
नेपालगन्ज, जेष्ठ २९ – पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता २०८३ शुक्रबार नेपालगन्ज रंगशाला परिसरभित्र रहेको पौडी पोखरीमा सम्पन्न भएको छ । प्रतियोगितामा नेपालगन्जका १४ वटा विद्यालयका ८२ जना छात्र–छात्राको सहभागिता रहेको थियो। विभिन्न उमेर समूहका छात्र तथा छात्राहरूबीच फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र बटरफ्लाई विधामा प्रतिस्पर्धा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट रहेका थिए । प्रतियोगिताको सञ्चालन पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले गरेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै शिखा एकेडेमीका सुशान्त बोहरा उत्कृष्ट छात्र घोषित भए । उनले नगद रु. ५,५०० सहित सम्मान प्राप्त गरे । त्यस्तै स्प्रिङ्डेल एकेडेमीकी नित्याश्री दहित उत्कृष्ट छात्रा घोषित भई नगद रु. ५,५०० सहित सम्मानित भइन् । विद्यालयगत समग्र अंकतर्फ शिखा एकेडेमी १२३ अंकका साथ प्रथम, सोफिया रेसिडेन्सियल स्कूल २२ अंकका साथ द्वितीय तथा स्प्रिङ्डेल एकेडेमी १४ अंकका साथ तृतीय स्थान हासिल गर्न सफल भए ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा आयोजक संस्थाका पदाधिकारीहरूले पदक, ट्रफी, प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रशान्त बिष्टले पौडी खेल स्वास्थ्य, अनुशासन र जीवनरक्षासँग प्रत्यक्ष सम्बन्धित खेल भएको उल्लेख गर्दै विद्यालयस्तरबाट खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा पहिचान गर्न तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । आगामी दिनमा नेपालगन्ज उपमहानगरपालिकाले खेलकुद विकासका कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमका अध्यक्ष तथा पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठले समाजले पूर्व खेलाडीहरूको अनुभवलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले प्रतियोगितामा विद्यालयहरूको उत्साहजनक सहभागिता देखिएको भन्दै आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र व्यवस्थित बनाइने जानकारी दिए । समाजका सल्लाहकार अजित कुमार शर्माले पौडी खेलको महत्वबारे चर्चा गर्दै बाँके जिल्लामा जलक्रीडाको सम्भावना उच्च रहेको बताए । उनले विद्यालयस्तरमै खेलाडी उत्पादन गर्न सके प्रदेश तथा राष्ट्रिय स्तरमा बाँकेको प्रतिनिधित्व अझ सशक्त बन्ने धारणा व्यक्त गरे ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमा पौडी खेलप्रति आकर्षण बढाउनुका साथै नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पु¥याएको छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपालगन्ज उपमहानगरपालिका, सहभागी विद्यालय, प्रशिक्षक, अभिभावक तथा स्वयंसेवकप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।

खेलाडीगत पदक विवरण ः आध्यान भण्डारी -शिखा एकेडेमी) – १ स्वर्ण, १ रजत र १ काँस्य, सुमिंक वाग्ले -शिखा एकेडेमी) – ३ स्वर्ण, १ रजत, काफिया चलाउने -शिखा एकेडेमी) – २ स्वर्ण, अर्पित राना -शिखा एकेडेमी) – २ स्वर्ण, १ काँस्य, सुशान्त बोहरा – शिखा एकेडेमी )– ४ स्वर्ण, युवान श्रेष्ठ -शिखा एकेडेमी) – १ स्वर्ण, २ रजत, १ कांस्य, निर्देश बोहरा -शिखा एकेडेमी) – १ स्वर्ण , २ रजत, १ कांस्य, प्रत्युष जोशी -जीवन ज्योति) – २ रजत, २ कांस्य, इभान्सु भट्टराई -शिखा एकेडेमी) – २ कांस्य, २ रजत, सम्यक गैरे -सोफिया रेसिडेन्सियल) – २ रजत, २ कांस्य, दृष्टि बुढा मगर -सोफिया रेसिडेन्सियल) – १ स्वर्ण, १ रजत, कृतिका वाग्ले -शिखा एकेडेमी ) – १ रजत, २ काँस्य, ईभा भट्टराई -शिखा एकेडेमी) –१ स्वर्ण, २ रजत, अनोरा चौधरी -बाल्मिकी इन्टरनेशनल) – १ स्वर्ण, १ रजत, १ कांस्य, श्रीया बोहरा -सोफिया रेसिडेन्सियल) – १ रजत, केरिशा बुढाथोकी -सनबिम) – १ कांस्य, केशव बीके -सनबिम) – १ स्वर्ण, दीप श्रेष्ठ -आर्मी) – १ रजत, रेश्मन चौधरी -एनपी मोडल) – १ कांस्य, बसन्त थारु -एनपी मोडल) – १ स्वर्ण, ललित गिरी -बाल विद्या सेकेन्डरी) – १ रजत, आयुष सिंह ठकुरी -एनपी मोडल) – १ कांस्य, जिज्ञासा भुषाल -वेस्ट जोन) – १ स्वर्ण, सम्स्थिता गिरी -मोडर्न पब्लिक) – १ रजत, श्रेयलशी सिंह -मोडर्न पब्लिक) – १ कांस्य, आज्ञा थापा – जे एस सेकण्डरी)– १ स्वर्ण, १ रजत, बिधेयंक खनाल – सोफिया रेसिडेन्सियल) १ काँस्य, समिरा रास्कोटी – बागेश्वरी एकेडेमी )– २ काँस्य ।
