Thursday, May 28सत्यम खबर
Shadow

धेरै बेसार सेवन स्वास्थ्यका लागि हानिकारक, के–के छन् बेफाइदा ?

आयुर्वेदिक चिकित्सामा बेसारलाई ‘प्राकृतिक वरदान’ मानिन्छ । वनस्पति विज्ञानको क्षेत्रमा भएका खोज र अनुसन्धानहरूले बेसारका अनगिन्ती औषधीय गुणको पुष्टि पनि दिइसकेका छन् । बेसारमा पाइने ‘करक्युमिन’ नामक तत्वले एन्टिइन्फ्लेमेटोरी र एन्टिअक्सिडेन्टका रूपमा शरीरमा काम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने तथ्यसँग एलोप्याथिक चिकित्सा पनि सहमत ।

डा अस्मिता अर्याल


यस्ता चमत्कारी गुण भएको बेसार, प्रत्येक नेपाली भान्सामा अनिवार्य मसलाका रूपमा धेरै अघिदेखि नै प्रयोग हुँदै आइरहेको छ भने पश्चिमी राष्ट्रहरूमा ‘करक्युमिन’ क्याप्स्युलको रूपमा बिक्री–वितरण एवं सेवन पनि भइरहेको छ ।
कोरोनाको माहामारी चुलिएसँगै सामाजिक सञ्जालमा बेसारको महिमा पनि चुलिएको छ । प्रत्येक नेपाली भान्सामा यसको प्रयोग दोब्बररतेब्बर प्रतिशतले बढेको छ । तर यसरी मात्रा नमिलाई अत्यधिक रूपमा सेवन गरिएको बेसार ‘हानिकारक’ हुनसक्छ । सही मात्रामा प्रयोग गर्दा अनगिन्ती फाइदा भएको बेसारले मात्राभन्दा बढी सेवन गर्दा निम्त्याउने स्वास्थ्य समस्याका बारेमा बिरलैमात्र चर्चा हुने गरेको छ ।
अत्यधिक बेसार सेवनले निम्त्याउने समस्यार बेफाइदा
रक्तस्राव (ब्लिडिङ डिसअर्डर)
विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानका अनुसार शरीरलाई आवश्यकताभन्दा बढी (दैनिक ८ ग्रामभन्दा बढी) बेसार सेवन गर्दा रक्तस्रावको समस्या देखा पर्न सक्छ । यसले रगत पातलो बनाउने र ‘ब्लिडिङ टाइम’ बढाउने गर्छ । जसका कारण चोटपटक लागेपछि रगत जम्ने प्रक्रिया सुस्त हुन्छ अनि यसले अत्यधिक रक्तस्राव गराउँछ । यसका साथै शरीरमा सजिलै निलडामहरू बस्ने समस्या पनि देखा पर्न सक्छ ।
रक्तअल्पतारआइरन डेफिसियन्सी अनेमिया
हाम्रो शरीरलाई आवश्यक ‘आइरन’ आन्द्राका कोषिकाहरूले ‘फेरिटिन’का रूपमा प्रयोग गर्ने गर्छ । बेसारमा पाइने ‘करक्युमिन’ तत्व आन्द्रामा गई फेरिक आइरनसँग बाँधिन्छ, जसका कारण फेरिटिनको उत्पादन हुन पाउँदैन । यसरी हामीले जति नै आइरनयुक्त खाना खाए पनि अस्वभाविक रूपमा धेरै बेसार खाइराख्दा आन्द्राका कोषिकाले सो आइरन उपयोग गर्न पाउँदैन अनि रक्त अल्पताले सताउने गरेको पाइन्छ ।
हर्मोनसँग सम्बन्धित समस्या
हालसालै भएका अध्ययनहरुले बेसारमा पाइने ‘करक्युमिन’ ले टेस्टोस्टेरोन नामक हर्मोनको सक्रियता बढाउने तथ्य फेला पारेको छ । प्रजनन् स्वास्थ्यका दुई महत्वपूर्ण हर्मोन, ‘इस्ट्रोजेन’ र ‘टेस्टोस्टेरोन’ सँग प्रत्यक्ष सम्बन्ध हुने देखिएकाले करक्युमिनको प्रयोग मात्रा मिलाएर गर्दा मात्र फाइदा हुने अध्ययनहरूको निष्कर्ष रहेको छ ।
