
कविता
****

नाराहरू उडिरहे
कागजका पतंगझैँ,
रङ्गीचङ्गी, चम्किला,
तर डोरी काटिएपछि
सबै आकाशमै हराए।
कसैले भन्यो
सिङ्गापुर बनाउँछु,
कसैले जापान,
तर देश उभियो
बेरोजगार हात र रित्तो भाँडोबीच
भोकै रात काट्दै।
कसैले नयाँ नेपालको नक्सा कोर्यो,
स्विट्जरल्यान्डको सपना सुनायो,
जातको नाममा नदी बाँड्न खोज्यो,
तर त्यो नक्सा
रगतले भिजेको कागज बन्यो,
सपना
जनताको निद्रै हराउने दुःस्वप्न।
कसैले भने
युवालाई अमेरिका पठाउँछु,
न्यायको ढोका खोल्छु,
भ्रष्टाचार शून्य बनाउँछु,
तर फर्किए
युवाहरू ताबूत बनेर,
न्याय फाइलभित्र थुनियो,
र शून्य भनेको
ईमानदारी मात्र रहेछ।
कसैले सुखी नेपालीको गीत गाए,
अब कसैले रुनु पर्दैन भने,
तर देश रोइरह्यो
तुईन झुन्ड्याएर,
घुसको डोरीले बाँधिएर,
बतास, ओम्नी र यतिका
छायाँमा थिचिएर।
कसैले प्रजातन्त्रको माला जप्यो,
विकासको बत्ती बाल्यो,
तर त्यो बत्ती
शरणार्थीको आँसुमा निभ्यो,
र माला
ठगीको गलामा झुन्डियो।
तर भीडको हल्लाभन्दा टाढा,
एक स्वर थियो
चर्को होइन,
तर तथ्यले भरिएको।
भन्यो
संघीयताको भारी
यो माटोले थेग्दैन,
यो देश कर्जाको थाप्लोमा
घुँडा टेक्दैछ।
भन्यो
राजनीति अपराधीको हातमा पुग्यो भने
समाज विस्फोट हुन्छ,
र त्यो आगो
नारा लगाएर निभ्दैन।
भन्यो
भ्रष्टाचार, महँगी, बेरोजगारी
राष्ट्रिय रोग बनेका छन्,
यदि उपचार भएन भने
व्यवस्थामाथि नै
जनताको विश्वास मर्छ।
भन्यो
विदेशी सम्झौताका सुनौला आवरणभित्र
राष्ट्रघात लुकेको हुन्छ,
सहयोगको नाममा
भूराजनीतिक चक्रव्यूह कोरिन्छ।
आज परिणाम उभिएको छ
ती शब्दकै सामु
३० खर्ब ऋणको पहाड,
१५ खर्ब व्यापार घाटाको खाल्डो,
र अधुरो विकासको लामो सडक।
भदौका दिनहरू
कुनै आकस्मिक आँधी थिएनन्,
ती चेतावनी नमान्दाको
अनिवार्य परिणाम थिए।
अब मत
कागजी सपना होइन,
रङ्गीन भाषण होइन,
अब मत भनेको
आफ्नै हातमा समातेको
एउटा गिलास हो
जसमा जे हालिन्छ,
त्यही भोलि पिउनुपर्छ।
नारा होइन,
नाटक होइन,
अब गिलासमा हाल्नुपर्छ
त्यो विचार
जो हिजो पनि सत्यसँग उभियो,
आज पनि झुक्दैन,
र भोलि पनि
देशकै पक्षमा उभिनेछ।
गिलास
कुनै व्यक्तिको होइन,
कुनै चिह्नको होइन,
यो त
नागरिकको चेतनाको भाँडो हो।
त्यसैले
आज गिलासमा
मीठो झुट होइन,
चम्किलो सपना होइन,
हालौँ
त्यो धार
जो सधैं
राष्ट्र र राष्ट्रियताको
पहिरो नलाग्ने चट्टान बनिरह्यो।
कल्पना पौडेल ‘जिज्ञासु’
खजुरा बाँके नेपाल
