काठमाडौं, ९ मंसिर – जनता समाजवादी पार्टी नेपालले भारतसँग सीमा जोडिएका नेपालका सबै नाका खोल्न माग गरेको छ ।
पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित र सहज गर्नुपर्ने माग गरेका हुन् ।
लामो समयदेखि सीमानाका बन्द गरिएका कारणले मुलुकको अर्थतन्त्र धराशयी हुनुको साथै (तराई–मधेश) सीमा क्षेत्र आसपासका बासिन्दाको जीवन कष्टकर भएको सोमबार जसपाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

‘जनताको जीवनलाई थप कष्टकर हुन नदिन सरकारले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
कोरोना भाइरस महामारीपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । त्यसबेलादेखि भारतसँग जोडिएको सबै सीमा बन्द गरिएको थियो पछि भने केही नाका आउजाउका लागि खुला भए पनि सहज छैन् ।
