
नेपालगन्ज, २९ असार – पोषण मैत्री स्थानिय शासन र बालमैत्री स्थानिय शासन सम्बन्धि स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम आइतवार सम्पन्न भएको छ । सामाजिक विकास मञ्च -एसडिएफ) बाँकेको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा जानकी गाउँपालिकाका स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको हो ।

क्षमता अभिबृद्धि तालिममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, बाल क्लवका पदाधिकारी, पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको छ । जानकी गाउँपालिकामा बाल मैत्री स्थानिय शासन र पोषण मैत्री स्थानिय शासनका सुचकहरु बारे तालिमका प्रशिक्षक तथा बाल मैत्री स्थानिय शासन मञ्चका संयोजक अशोक खनालले प्रशिक्षण दिनुभएको थियो । जानकी गाउँपालिकामा बाल मैत्री घोषण र दिगोपन व्यवस्थापनका लागि रणनितीक योजना बनाउन आवश्यक रहेको प्रशिक्षक खनालले बताउनुभयो । प्रशिक्षक खनालले बालवालिकाको हितमा काम गर्न योजना, निती, संरचना र कार्यप्रक्रिया -व्यवहार) अपरिहार्य रहेको बताउनुभयो ।

तालिमको समापन कार्यक्रममा बोल्दै सामाजिक विकास मञ्च बाँके -एसडिएफ बाँके) का अध्यक्ष चम्प सिङ थापा मगरले जानकी गाउँपालिकालाई बालमैत्री र पोषण मैत्री स्थानिय शासन लागु गर्न पालिकाका शिक्षा, स्वास्थ्य, कृषी, खानेपानी तथा स्वच्छता, पशुपंक्षी क्षेत्रका सरोकारवाला एकवद्ध भएर अगाडी बढ्नु पर्ने धारणा राख्नुभयो । जानकीमा बालवालिका र पोषण मैत्री बनाउन सबै जना हातेमालो गर्न अति आवश्यक रहेको बताउनुभयो ।

जानकी गाउँपालिकालाई बालमैत्री बनाउन बालअधिकार सम्बन्धी जनचेतना मुलक कार्यक्रम, सडक नाटक, अन्तरक्रिया कार्यक्रम तथा प्रचारप्रसार व्यापक गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । जानकीमा शिक्षाको कमिले बालमैत्री तथा पोषण मैत्री पालिका हुन नसकेको सहभागि सरोकारवालानिकायले बताएका छन् । तालिममा बाल मैत्री र पोषण मैत्री स्थानिय शासनका ५१ र ४९ सूचकहरु छलफल गरि योजना बनाईएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई समूहगत छलफलमार्फत जानकी गाउँपालिकाको समुदायस्तरमा बालमैत्री स्थानिय शासन र पोषण मैत्री स्थानिय शासनमा देखिएका चुनौतीहरूको बारेमा छलफल गराइएको थियो । ३ दिने तालिमको समापन कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, जानकी गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख रामअचल धोबी, महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहा, सामाजिक विकास मञ्च बाँकेका एनसिजी अफिसर विवेक मलासी, सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, जानकी गाउँपालिकाका वडा अध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, बालक्लबका पदाधिकारी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।
