Wednesday, April 29सत्यम खबर
Shadow

बाँके प्रहरीको एकपछि अर्को सराहनीय कार्य, थप विभिन्न अभियुक्तहरुलाई पक्राउ, हराएको पैसा फिर्ता, पीडितलाई राहत

नेपालगन्ज, २३ मंसिर – जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुखको रुपमा कार्यभार सम्हाल्दै आउनु भएको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले एकपछि अर्को सराहनीय कार्य गर्दै बाँकेबासीको मन जित्न सफल भएका छन् ।


आज बाँके प्रहरीले विभिन्न मुद्दामा फरार अभियुक्तदेखि हराएको पैसासम्म फेला पारी सम्बन्धित सरोकारवाला पक्षले हस्तान्तरण गरेका छन् ।
जसमा जिल्ला प्रहरी कार्यालय बाँकेले प्रविधिको अधिकतम प्रयोग गरेर रिक्सामा छुटेको रकम फेला पार्न सफल भएको हो । दाङका दत्तबहादुर नाथले भारतबाट फर्कने क्रममा अटो रिक्सामा छुटेको ७ लाख ४० हजार रुपैया सिसि क्यामेराको सहयोगबाट पत्ता लगाएको छ ।


नाथले भे १ ह ५०१९ नम्बरको अटो रिक्सामा नेपालगन्जको पुष्पलाल चोकबाट काँरकादो जाने क्रममा नगद राखेको झोला बिर्सेर छोडेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा जडित सिसि क्यामेराको सहयोगले रिक्सा चालक नेपालगन्ज १४ का देवराज वर्मालाई सम्पर्क गरी रकम सहितको झोला पत्रकार सम्मेलनमा बुझाईएको थियो ।


रकम बुझाउँदै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रानाले अबको समाज प्रबिधि मैत्री भएर जान जरुरी भएको बताए । ‘प्रबिधिको प्रयोगबाट अपराध अनुसन्धानमा सहयोग पुगेको छ’ उनले भने ।
यसैगरी, २०७७ कार्तिक १० गते बैजनाथ गाउँपालिका वडा नं. ३ बस्ने राधिका बि.क. दमराबाट बानियाभारसम्म जाने क्रममा झोलामा रहेको ४ लाख हराएको थियो । वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त प्रहरी टोलिले सिसिटिभि क्यामेराको सहायताले अनुसन्धान गरी ०७७ कार्तिक १५ गते हराएको पैसा फेला पारी पिडित बि.क.लाई बुझाईएको बाँके प्रहरी प्रमुख राना बताउनुभयो ।


यसैगरी धारीलो हतियार प्रहार गर्ने ४ जनालाई पक्राउ गरेको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।
कार्तिक २२ गते राती १२ बजे जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.२० मदनापुर स्थित जितकुमार श्रेष्ठको विवाह घरमा नाचगान, रमाईलो गर्ने क्रममा वादविवाद भई सोही रिसिवीका कारण वर्ष २८ को रमेश बुढाथोकीलाई ज्यान मार्ने मनसायले लाठी, चिरपट लगायतले प्रहार गरि घाईते बनाएको घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिई ज्यान मार्ने कसुरमा अनुसन्धान भईरहेको प्रहरी प्रमुख रानाले बताउनुभयो ।


पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मदनापुर बस्ने वर्ष १९ का दिनेश पुरी, सोही ठाउँ बस्ने वर्ष १९ का धर्म वली, सोही ठाउँका वर्ष २१ का सुरज कुँवर र सोही ठाउँका वर्ष १९ का उमेश घर्ति मगरलाई पक्राउ गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार १० वर्ष कैद र १ लाख सम्म जरिवाना हुन सक्ने प्रावधान रहेको प्रहरी प्रमुख रानाले बताउनुभयो ।
यसैगरी, ११ वर्षपछि जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त हेमन्तकुमार शर्मालाई पक्राउ गर्न सफल भएको बताउनुभयो ।


२०६६ कार्तिक २७ गते नरैनापुर गा.पा.वडा नं.३ वस्ने ७ वर्षिया बालिकालाई जरबस्ती करणी गरि बाँके जिल्ला अदालतको मिति २०६८ असार ३१ गतेको आदेशले १० वर्ष कैद सजाँय भई फरार रहेका वर्ष ३४ को शर्मालाई २०७७ मंसिर २२ गते सोमबार ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख रानाले बताउनुभयो ।
यसैगरी, ०७७ मंसिर २१ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ कारकाँदो स्थित माछापुच्छ्रे बैंकको एटिएम मेशिनमा चोरी गर्न लागेका २ जनालाई पक्राउ गरिएको बताउनुभयो ।
प्रमुख रानाका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले माछपुच्छ्रे बैंकको एटिएम मेशिन तोडफोड गरी भाग्न लागेका भारत रुपईडिहा बाबागंज बस्ने बर्ष २१ को सलवान अली र ऐ.ऐ. बस्ने बर्ष २१ को मोविन अलीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाईएको बताउनुभयो ।
उनलाई मुलुकी फैजदारी कार्यविधी संहिता २०७४ को परिच्छेद २० अनुसार १ वर्ष सम्म कैद र रु १० हजारसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *