
नेपालगन्ज, २१ असार – नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता, राष्ट्रिय रक्त सम्राट, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेम सागर कर्माचार्यले अषाढ २० गते कर्णाली प्रदेशको मुगु जिल्लाको गमगढीमा १ सय ८७ औँ पटक रक्तदान गर्नुभएको छ ।
शतक रक्तदाता प्रेम सागर कर्माचार्यले मुगु जिल्लामा १८७ औ पटकको रक्तदान गर्नुभएको हो । प्रेमसागर कर्माचार्यले विभिन्न जिल्लामा हरेक ३/३ महिनामा गएर रक्तदान गर्दै आउनु भएको छ । उहाँका अनुसार æयसरी विभिन्न जिल्लामा गएर रक्तदान गर्नु भनेको त्यहाँका युवाहरूमा मानवीय जीवन बचाउनका लागि रक्तदान गर्नु नितान्त आवश्यक भएकोले युवाहरूमा रक्तदान गर्ने सचेतना वृद्धि होस् भन्ने हेतुले विभिन्न जिल्लामा गएर रक्तदान गर्दै आएको बताएनु भएको छ ।

उहाँले विशेष गरेर पहाडी जिल्लाहरूमा रगत उपलब्ध हुन निकै कठिन छ । त्यसैले म अनुरोध गर्न चाहन्छु कि १८ वर्ष उमेर पुगेका करिब ४५ किलो तौल भएका सम्पूर्ण युवाहरुलाई आफ्नो जन्मोत्सव सँगै रक्तदान गर्न हार्दिक अनुरोध गर्दछु । साथै दानमा दिएको रगतलाई बिरामी पक्षलाई निःशुल्क उपलब्ध गराउन म सरकारसँग पुनः जोडदार माग गर्दछु ।
सो कार्यक्रममा स्थानीय स्वयंसेवी रक्तदाता बलीबहादुर बुढाले नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदातालाई मुगुमा १८७ औँ पटकको रक्तदान गर्नका लागी आमन्त्रण गरिएको जानकारी दिनुभएको छ ।
स्मरण रहोस् शतक रक्तदाता प्रेमसागर कर्मचार्यले यसभन्दा अघि कर्णाली प्रदेशकै सुर्खेत, जुम्ला, जाजरकोट लगायत देशका विभिन्न दुर्गम जिल्लाहरूमा युवाहरूलाई रक्तदानमा अभिप्रेरित गर्नका लागि रक्तदान गर्नु भएको छ ।
