
काठमाडौं, १३ मंसिर – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थालेको बताएका छन् । उनले लोकतान्त्रिक शासन व्यवस्था नै गुम्ला कि भन्ने शंका बढेको बताए ।
नेपाली काँग्रेस सुनसरी–काठमाडौ सम्पर्क समितिले काठमाण्डौमा आयोजना गरेको रक्तदान कार्यक्रममा शनिबार डा कोइरालाले भने, ‘सबै तिरबाट लोकतन्त्र माथि प्रहार हुन थाल्यो । व्यवस्था नै गुम्छ कि भन्ने आशंका सुरू हुन थालेको छ । यस्तो बेलामा महाधिवेशनमार्फत काँग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ ।’

कोइरालाले सामाजिक र भौतिक दुरी कायम राख्दै १४ औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
कोरोना भाइरस अझै केही समय रहिरहन सक्ने बताउँदै उनले यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुने बताए ।
कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउन जिल्ला सभापतिहरूलाई आग्रह समेत गरे । (सेतोपाटी)
