाडी मैले च्याप समातेँ ।
‘छोडनुस् मेरो हात, ऊ निली हुँदै बोली ।
मैले भनेँ, ‘आज रौसीसँगै तिमीलाई पनि खान मन लाग्यो । झनकान्छी, मलाई एक माया देऊ न ।’
‘के हो त्यो एक माया भनेको ? माया पनि एक, दुई, बीस र सय हुन्छ र?’ झनकान्छी हाँसी ।
‘त्यो एक माया भनेको क्या लाटी त्यही, एक चुम्मा भनेको नि’ मैले जिस्केर भनेँ ।
झनकान्छीले मेरो रक्सीले रातो भएको गालामा प्याट पिटेर भनी, ‘लौ एक चुम्मा । अझै एक थप्ने कि ?’
म हाँसे मरी, मरी ।
‘मोरी, तिम्रो चड्कनमा पनि चुम्मा छ ।’
म सोच्थेँ, झनकान्छीले यो संसारमा मलाई जति माया अरु कसैलाई गर्दिन । म उस्लाई लिएर मिठा मिठा कल्पना बुन्थेँ । एउटा विशाल संसारलाई फुटपाथमा फालेर, अँध्यारो कोठामा मैले संसार खुम्च्याएको थिएँ । म ऊ बाहेक अरु कसैको कल्पना पनि गर्न सक्दिनथेँ ।
उस्को पसलमा जाने, फर्किने क्रम नियमित रह्यो । गिलासमा आधा छाती खस्ने क्रम पनि नियमित नै रह्यो । एकदिन म हरियो पर्दा खोलेर उस्को पसलमा छिरेको थिएँ । उस्ले एकजना भुसतिघ्रे केटोलाई भनिरहेको थिइ, ‘लौ एक चुम्मा । अझै एक थप्ने कि ?’
मलाई देख्नेबित्तिकै ऊ त्रसित बनी । झुकेको छाती ठाडो उभियो । मानौँ त्यहाँ केही भएको छैन । त्यो भुसतिघ्रे मलाई देख्नेबित्तिकै आत्तिए जस्तो गर्यो । जुरुक्क उठेर गयो । मलाई सही नसक्नु भयो ।
मैले आँखा राता राता पारी सोधेँ, ‘झनकान्छी, तिमी कति जनालाई प्रेम गर्छौ ?’
झनकान्छीले बडो निर्भिक तरिकाले भनी, ‘म रौसीलाई प्रेम गर्ने हो । मेरो कोही प्रेमी छैन । मलाई त केवल रौसी बिकाउनु छ ।’
‘यो रौसी बिकेको होइन, तिम्रो जवानी बिकेको हो । नत्र यो पानी त जहाँ पनि पाइन्छ । म अन्तिम पटक मात्तिदैछु तिम्रो भट्टीमा । भोलिबाट म यता आउने छैन । हरेक गिलासमा पोखिने त्यो स्तन, स्तन होइनन्, साप हुन् । डस्यो । पुग्यो । झनकान्छी, म अब तिम्रो भट्टीमा कहिल्यै आउदिनँ’ यति भन्दै म सरासर बाहिर आएँ ।
त्यसपछिका दिनमा झनकान्छीको निकै याद आयो । झनकान्छीको सम्झनासँगै मलाई रक्सीको पनि याद आउन थाल्यो । झनकान्छीको यादसँगै उस्का छातीका सापहरु सम्झेर पर गए पनि, रक्सीको यादले भने मलाई निकै नजिक तान्यो । थाम्नै नसकेपछि, रक्सीको तलतल मेट्न अर्के भट्टीमा जाने अठोट गरेँ । म नौलो भट्टीमा गएँ । त्यहाँ पनि एउटी जवान युवती उभिरहेकी थिइ ।
रक्सी मागेँ । दुईचार गिलास थपेँ। त्यो भट्टीमा पनि मलाई मात लाग्यो । म निकै मातिएँ । मातेपछि मैले त्यो केटीलाई इंगित गर्दै सोधेँ, ‘तिम्रो नाम झनकान्छी हो ?’
उस्ले गाला रातो पार्दै बोली, ‘म सुनिता हुँ ।’
मैले उस्को हात च्याप समातेर भनेँ, ‘उसो भए, थप एक गिलास देऊ ।’
ऊ अवाक भइ । नयाँ ग्राहकले तानेको हात खोस्न चाहिन । पोखियो अनि मेरो गिलासमा रक्सीसँगै छातीका पनि बुँदहरु, टपटप । म पिउँदै गएँ, पिउँदै गएँ । स्मृतिमा आइरहयो मात्र, आफैले बोलेको बोली, ‘झनकान्छी, म अब तिम्रो भट्टीमा कहिल्यै आउँदिनँ ।’ सोचेँ, अब किन जानुपर्यो झनकान्छीमा, सुनिता पाइहालेँ नि ।
त्यति नै बेला एउटी बुढी मान्छे पल्लो कोठाबाट हामी बसेको कोठामा छिरी । सायद त्यो बुढी सुनिताको आमा हुनुपर्छ । उस्ले छोरीतिर हेरी बोली, ‘अजय किन भर्खरै भट्टीमा छिर्दै नछिरी बाहिरैबाट रिसाएर हिँडेको ? तिमीले केही भन्यौ कि ?’
‘मैले केही भनेकी छैन आमा’ सुनिता डराइ डराइ बोली ।
‘अब कोही पनि ग्राहकहरुको चित नदुखाएस् । ग्राहक हाम्रा भगवान हुन् । ग्राहकको हाँसोमै हाम्रो गुजारा चल्ने हो । तिमी डंकिनीलाई केही गर्न पनि आउँदैन ।’ यसो भन्दै आमा चाँहि जहाँबाट आएको हो त्यही कोठामा छिरी ।
सुनिता सुक्कसुक्क रुँदै ऊ पनि आँसु पुछ्ने बहाना गरी कोठा बाहिर गइ ।
म एक्लो भएँ । खल्तिबाट सलाई निकालेर एउटा काँटी बालेर गिलासमा खन्याएँ । त्यसभित्रको पानी बल्यो, झिलिली । मनमनै सोचेँ, यो रक्सी भन्ने स्याला, अनुहारमा पानी जस्तो देखिन्छ तर यो आगो नै हो, हेर जलिरहेछ, जलिरहेछ ।
म हाँसेँ बेसरी भट्टी नै थर्किन गरी, अर्धपागल जस्तै । त्यो सल्केको रक्सीको आगोमा मलाई त्यही भटीमा भेट भएको भुसतिघ्रेको अनुहार प्रतिबिम्बित भयो। भन्न मन लाग्यो, ‘तेरो पनि के दोष भुसतिघ्रे ?’
मेरो हाँसो सुनेर हो कि सुनिता फेरि भित्र आइ र बोली– ‘तपाईले आज त्यति पिउनु पनि भएको छैन । के साह्रो लागेको ?’
म उस्को प्रश्नमा झनै ठूलो स्वरमा हाँसेँ, पागल नै जस्तै । ओठ मौन नै भए पनि मनले एउटा प्रश्न सुनिताको आँखामा हेर्दै बोल्यो– झनकान्छी, ’सुनिताहरु, तिमीहरुको लाइफमा विवाह कोसित हुन्छ हो ?’ त्योबेला बेसरी गिलास निमोठ्दै थिएँ म । (सेतोपाटी)