Monday, September 14सत्यम खबर
Shadow

पेन्टिङ र खेल सामाग्री पाएपछि आश्रित बालबालिका दङ्ग

नेपालगन्ज, २९ भदौ – ६२ औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बालबालिकालाई पेन्टिङ र खेल सामाग्री वितरण गरिएको छ । गोपाल–नीना फाउण्डेशन, नेपालद्वारा स्थानीय निलसागर सेवा आश्रममा आश्रित बालबालिकाहरुलाई उक्त सामाग्री वितरण गर्दै आश्रितहरुलाई विहानको खाना पनि खुवाइएको हो ।

फाउण्डेसनकी सहनिर्देशक डा. तृप्ती पाल रमणले दिनु भएको जानकारी अनुसार बाल दिवसको अवसरमा उक्त आश्रममा आश्रित अभिभावक विहीन, आफन्तहरु समेत गुमाएका सहारा विहीन करीब ५० जना बालबालिकाहरुलाई पेन्टिङ र खेल सामाग्री वितरण गरिएको थियो भने उनीहरुमा भएको अन्तरनिहित प्रतिभालाई प्रस्फटन गरेर वीच चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । डा. तृप्ती पाल रमणले भन्नुभयो- विगत २ वर्षदेखि बाल दिवसकै अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण, चित्रकला प्रतियोगिता, निःशुल्क स्वास्थ्य परिक्षण औषधी वितरण तथा स्वास्थ्य परामर्श सेवा लगायतका कार्यक्रम गरिएको थियो ।

सो अवसरमा फाउन्डेसनका शुभचिन्तक वरिष्ठ पत्रकार पूर्ण लाल चुकेले २०७९ सालमा स्थापना भएको गोपाल-नीना फाउण्डेसन, नेपालले स्थापना कालदेखि नै विभिन्न किसिमका सामाजिक, मानवीय, पर्यावरणीय, शिक्षा तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु आयोजना गर्दै आएको चर्चा गर्नु भयो । वरिष्ठ पत्रकार चुकेले भन्नुभयो– पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपाल प्रसाद श्रेष्ठ र प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा स्थापित उक्त फाउण्डेसनले स्थानीय जनमत अर्धसाप्ताहिकद्वारा विगत २० वर्षदेखि सञ्चालन गर्दै आएको त्रैमासिक रक्तदान कार्यक्रममा पनि सहकार्य गरेर महत्वपूर्ण मानवीय योगदान दिंदै आएको छ । नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सकद्वय श्रेष्ठ २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत हुनुहुन्छ ।

सोही अवसरमा आश्रममा आश्रित २ सय ३५ जनालाई विहानको खाना पनि खुवाइएको फाउन्डेसनका जनसम्पर्क अधिकृत विजयन्त जिसीले जानकारी दिनु भयो ।

जिसीका अनुसार उक्त चित्रकला प्रतियोगितामा आभाश नीलसागर प्रथम, श्रृङ्खला नीलसागर द्वितीय, सम्पदा नीलसागर तृतीय, साना नीलसागर र आदर्श नीलसागरलाई शान्त्वना पुरस्कार प्रदान गरिएको थियो । सेवा आश्रममा रहेका बालबालिकाहरूको सिर्जनात्मक क्षमता र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । चित्रकला प्रतियोगितामा सहभागी बालबालिकामध्ये उत्कृष्ट ५ जनालाई छनोट गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण तथा सर्वाङ्गीण विकासमा सहयोग पु¥याउने उद्देश्यले आयोजित यस कार्यक्रमले बालबालिकामा खुसी, उत्साह र सिर्जनशीलता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।

कार्यक्रमको सहजीकरण गर्दै निल सागर आश्रमकी संस्थापक उपाध्यक्ष डा. अमन सुवेदीले २०७३ सालमा स्थापना भएको आश्रम बाँके जिल्लामा अहिले बुवा आमा र अनाथ बालबालिकाहरु २३५ जना आश्रित रहेको जानकारी दिंदै स्थानीय जनताको सहयोगबाटै सञ्चालन भइरहेको बताउनु भयो ।

सो कार्यक्रममा फाउण्डेसनका कार्यक्रम सहायक दक्षिणा क्षेत्री, मोनिका थारु, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पतालका कर्मचारीहरुले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *