
खजुरा, १ फागुन – नेकपा एमाले बाँके निर्वाचन क्षेत्र नम्बर ३ ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै “फागुन २१ का लागि मेरो २१ दिन” अभियान सञ्चालन गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टी संगठनलाई परिचालन गर्दै जनसमर्थन विस्तार गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।
अभियान अन्तर्गत क्षेत्रभित्र रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आ–आफ्नो टोलबस्ती र मतदाताको घरघरमा केन्द्रित भएर काम गर्ने जिम्मेवारी तोकिएको छ । टोलस्तरमा स–साना समूह बनाएर घरदैलो, मतदाता भेटघाट तथा टोलसभा कार्यक्रम सञ्चालन गरिनेछ ।

पहिलो चरणमा सञ्चालन गरिएका कार्यक्रमबाट प्राप्त सुझाव र अनुभवको आधारमा दोस्रो चरणको रूपमा यो अभियान अगाडि बढाइएको निर्वाचन परिचालन कमिटीका संयोजक रत्न खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार संगठनलाई अझ व्यवस्थित बनाउँदै अभियानलाई योजनाबद्ध ढंगले अघि बढाइनेछ ।
क्षेत्र नम्बर ३ को निर्वाचन परिचालन समिति बैठकले पार्टी कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई आ–आफ्नो क्षेत्र र जिम्मेवारी तोक्दै परिचालन गर्ने निर्णय गरेको हो । बैठकमा केन्द्रीय सदस्य आरती पौडेल, लेखा आयोगका सदस्य बिजया धिताल तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले पार्टीका नीति, कार्यक्रम र उम्मेदवारका प्रतिबद्धताबारे जनतालाई बुझाउने कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले बाँके क्षेत्र नं. ३ मा एमाले उम्मेदवार सुमन मल्लको पक्षमा माहोल सकारात्मक बन्दै गएको र जनसमर्थन व्यापक देखिएको बताए ।

निर्वाचन परिचालन कमिटीले ‘मेरो २१ दिन’ अभियानलाई जनसम्पर्कमुखी, व्यवहारिक र प्रभावकारी बनाउँदै प्रत्येक कार्यकर्ता कम्तीमा २१ दिनसम्म निरन्तर सक्रिय हुने संकल्पसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
कमिटीले उम्मेदवार सुमन मल्लको विजय सुनिश्चित गर्न सबै पार्टी पंक्ति एकजुट भएर लाग्न अपिल गरेको छ । साथै अभियानमार्फत जनताका समस्या, गुनासा र सुझाव संकलन गरी घोषणापत्र र भावी कार्यदिशामा समेट्ने तयारीसमेत गरिएको छ ।
निर्वाचन परिचालन समितिले बाँकी अवधिमा अभियानलाई थप व्यवस्थित बनाउँदै मतदातासँग प्रत्यक्ष संवादमार्फत विश्वास जित्ने रणनीति अवलम्बन गर्ने जनाएको छ ।
