Thursday, March 12सत्यम खबर
Shadow

प्रजनन स्वास्थ्य सम्बन्धी तालीम सञ्चालनमा जोड

बाँके,२६ साउन । प्रजनन स्वास्थ्य तथा जीवन उपयोगी सीप हरेक समुदायको किशोर किशोरीहरुलाई आवस्यक भएकोले राज्यस्तरबाट नै हरेक समुदायका किशोर किशोरी हरुलाई प्रजनन स्वास्थ्य तथा यौनिकता बारे तालीम सँचालन गर्नुपर्ने एक तालीममा सहभागी भएका वक्ताहरुले जोड दिएका छन । त्रिबेणी बिकास समाज बाँकेले बाँकेको कोहलपुरमा आयोजना गरेको साथी शिक्षकहरुको क्षमता अभिबृद्धि गर्नका लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सचेतीकरण तालीमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन ।
तालीममा सहभागी भएका किशोरकिशोरीहरुले प्रजनन स्वास्थ्यकोे ज्ञानले अपरिपक्व रहेको उमेरका युवायुवतीमा परिपक्वता ल्याउने बताएका थिए । महिनावारी, र शारिरिक परिवर्तनका बेला किशोरकिशोरीहरुमा उत्पन्न हुने नकारात्मक भावना र हीनताबोध लगायतको समस्याको सामना गर्न सक्षमता प्रदान गरेको सहभागीहरुको भनाई रहेको थियो ।

किशोर किशोरीहरुमा साथी शिक्षक सीपको बिकास गर्नका लागि कोहलपुर, ७ हवल्दार पुरमा ५ दिने साथी शिक्षा तालीम आईतवार सम्पन्न भएको छ । त्रिबेणी बिकास समाजको आयोजनामा भएको तालीममा जानकी गाउँपालिकाको वडा नम्बर ३,४ र ६का १६ जना किशोेर र ६ जना किशोरी गरी २५ जनाको सहभागिता रहेको त्रिबेणी बिकास समाज बाँकेका मिश्रीलाल यादवले बताएका छन ।
साथी शिक्षकहरुको क्षमता अभिबृद्धि गर्नका लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सचेतीकरण,किशोरावस्था,जोखिम,वालबिवाह र त्यसका नकारात्मक असर बारे जानकारी गराउने लक्ष्य रहेको यादवले बताए ।
तालीममा किशोरावस्थाको परिचय,मानव प्रजनन अङ्गको,बनावट,महिनावारीको चक्र,किशोरावस्था सम्बन्धी चलनचल्तीका शब्दहरु, किशोरावस्थामा हुने शारीरिक मानसिक , साबेगात्मक र सामाजिक परिवर्तन तथा त्यसले स्वास्थ्यमा पार्ने असर यौनिकताको परिचय लगायतबारे सहजीकरण गरिएको थियो ।
सहजकर्ता खुशीराम चौधरी, लिला खनाल तथा निरा गुरुङ्गले ५ दिन सम्म सहजीकरण गरेको तालीममा यौनिकता सम्बन्धी समाजमा रहेको भम्र र गलत धारणा, लैगिंकताको सामाजिक बनावट,मुल्यमान्यता र भुमिका, लैगिंकतामा आधारित हिँसा, यौनशोषण र परम्परागत हानिकारक अभ्यासहरु, बारे छलफल गरिएको थियो ।
यस्तैगरि बाल अधिकारको परिचय,बालबिवाहको अवस्था र समाजमा परिरहेको असर,बालबिवाह सम्बन्धी कानुनी प्रावधान, जीवनउपयोगी सीपहरु, अनैच्छिक गर्भधारणको रोकथाम, सुरिक्षत मातृत्व, यौन सँक्रमण र त्यसको निराकरण बारे सहजीकरण गरिएको सँस्थाका प्रतिनिधि मिश्रीलाल यादवले बताए ।
त्रिबेणी बिकास समाज बाँके तथा सँस्थागत बिकास सँजाल ललितपुरको साझेदारीमा सँचालित सर्वाङ्गणीय बिकासका लागि महिला तथा बालिका शशक्तिकरण परियोजना अन्र्तगत सञ्चालन गरिएको सो तालीममा कार्यकारी ब्यवस्थापक सन्तोष कुमार यादव, कार्यक्रम सँयोजक पतिराम थारु, कार्यकारी निर्दशक सन्तोष यादव लगायतको सहभागिता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *