Friday, July 24सत्यम खबर
Shadow

एसपी जिसीको नेतृत्वमा जिल्ला प्रहरीको उल्लेखनीय उपलब्धीहरु

नेपालगन्ज, ८ साउन – जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन रिपोर्ट कार्डमा आफ्नो समूहमा पहिलो स्थान हासिल गरेको बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणले पनि सक्रिय प्रहरी कार्यशैली देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनाभर २९६ वटा मुद्दा दर्ता भएका छन् ।

तीमध्ये ११ वटा जघन्य अपराध, ५८ वटा गम्भीर अपराध, १४७ वटा सामान्य अपराध तथा ५४ वटा आर्थिक अपराध सम्बन्धी मुद्दा रहेका छन् । सार्वजनिक चासोका ५८ वटा पेन्डिङ मुद्दा सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रणतर्फ २४ वटा मुद्दा दर्ता गरी ३१ जनालाई पक्राउ गरिएको छ । प्रहरीले ३४२ ग्राम ९३० मिलिग्राम ब्राउनसुगर, १४८ ग्राम चरेस, १६८ ट्याब्लेट नाइट्रोजेपाम तथा २५० क्याप्सुल ट्रामाडोल बरामद गरेको जनाएको छ ।

भन्सार छली नियन्त्रण अभियानअन्तर्गत करिब रु. ३५ लाख ५९ हजार ६ सय १२ बराबरका अवैध सामान बरामद गरिएको छ । यस क्रममा १२ जना व्यक्ति र १०४ वटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको तथ्यांक छ ।

अदालतबाट भएका फैसला कार्यान्वयनतर्फ १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेकाले ४५ वर्ष ३ महिना २३ दिन कैद सजाय तथा रु. ४७ लाख १० हजार ३ सय ५८ जरिवाना भुक्तानी गर्न बाँकी रहेको प्रहरीको विवरणमा उल्लेख छ ।

ट्राफिक व्यवस्थापनतर्फ असारमा ११ वटा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको तथा २७ जना घाइते भएका छन् । ट्राफिक कारबाहीबाट १ हजार ८७० सवारी साधनमाथि कारबाही गरी रु. १६ लाख ४० हजार राजस्व संकलन गरिएको छ ।

प्रहरीले असार महिनाभर १ हजार ५६ पटक पिकेट, ५८२ पटक चेकिङ, ५ हजार ८४ वटा ग्रामीण गस्ती -क्च्ए) र २२ वटा लामो दूरी गस्ती -ीच्ए) सञ्चालन गरेको जनाएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ११५ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । ती कार्यक्रमबाट २१ हजार ७६७ पुरुष र १३ हजार २६३ महिला लाभान्वित भएका छन् । विद्यालयमा मात्रै ११ वटा कार्यक्रम सञ्चालन हुँदा २ हजार ६४६ छात्र र २ हजार ३३४ छात्रा सहभागी भएका थिए ।
प्रहरीका अनुसार असार महिनामा ५२ वटा घरेलु हिंसाका उजुरी, ५९९ वटा विभिन्न उजुरी, १० वटा आत्महत्या तथा ८२ वटा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरी दर्ता भएका छन् ।

यस्तै प्राकृतिक सम्पदा संरक्षणतर्फ १५ वटा सवारी साधन नियन्त्रणमा लिई रु. १ लाख ४३ हजार ७ सय ७० जरिवाना संकलन गरिएको छ । अवैध पशुपन्छी ओसारपसार नियन्त्रणका क्रममा ८० केजी माछा र २ हजार कुखुरा बरामद गरी रु. २ लाख २८ हजार २ सय राजस्व संकलन गरिएको छ । अवैध वन पैदावार नियन्त्रणमा ७०.१३६ क्युफिट काठ नियन्त्रणमा लिई रु. २० हजार राजस्व संकलन गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक -एसपी) अंगुर जिसीको नेतृत्वमा अपराध नियन्त्रण, अनुसन्धान, लागूऔषध नियन्त्रण, सीमा सुरक्षा तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाइएकै कारण बाँकेले नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गरेको चर्चा भइरहेको छ । प्रहरी स्रोतका अनुसार आगामी दिनमा पनि यही सक्रियता र प्रभावकारिता कायम राख्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *