Wednesday, April 15सत्यम खबर
Shadow

दोस्रो योगिनी गोल्ड कप : मानवी स्पोर्टस र एक्स आर्मी योगिनी गोल्डको क्वाटर फाइनलमा प्रवेश

खजुरा, २५ चैत – मानवी स्पोर्टस क्लब र एक्स आर्मी लेडेन्ज टिम दोस्रो योगिनीगोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा मानवी स्पोर्टस क्लबले जय किसान स्पोर्टस क्लबलाई १–० ले पराजित गरेको छ । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा मानवीका लागि सुदिप विकले खेलमा निर्णायक गोल गर्नु भएको थियो ।

सुदिपले खेलको २१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलमा मानवीका सुदिप प्लेयर अफ द म्याच घोषित हुनु भयो । सुदिपलाई हरित सृजना सामुदायिक वन उपभोक्ता समिति सचिव गंगा शाही र स्थानीय समाजसेवी रामबहादुर महताराले पुरस्कृत गर्नु भयो ।

यसैगरी दोस्रो खेलमा एक्स आर्मी टिमले चन्द्र ज्योति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको थियो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

खेलको सुरुआतमा एक्स आर्मीका यानबहादुर श्रेष्ठले ३८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो । तर दोस्रो हाफको ४५औं मिनेटमा चन्द्र ज्योतिका सैलेन्द्र विसीले गोल गर्दै खेल १–१ को बराबरीमा लग्नु भएको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक्स आर्मीका गोलकिपर विकास केसीले प्लेयर अफ द म्याचको ट्रफी प्राप्त गर्नु भयो । प्लेयर अफ द म्याच केसीलाई स्थानीय समाजसेवी तिलक वली र प्रतियोगिता संयोजक गणेश राईले पुरस्कार प्रदान गर्नु भएको थियो ।

योगिनी युवा क्लबको आयोजनामा भैरहेको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको छ ।

चैतको २९ गतेसम्म चल्ने प्रतियोगितामा मोडेल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्टस क्लब, मानवी स्पोर्टस क्लब, २७ स्टार क्लब, राईजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योती युवा क्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवा क्लबको सहभागिता रहेको आयोजक योगिनी युवा क्लबका अध्यक्ष कमल पुनले बताउनु भयो ।

प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले २५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष पुनले बताउनु भयो ।
प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेल आयोजक योगिनी युवा क्लब ‘ए’ र बर्दियाको केवाईसीले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा मानवी स्पोर्टस क्लब नेपालगन्ज र एक्स आर्मी लेजेन्ड टिमले खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *