Thursday, May 28सत्यम खबर
Shadow

महिला सशक्तिकरणको पुनर्व्याख्या किन ?

अक्सफोर्ड डिक्सनरीले सशक्तिकरणलाई कुनै काम गर्न कसैलाई दिइने अख्तियार वा शक्ति भनेको छ । सशक्तिकरण एक प्रक्रिया हो जसले व्यक्तिलाई बलियो र आत्मविश्वासी बनाउँछ ।
यसरी हेर्दा महिला सशक्तिकरणको शाब्दिक अर्थ महिलालाई बलियो र आत्मविश्वासी बनाउने प्रक्रिया हो भन्ने हुन आउँछ । त्यसो भए महिला सशक्तिकरण नै किन त ? पुरुष सशक्तिकरण भनेको त खासै सुनिँदैन ।

सावित्रा ढकाल


महिला सशक्तिकरण पितृसत्तात्मक मान्यताले प्रतिपादन गरेको अवधारणा हो, पुरुषलाई यो संरचनाले अख्तियार र शक्ति दुवै दिएको छ । पितृसत्तात्मक अवधारणाले पुरुष कमजोर हुन्छन् भन्ने मान्यता नै राख्दैन । सामाजिक संस्था, पद, मूल्य, मान्यता यसैको आधारमा निर्माण भएका छन् जसबाट हरेक पुरुष लाभान्वित हुन्छन् भन्ने विश्वास छ ।
कहिलेकाहीँ मलाई महिला सशक्तिकरण शब्द आफैंमा पूर्वाग्राही लाग्छ । यसले महिलाहरू अशक्त वा कमजोर छन् भन्ने मान्यता बोकेको छ । त्यसकारण महिला सशक्तिकरणलाई पुरुषको अवस्था र हैसियतसँग तुलना गरेर परिभाषित गरिन्छ । त्यसकारण पनि महिला सशक्तिकरणको परम्परागत अवधारणाले महिलाभित्रका सम्भावना उजागर गर्नेभन्दा महिलालाई पुरुषसरह बनाउनेमा बढी जोड दिएको देखिन्छ ।
महिला सशक्तिकरणको अवधारणा महिलालाई पुरुष निर्देशित विकासको प्रतिफलको हिस्सा बनाउन सुरू भएको देखिन्छ । विकासे परियोजनाले महिलाका आवश्यकता पनि ध्यान दिनु पर्छ भन्ने मान्यतामा सुरू भएको महिला सशक्तिकरणको अवधारणा लैंगिक तथा सामाजिक रुपान्तरणसम्म आइपुग्दा विभिन्न तरिकाले व्याख्या र विश्लेषण भएको छ ।
समग्रमा महिलाका अधिकार र आवश्यकता पुरुषबाट वा पुरुष केन्द्रित मानसिकताबाट परिभाषित भएका छन् । यसको प्रतिविम्ब भाषा, मूल्य, मान्यता, संरचना हरेक कुरामा झल्किन्छ ।
हरेक क्षेत्रमा महिला र पुरुषका लागि मापदण्ड फरक छन् । नेपालको संविधानले यौनिक अल्पसंख्यकलाई अन्यको पहिचान दिएको छ । तर सामाजिक संस्था, मूल्य, मान्यता पूर्ण रूपमा ‘हेटेरोसेक्सुअल’ छन् । विद्यमान प्रणालीले महिला र यौनिक अल्पसंख्यकलाई दोश्रो र अन्य दर्जाको मानव मान्छ । यही प्रणालीमा रहेर आफ्नो सामाजिक तथा राजनैतिक हैसियत बनाउन बाध्य छन् ।
