
काठमाडौं, ६ फागुन – लागुऔषधसहित एक होस्टेल सञ्चालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होस्टेलको आडमा लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ती महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरपालिका–३१ कात्यायानी चोकस्थित न्यू कश्यप बोईज होस्टलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित होस्टल संचालिका सप्तरी छिन्नमस्ता गाउँपालिका–१ घर भएकी ४५ वर्षीया माया कुमारी देवी मिश्रलाई माघ २७ गते मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उक्त होस्टल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले होस्टेलमा छापा मार्ने क्रममा काउन्टरमा लागूऔषध फेला परेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ की मिश्रलाई नियन्त्रणमा लिइएको बताइन्छ । स्रोतका अनुसार होस्टेलमा ब्राउन सुगर भेटिएपछि प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको छ । हाल उनी बानेश्वर प्रहरीको हिरासतमा छिन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले उनीउपर लागुऔषध कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए ।
