
अजय कुमार गुप्ता
नेपालगन्ज, २३ मंसिर – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ मा रहेको प्राचीन पूर्वीया महाराज मन्दिरमा रहेका पुजारीको परिवारको सरसामान केही अवाञ्छित तत्वहरुले तोडफोड गरी लुटेर लगेको कुरा जानकारीमा आएको छ । दशकौंदेखि पूर्वीया महाराज सो मन्दिरमा पुजाआजा गर्दै आएका थिए ।
उनको देहान्त भएपछि उनको परिवार सदस्य त्यस मन्दिरमा पुजाआजा गर्दै आएका छन् । केही वर्षअघि भारतीय राजदूतावासको लगानीमा मन्दिरको कम्पाउण्डभित्र पशुपति शिक्षा मन्दिर स्थापना गर्नको लागि कैयन कक्षाकोठाहरु निर्माण गरिएको थियो । पछि पशुपति शिक्षा मन्दिरको नयाँ भवन पुरानो डिएसपी रोडमा निर्माण गरेपछि मन्दिरमा स्थापित कक्षाकोठाहरु खाली रहेका थिए ।

वर्तमान समय अधिकांश कक्षाकोठा खाली रहेकोले कैयन कोठामा ताल्चा लगाई बन्द गरिएको छ तर केही कोठामा मन्दिरका पुजारी परिवार रहने गर्छ । मन्दिरमा लागेको विद्युतको बिल पुजारी परिवारले नै जम्मा गर्ने गर्छ र निःशुल्क रुपमा त्यहाँ पुजाआजा गर्दै आएका छन् ।
केही वर्ष अघि नेपाली काँग्रेस पार्टी सम्बद्ध कार्यकर्ताहरु मन्दिरमाथि कब्जा जमाउन त्यहाँका टोलवासीहरुसँग कुनै प्रकारको सरसल्लाह नलिइ गोप्य रुपले मन्दिर समिति खडा गरे । यो मन्दिर समिति अहिलेसम्म मन्दिरको विद्युत बिल जम्मा गर्ने, मन्दिरको पुजाको लागि सरसामान वापत केही प्रकारको रकम दिएको छैन । न त जीर्ण मन्दिरलाई व्यवस्थित पार्ने कुनै प्रकारको प्रयास गरेको छ । मन्दिरलाई व्यवस्थित बनाउने समितिको कुनै योजना छैन ।
यसबीच त्यसले मन्दिरमा नेपाली काँग्रेस पार्टीको वडा स्तरीय कार्यालय स्थापना गर्ने सोच बनाएकोले मन्दिर समितिका पदाधिकारीहरु पुजारी परिवारलाई मन्दिरबाट निकाल्न विभिन्न षडयन्त्र गर्न शुरु गरेका छन् । करिब १०–१५ दिनदेखि उनी मन्दिर समितिका पदाधिकारीहरु पुजारी परिवारलाई मार्ने कटुन्े धम्की दिइ मन्दिर खाली गर्न दबाव दिँदै आएका छन् ।
मन्दिर समितिका अध्यक्ष सुदिप नरसिंह राणा छन् र अन्य पदाधिकारी क्रमशः सुरेश श्रेष्ठ लगायत रहेका छन् । पुजारी परिवारसँग मन्दिर खाली गराउन अध्यक्ष राणा र सुरेश श्रेष्ठबाट कुनै प्रकारको दबाव नआएपनि समितिका केही अन्य सदस्य ओमप्रकाश शर्मा भने विभिन्न प्रकारको डर धाक र दबाव दिँदै आएको बुझिएको छ ।
यस सम्बन्धमा ओमप्रकाश शर्मासँग यस पत्रिकाले कुरा गर्दा उनीले भने, ‘सो मन्दिरको समिति छ । यस कारण त्यहाँ समितिको कार्यालय सञ्चालन गर्न आवश्यक परेको छ । मन्दिरमा एक जना पुजारी परिवार रहनु पर्छ तर त्यहाँ पुजारीका नातागोताले डेरा जमाएका छन् । यस कारण अब उनीहरुबाट मन्दिर खाली गराउनु पर्ने जरुरी भईसकेको छ । हामी जे पनि गरी मन्दिरका पुजारी परिवारलाई मन्दिरबाट निकाल्छांै । यसमा जे जे गर्नुपर्छ हामी गर्छाै’ उनले भने ।
त्यस्तै मन्दिरका पुजारी परिवारका सदस्य माधुरी शर्माले भनिन्, मन्दिरमा बस्ने सबै मेरो परिवारका सदस्य हुन् । अनि आफ्नो परिवारलाई कहाँ लगेर बसाऊँ मन्दिर समिति छ तर मन्दिरमा लाग्ने पुजा सामाग्री एक रुपियाँको पनि कहिले दिएको छैन् । न त हामीलाई उचित पारिश्रमिक दिएको छ । यसबीच हामी कहाँ जाने ? हामीसँग गुजर बसर गर्ने कुनै अन्य साधन छैन । हाम्रो परिवार ४०–४५ वर्षदेखि मन्दिरमा पुजा गर्दै आएको छ अहिले एक्कासी मन्दिरबाट निकाल्न बाध्य पार्नु अन्याय हो भनिन् ।
आईतवार बिहान करिब साँझ ५ बजेको समय मन्दिर समितिका सदस्य ओमप्रकाश शर्माका छोरा महेन्द्र शर्मा आफ्ना केही साथीहरुको साथ पुगी मन्दिरमा लागेको विद्युत लाइन तोडफोड गरी विद्युत ठप्प पारेर मन्दिरको कोठासम्म पुगी पुजारी परिवार माधुरी शर्माको ढोका तोडफोड गरी विभिन्न सरसामान लुटेर लगेको कुरा निज माधुरी शर्माले जानकारी गराएकी छिन् ।
मन्दिरमा तोडफोड गरिएपछि प्रहरी त्यहाँ पुगी माधुरी शर्मा र अन्यहरुसँग विभिन्न जानकारीहरु लिएको थियो । माधुरी शर्माले यसै हप्ता जिल्ला प्रशासन कार्यालय बाँकेमा आफूलाई मन्दिर समितिका पदाधिकारीहरुले अनाहकमा दुःख दिएको भन्दै न्याय पाउन निवेदन दर्ता गराएकी थिइन् ।
यसबीच समस्याको छिनोफानो हुन नपाउँदै अहिले महेन्द्र शर्माले एक्कासी मन्दिर पुजारी परिवारको सम्पत्ति तोडफोड गरेको र सरसामाग्री लुटेर लगेको घटनाले त्यहाँका स्थानीय वासिन्दा यस घटनाप्रति आक्रोशित बनेका छन् । र दोषी महेन्द्र शर्मालाई पक्राउ गरी सजायँ दिनुपर्ने र पीडितलाई क्षतिपूर्ति भराउने माग गरेका छन् ।
पुजारी परिवारसँग मन्दिर खाली गराउँदा समय अहिले मन्दिर समितिका पदाधिकारीहरुले मन्दिरमा तोडफोड गर्ने कार्य शुरु गरेकाले आगामी समय मन्दिरको विवाद राजनीतिक रंग लिने सम्भावना बढेको देखिन्छ ।