हाम्रा सामाजिक मूल्य, मान्यता र दृष्टिकोण बाीइनरी प्रणालीमा आधारित छः यसैका आधारमा सामाजिक नियम, मूल्य, मान्यता निर्माण भएका छन् । समाज बुझ्न हाम्रो भाषा र ज्ञान समेत अपुरो छ । किशोरावस्थामा आफूमा आएको यौनिक परिवर्तनबाट आफू को हो बुझ्न नसकेर कतिपय युवा डिप्रेसनको शिकार बनिरहेका छन् । यसकारण पछिल्लो समय महिला सशक्तिकरण पुनः परिभाषित गरिनुपर्छ भन्ने आवाज बुलन्द उठ्न थालेको छ ।
महिला सशक्तिकरण पुनः परिभाषित गर्दा पुरुष केन्द्रित दृष्टिकोणबाट बाहिर निस्किन जरुरी छ । यसका लागि सामाजिक नियम, लैंगिक मूल्य, मान्यतामा परिवर्तन ल्याउनुपर्छ । महिलाद्वेषी भाषा, कथन, भनाइमा पनि परिवर्तन ल्याउन जरुरी
देखिन्छ । जवाफदेही राज्य व्यवस्था, महिलामैत्री कानुन निर्माण र त्यसको कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण पक्ष हो ।
महिला सशक्तिकरणका लागि अन्तर्राष्ट्रियदेखि राष्ट्रियस्तरसम्म धेरै प्रयास भएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा पहुँच बढेकाले महिलाको अवस्थामा सुधारिएको छ । यो परिवर्तनले उनीहरूको जीवन तुलनात्मक रुपमा सहज बनाएको छ । हिजो दाउरामा खाना पकाउने महिलाहरू ग्यास हुँदै इन्डक्सनमा पकाउन थालेका छन् । तर यसले लैंगिक भूमिका, शक्ति सम्बन्धमा खासै परिवर्तन ल्याउन सकेको छैन। जागिरे वा कामकाजी महिलामा अझ कार्यबोझ थपिएको छ ।
सशक्त महिला को हो ? महिला सशक्तिकरणको अर्को महत्वपूर्ण बहस हो यो ।
जागिरे, व्यवसायी, आफ्नै नाममा घर जग्गा भएका, राजनीतिज्ञ, पत्रकार, घरमूली महिला सशक्त महिलाका केही उदाहरण हुन् ।
फेरि प्रश्न उठ्छ, के यी महिला पुरुषसरह सशक्त छन् ?
छैनन्, एउटै घरभित्र जागिरे श्रीमान र जागिरे श्रीमती, उद्यमी बहिनी र उद्यमी दाजुको हैसियत समान छैन ।
मेरो एक जना छिमेकीले सुनाएकी थिइन् – आमाछोरी तिहारमा गाउँ जान लागेका रहेछन् । आमाले ‘गाउँ जाँदा हाफ प्यान्ट चाहिँ नलैजा है । गाउँमा बेकारमा अनेक थरी कुरा गछन्’ भनिछन् ।
आफैं निर्णय गर्न सक्ने उमेरमा पुगेकी, पढे–लेखेकी, आफैं कमाउने छोरीलाई कपडाको छनौटमाथि सामाजिक प्रतिबन्ध यथावत छ भने महिला सशक्तिकरणमा हामी कहाँ छौं ?
