
नरैनापुर, १३ मंसिर – नरैनापुर गाउँपालिकामा आईतबारदेखि पठनपाठन सुचारु हुने भएको छ । कोरोना संक्रमणका कारण आठ महिनादेखि बन्द रहेका विद्यालय आईतबारदेखि खुल्ने भएका हुन् ।
स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सुचारु गर्ने निर्णय गरिएको छ । पहिलो चरणमा माध्यमिक तहका विद्यालय सञ्चालन हुँदैछन् ।

आईतबारदेखि पहिलो चरणमा लक्ष्मणपुरस्थित आदर्श मावि, मटेहियास्थित महेन्द्र मावि र भोजपुरस्थित जय किसान माविमा पठनपठान शुरु हुनेछ । ती विद्यालयका पनि माध्यमिक तह (कक्षा ९ देखि १२) को पढाई हुनेछ ।
कोरोनाका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाई क्रियाकलाप अबरुद्ध भएकाले मन्त्रालयको कार्यढाँचा अनुसार आइतबारदेखि विद्यालय सुचारु गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।
पछिल्लो समय नरैनापुरमा कोरोना नदेखिएपनि सम्पूर्ण सावधानी अपनाएर जोखिम नबढ्ने गरी विद्यालय सञ्चालन गरिने अध्यक्ष शाहले बताउनुभयो ।
“कार्तिक २७ गतेको गाउँपालिकाको शिक्षा समितिको बैठक, मंसिर ८ गतेको कार्यपालिकाको बैठक र १२ गतेको माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृत विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ मा उल्लेख भएका मापदण्ड अनुसार मंसिर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ,” प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले भन्नुभयो–“एक सातासम्म त्यसको प्रभाव हेरेर त्यसपछि थप विद्यालय र कक्षाहरु सुचारु गर्ने बारे निर्णय लिन्छौं ।”
प्रत्येक दिन कक्षा सुरु हुनु अगावै स्यानीटाइज गर्ने, प्रत्येक कक्षा कोठाहरुमा स्यानीटाइजरको व्यवस्था तथा अनिवार्य मास्क प्रयोगको प्रबन्ध मिलाइने शाहीले बताउनुभयो ।
“प्रत्येक बेन्चमा दुई जना मात्रै विद्यार्थी बसाउने, एउटा कक्षामा १५ वटा भन्दा बढी बेन्च नराख्ने, प्रत्येक विद्यालयमा एक जना नर्स खटाउने छौं,” शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले भन्नुभयो । स्वास्थ्यकर्मी खटाउनेदेखि मास्क र स्यानीटाइजरको व्यवस्थासंगै समग्र स्वास्थ्य सुरक्षाका जिम्मेवारी स्वास्थ्य शाखालाई दिइएको थारुले बताउनुभयो ।
विद्यालय सञ्चालन भइसकेपछि त्यसको अवस्था अनुगमनका लागि उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबको नेतृत्वमा निरिक्षण समेत गरिने थारुले बताउनुभयो । आइतबारदेखि खुल्ने विद्यालयहरुले मन्त्रालयको कार्यढाँचा र गाउँपालिकाको निर्णय अनुसार पूर्व तयारी गरेको बताएका छन् । पूर्ण सावधानीका साथ विद्यालय सञ्चालन गर्ने उनीहरुले बताएका छन् ।
