
प्रमोद सहनी
रौतहट, १० पाैष – रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. २ गेडही गुठी क्षेत्रमा कृषकहरूको दीर्घकालीन समस्यालाई सम्बोधन गर्दै करिब १८ फिट चौडाइको ग्रामीण सडक विस्तार गरिएको छ । गम्भीर साहको खेतदेखि पूर्व भन्टु रायको खेतसम्म तथा महेन्द्र रायको खेतदेखि राजेन्द्र रायको खेत हुँदै माईधिया विशुनपुरबा जाने पोखरासम्म पुग्ने यो सडक विस्तारपछि स्थानीय कृषकहरूको दैनिक कृषि गतिविधिमा उल्लेखनीय सहजता आएको छ ।

वर्षौंदेखि साँघुरो र अव्यवस्थित बाटोका कारण कृषि यान्त्रिक साधन, मल–बीउ तथा उत्पादन ओसारपसारमा समस्या भोग्दै आएका कृषकहरूका लागि यो सडक विस्तार महत्वपूर्ण उपलब्धि मानिएको छ। बाटो अभावकै कारण कतिपय कृषक समयमै खेतमा पुग्न नसक्ने, उत्पादन लागत बढ्ने र खेतीप्रति निराशा बढ्दै गएको अवस्था थियो ।
यस समस्यालाई प्राथमिकतामा राख्दै गरुडा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्णनन्दन सहनीको नेतृत्वमा स्थानीय जनसहभागिता र सर्वसहमत निर्णयमार्फत सडक विस्तार गरिएको हो। गाउँका भद्रभलाद्मी, कृषक तथा सरोकारवालाको उपस्थितिमा सहमतिका आधारमा बाटो खोल्ने कार्य सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ ।

स्थानीय कृषक गम्भीर साहका अनुसार सडक विस्तारले खेतीपातीमा व्यावहारिक सुधार ल्याएको छ । उनले भने, “पहिले साँघुरो बाटोका कारण ट्र्याक्टर खेतसम्म लैजान सम्भव थिएन। मल, बीउ र धान बोकेर मान्छे लगाउनुपर्थ्यो। अहिले सडक खुलेपछि कृषि लागत घटेको छ र समयमै खेती गर्न सकिने भएको छ।”
त्यस्तै अर्का कृषक रामविनय रायले सडक विस्तारलाई गाउँको आर्थिक भविष्यसँग जोड्दै हेरेका छन् । उनका अनुसार, “यो बाटो नखुल्दासम्म धेरै किसान निराश थिए । अहिले वडा अध्यक्षज्यूको पहलले राम्रो सडक बनेको छ । यसले उत्पादन बढाउने मात्रै होइन, युवा पुस्तालाई पनि खेतीप्रति आकर्षित गर्नेछ।”
स्थानीय बासिन्दाहरूका अनुसार वडा अध्यक्ष सहनीले पद सम्हालेपछि वडाभित्रका आधारभूत समस्या पहिचान गर्दै प्राथमिकताका साथ समाधान गर्दै आएका छन् । विशेषगरी कृषि, सडक र जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने पूर्वाधार विकासमा उनको सक्रियता देखिएको उनीहरूको भनाइ छ ।

सडक विस्तारपछि अब वर्षायाममा समेत खेतसम्म पुग्न सहज हुने, कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन सजिलो हुने र आपतकालीन अवस्थामा समेत आवतजावत सहज हुने अपेक्षा गरिएको छ । यसले स्थानीय कृषिको उत्पादकत्व वृद्धि गर्नुका साथै समग्र ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
गरुडा नगरपालिका वडा नं. २ मा सम्पन्न यो ग्रामीण सडक विस्तार कार्य जनसहभागिता, सहमति र स्थानीय नेतृत्वको प्रभावकारी उदाहरणका रूपमा हेरिएको छ । स्थानीय आवश्यकता पहिचान गरी कार्यान्वयनमा ल्याइएको यो पहलले वडा अध्यक्ष कृष्णनन्दन सहनीलाई विकासप्रेमी र जनउत्तरदायी नेतृत्वका रूपमा स्थापित गरेको स्थानीयहरूको धारणा छ ।