तर्क उठ्न सक्छ, छोरालाई पनि सामाजिक प्रतिबन्ध छ त ।
अवश्य छ, तर गाउँ जाँदा हाफ प्यान्ट लगाउने कि नलगाउने भन्नेमा त छोराले सोच्नु पर्दैन । फेरि छोरामाथिको प्रतिबन्ध खुकलो छ । केटा हो, गरोस् न त भन्दै छोराको छनौट परिवारले सजिलै सहमति दिएका उदाहरण हामी हरेकले देखे–सुनेका छौं ।
केही साताअघि भारतमा गोवा पुलिसले प्रतिबन्धित क्षेत्रमा अश्लील भिडिओ छायांकन गरेको भन्दै मोडल तथा कलाकार पुनम पाण्डेलाई पक्राउ गरेको थियो । त्यही हप्ता अर्का मोडल तथा कलाकार मिलिंद सोमनले आफ्नो ५५ औं जन्मदिनको उपलक्ष्यमा गोवा किनारमा दौडिँदै गरेको नांगो फोटो सार्वजनिक गरेका थिए ।
पुनम पाण्डे छायांकनकै दिन छायांकन स्थलबाटै पक्राउ परिन् भने फोटो सार्वजनिक गरेको तीन दिनपछि राजनैतिक दबावका कारण मिलिंदविरूद्ध जाहेरी दर्ता गरियो। सामाजिक संजालमा मिलिंद र पुनमका लागि आम भारतीयले गरेको टिप्पणीले भारतीय समाजको महिला र पुरुष शरीरप्रतिको दृष्टिाकोण प्रष्ट
देखायो । महिला शरीरप्रति आम नेपालीको मानसिकता पनि यसभन्दा फरक छैन ।
यी प्रतिनिधि घटना हेर्दा महिला सशक्तिकरणका लागि आम आचरण र सामाजिक प्रतिबन्ध अर्को महत्वपूर्ण पाटो हो । महिलाप्रति पूर्वाग्रह राख्ने, विभेद गर्ने र महिलालाई दोषी देखाउने सामाजिक नियम महिला सशक्तिकरणका वाधक हुन् । त्यसकारण महिला सशक्तिकरण फराकिलो रुपमा हेर्न र पुनर्व्याख्या गर्न जरुरी देखिएको हो ।
महिला सशक्तिकरणलाई पुनः परिभाषित गर्नु भनेको परम्परागत अवधारणाको औचित्य थप पुष्टि गर्नु भने होइन । विगतका सफल प्रयास निरन्तरता दिन जरुरी छ । तर त्यसको औचित्य परिवर्तित समाजमा कति छ, थप विश्लेषण गर्न उत्ति आवश्यक हुन्छ । हाम्रो भाषा, ज्ञान, कथन, सम्बनन्ध, सामाजिक संस्था, पद, र राज्य व्यवस्था समेत परम्परागत समाजमा आधारित छन् । महिला सशक्तिकरणको अवधारणाको जग पनि यही परम्परागत समाज र राज्य व्यवस्था
हो ।
गत मेमा अन्तर्राष्ट्रिय आमा दिवसका सन्दर्भमा सामाजिक संजालमा एउटा सामाग्री भेटेकी थिएँ । जसमा एक बालिका शुभकामना कार्डमा ‘ह्याप्पी मदर्स डे’ लेख्दै थिइन् । उनले ‘एपोस्ट्रोफी’ संकेत ‘एस’ भन्दा पछाडि लेखेकी थिइन् जसको अर्थ आमाहरूको भन्ने लाग्थ्यो । शिक्षकले उनलाई गलत लेखेको
भनिन् । बालिका भने मेरा दुइटा आमा छन् भन्दै आफूले ठीक लेखेको जिकिर गर्दै थिइन् ।
रोचक के भने, आमा दिवसको अवधारणा परम्परागत समाजको बनावटमा आधारित छ जुन समाजले समलिंगी बिहेको परिकल्पनै गरेको थिएन । महिला सजातीय समूह होइन । महिलाभित्रको विविधतामा सिंगो समाज अटाउँछ । महिला सशक्तिकरणको परम्परागत अवधारणाले महिलाभित्रको विविधता पूर्ण रूपमा आत्मसात गर्न सकेको छैन । त्यसकारण महिला सशक्तिकरणलाई पुनः परिभाषित गर्दा विगतको समाज होइन वर्तमानको परिवर्तित समाज हेर्न जरुरी छ ।