कस्ता बिरामीले विशेष ध्यान दिने ?
१. एन्टिकोयागुलेन्ट र एन्टिप्लेट्लेट्स्को नियमित सेवन गर्ने बिरामीलेः
रगत पातल्याउने औषधि जस्तै एस्पिरिन, हेपारिन, क्लोपिडोग्रेल, ब्रुफेन, नाप्रोक्जेन सेवन गरिरहेका बिरामीले बेसारको प्रयोग विशेष सावधानीका साथ मात्र गर्नुपर्छ ।
२. पित्तथैलीमा पत्थरी भएका बिरामीलेः
बेसारमा पाइने तत्वले पित्तथैलीको संकुचन प्रकियालाई बढाउँछ, जसका कारण पित्तथैलीमा भएको पत्थरी, पित्त नलीमा वा अग्न्याशय (प्यान्क्रियाज) को नली अड्केर झन् जटिल समस्या निम्त्याउन सक्छ ।
३. मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेका बिरामीलेः
बेसारको नियमित सेवनले शरीरमा ब्लड सुगर लेभललाई घटाउन मद्दत गर्छ । मधुमेहका बिरामीले अत्यधिक बेसार सेवन गर्दा रगतमा सुगरको मात्रा आवश्यकताभन्दा न्यून भई, बेहोसी, रिगंटा लाग्ने, छट्पटाउने, हातखुट्टा काम्ने जस्ता समस्या देखा पर्न सक्छ ।
त्यस्तै, ‘करक्युमिन’ नामक तत्वले रक्तचाप समेत घटाउने भएकाले ‘लो ब्लड प्रेसर’ भएका व्यक्तिले र उच्च रक्तचापको नियमित औषधि सेवन गरिरहेका बिरामीले सही मात्रा मिलाएर मात्र बेसार सेवन गर्नुपर्ने हुन्छ ।
४. मिर्गौलामा पत्थरीको जोखिम भएका बिरामीलेः
बेसारमा पाइने ‘अक्जालिक एसिड’ शरीरमा पुगेपछि, विभिन्न प्रक्रियाबाट ‘अक्जालेट क्रिस्टल्स’मा परिणत हुन्छ । यस्ता क्रिस्टल्स मिर्गौलामा फिल्टर हुन सक्दैनन् र पत्थरी बनेर समस्या दिने गर्छन् ।
कति मात्रामा सेवन गर्दा फाइदा ?
पटकपटक गरिएका अनुसन्धानका अनुसार, दैनिक ५००–२००० मिलिग्रामसम्म नियमित बेसार सेवनलाई सुरक्षित एवं लाभकारी मानिएको छ । एउटा सानो चिया चम्चा बराबर लगभग २००–२५० मिलिग्राम हुने अनुमान लगाउन सकिन्छ ।
‘डब्लुएचओ’ ले भने मानिसको वजन अनुसार प्रति केजी ०–३ मिलिग्रामसम्म दैनिक बेसार सेवनलाई सुरक्षित पुष्टि गरेको छ ।
बेसार सेवनलाई अझ उपयोगी कसरी बनाउने ?
कालो मरिचसँग प्रयोग गर्ने ः कुनै पनि रूपमा बेसारको सेवन गर्दा, एक चिम्टी कालो मरिचको धुलो राखेर खाँदा यसको प्रभावकारिता २००० प्रतिशतले बढ्ने अध्ययनहरूको दाबी छ । कालो मरिचमा भएको पिपेरिन नामक तत्वले बेसारमा भएको करक्युनसँग सहकार्य गरी शरीरमा बेसारको सक्रियतालाई बढाउने गर्छ ।
बेसार ‘फ्याट सोलुबल’ ः यसको अर्थ बेसार बोसोजन्य खानेकुरासँग मिलाएर खाँदा शरीरमा बढी सक्रिय हुने गर्छ । डेरीको दूधमा समेत केही मात्रामा फ्याट हुने भएकाले नेपाली भान्साको सहजता अनुरूप दूधमा एक सानो चिया चम्चा बेसार मिसाएर खानु अत्यन्त लाभदायी हुन्छ ।
(स्रोतः स्वास्थ्यखबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *