
खजुरा, २० बैशाख – स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फाराकिलो बनाउन माग गर्दै स्थानीयबासीले पहल सुरु गरेका छन् । ठेक्का सम्झौता भएर हाल निर्माणाधीन अवस्थामा रहेको खजुरा बजार खण्डको १८०० मिटर सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले पहल सुरु गरेका हुन् ।
खजुरा बजार क्षेत्रको दाँया र बाँया दुबैतर्फ ४ लेन सडक सहित फराकिलो सडक निर्माण सम्पन्न हुँदा बजार क्षेत्रमा साँघुरो र अब्यवस्थित सडक बन्दै गरेको भन्दै फराकिलो सडक निर्माणका लागि पहल स्वरुप स्थानीयले हस्ताक्षर संकलन गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का स्थानीय नेताहरुको अगुवाईमा हस्ताक्षर अभियान थालिएको रास्वपाका खजुरा गाँउ समितिका नेता विजय गुरुङले बताए ।

उनले हाललाई सडक किनारमा रहेको फुटपाथलाई ढलदेखि पछाडी सारेर दुबै तर्फ १–१ मीटर सडक पराकिलो बनाएर कालोपत्रे गर्न हुलाकी राजमार्ग निर्देशनालयलाई आग्रह गर्ने गरि हस्ताक्षर संकलन भइरहेको जानकारी दिए । सडक डिभिजन अन्तर्गत यसअघि निर्माणका क्रममा सडकको मापदण्ड घटाएर तत्कालिन दलहरुको सरकारले खजुराबासीलाई अन्याय गरेको बताउँदै उनले रास्वपाले तत्काल सडकको मापदण्ड परिवर्तन गर्न नभ्याएपनि सडक फराकिलो बनाउन केन्द्रदेखि नै पहल गर्ने बताए । स्थानीयबासीले स्वस्फुर्त हस्ताक्षर गरिदिएको उल्लेख गर्दै गुरुङले जनताको हस्ताक्षर लिएर हुलाकी राजमार्ग निर्देशनालयमा डेलिगेशन जाने तयारी गरिएको जानकारी दिए ।

सडक डिभिजनले यसअघि ठेक्का लगाएको सो सडक निर्माणको जिम्मा पाएको गजुरमुखी निर्माण सेवाले गुणस्तरहिन सडक निर्माण गरेका कारण खजुराबासीले २०७४ साल देखि सास्ती खेपिरहेका छन् ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । कम्तीमा ५ पटक म्याद थप भए पनि काम सन्तोषजनकरूपमा अघि बढ्न नसकेपछि ठेक्का सम्झौता खारेज गरिएको थियो ।

हाल हुलाकी राजमार्ग निर्देशनालयको जिम्मामा पुगेको सो सडक खण्डमा स्तरोन्नतीको काम भइरहेको छ । सडक संगै हाल पेडारी नाला तथा किराण नालाको एक तर्फी पुल निर्माणको काम भइरहेको छ ।
हुलाकी राजमार्ग निर्माण भएसँगै नेपालगन्जबाट धनगढी, टिकापुर र महेन्द्रनगर यात्रा गर्ने यात्रुहरुले हुलाकी राजमार्ग प्रयोग गर्न थालेका छन् । साबिक पूर्वपश्चिम राजमार्ग प्रयोग गर्दा निकुञ्जको टाइम कार्ड, जनावरको असुरक्षा र लामो दूरी पर्ने भएको भन्दै यात्रुहरुको रोजाई हुलाकी राजमार्ग हुने गरेको छ ।
