
खजुरा, २६ चैत – सितापुर युनाईटेड दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा सीतापुर युनाइटेडले मानवी स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउट ३–१ ले पराजित गरेको छ ।अर्को खेलमा योगिनी युवा क्लब -ए)ले केवाईसी क्लबलाई २–० ले पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा सितापुर युनाइटेड र मानवी स्पोर्टसले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए ।
सितापुरको लागि संगम सारु मगरले खेलको आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर मानवीका सुदिप सुनारले २७औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । खेलमा सितापुर युनाइटेडका गोलकिपर विवेक थारुले प्लेयर अफ द म्याचको ट्रफी जित्नु भयो । उहाँलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य डिबी तामाङ र आयोजक योगिनी युवा क्लबका सदस्य सन्तोष थापाले पुरस्कार प्रदान गर्नु भयो ।

यसैगरी अर्को खेलमा आयोजक योगिनीको लागि विपिन सिंजाली मगर र गौरम थापा मगरले १–१ गोल गरेका थिए । खेलमा योगिनीका विपिन प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई स्थानीय समाजसेवी नरेन्द्र थापा र अमर रावतले पुरस्कार प्रदान गर्नु भयो ।
योगिनी युवा क्लबको आयोजनामा भैरहेको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको छ ।

चैतको २९ गते सम्म चल्ने प्रतियोगितामा मोडेल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्टस क्लब, मानवी स्पोर्टस क्लब, २७ स्टार क्लब, राईजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योतीयुवाक्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवा क्लबको सहभागिता रहेको आयोजक योगिनी युवा क्लबका अध्यक्ष कमल पुनले बताउनु भयो ।
प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले २५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष पुनले बताउनु भयो ।

प्रतियोगिता अन्तर्गत बिहिबारको पहिलो खेलएक्स आर्मी लेजेन्ड र राईजिङ स्टार बिच पहिलो खेल हुनेछ । दोस्रो खेलमा आयोजक योगिनी युवा क्लब -ए) र एक्टिभ युवा क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