विगतमा महिला सशक्तिकरणका लागि भएका प्रयासले महिलाहरूको शिक्षा, रोजगार, उद्यममा पहुँच बढेको छ । यी महिलाले विभेदकारी मूल्य, मान्यतालाई चुनौती दिएका प्रशस्त उदाहरण छन् ।
मैले यहाँ मिथिला आर्टका केही युवा कलाकारले परम्परागत कलालाई महिला सशक्तिकरणसँग जोडेर बनाएका सिर्जनात्मक कला सम्झिन चाहेँ । त्यसमध्ये एउटा कलाको सन्देश थियो– लाज महिलाको गहना होइन ।
भारतमा पुनम पाण्डेको गिरफ्तारी विरोधमा महिलाको नग्नता अश्लील होइन भन्ने ह्यासट्याग अभियान नै चल्यो । फरक देश, फरक प्रसंगका यस्ता अभियान महिला सशक्तिकरणका लागि किन महत्वपूर्ण छन् भने यो पितृसत्ताको विश्वासमाथि जवाबी हमला हो । यो विभेदकारी सामाजिक नियमविरूद्धको विद्रोह पनि हो ।
विद्रोह महिला सशक्तिकरणका लागि निकै महत्वपूर्ण चरण हो । हामी के होइनौं भन्ने विद्रोहले के हौं भन्ने नयाँ बहसको सुरूआत गर्छ । जसले महिला सशक्तिकरणलाई नयाँ स्वरूपमा परिभाषित गर्न दिशानिर्देश गर्छ ।
महिला सशक्तिकरणलाई पुनः परिभाषित गर्दा पहिलेभन्दा राम्रो बनाउने दृष्टिकोणले हेर्न जरुरी छ । हरेक उपसमूह (जस्तै दलित महिला, ग्रामिण महिला, किशोरी, समलिंगी) भित्र सशक्त महिला को हो भन्ने उदाहरण निर्धारण गर्न सकियो भने महिलालाई पुरुषसँग तुलना गर्ने परम्परा अन्त्य गर्न सकिन्छ ।
महिला सशक्तिकरण भनेको महिलालाई सशक्त बनाउने मात्र होइन, सशक्त महिलासँग परिवार र समाजले कसरी र कस्तो व्यवहार गर्ने भन्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ । यसले पुरुषको व्यवहार र आचरणमा परिवर्तनको माग गर्छ ।
विकासे कार्यक्रमले यसलाई पुरुष संलग्नता भन्ने गरेका छन् । महिला सशक्तिकरणका लागि पुरुष संलग्नतामा ध्यान दिनु पर्ने पक्ष के भने यो पुरुषले पितृसत्ताबाट प्राप्त शक्तिको थप प्रमाणीकरण
होइन । यसले पुरुषलाई लैंगिक समानताप्रति थप जवाफदेही बनाउँछ ।
पितृसत्ताबाट सबै पुरुष लाभान्वित छन् भन्ने कथन पनि भ्रम हो । पितृसत्ताले पुरुषभित्र पनि तह निर्माण गरेको छ ।
केही समय पहिले बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाबाट विक्षिप्त उनका पिताले छोरी जन्माउनु नै मेरो गल्ती थियो त ? भन्दै गरेको विलापले धेरैलाई रुवाएको थियो ।
हिंसात्मक र बलात्कारी पुरुष जन्माउने पितृसत्ताले पितालाई रुवाउने यस्ता घटना धेरै छन् हाम्रो
समुदायमा ।
एउटा पुरुषको व्यवहार अर्को पुरुषका लागि कति पीडादायी र असह्य हुन्छ भन्ने उदाहरण हो यो घटना ।
त्यसकारण महिला सशक्तिकरण र समाज रुपान्तरणका लागि पुरुषमा परिवर्तन ल्याउन जरुरी छ । लैंगिक भूमिका र शक्ति सम्बन्धमा परिवर्तन ल्याउन पुरुषहरू परिवर्तन हुनै पर्छ ।
यसले सामाजिक रुपान्तरणको यात्रा सहज
बनाउँछ । तर आचरण, व्यवहार, आनीबानीमा परिवर्तन नल्याउने हो भने पुरुषलाई परिवर्तित समाजमा समायोजन हुन कठिन छ ।
स्रो.ः सेतोपाटी अनलाईनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *