Monday, December 8सत्यम खबर
Shadow

सातै प्रदेशमा एकैपटक किसानका विषयलाई लिएर आन्दोलन

नेपालगन्ज २३ कार्तिक – राष्ट्रिय किसान सञ्जालद्वारा किसानका विविध समस्याहरुका विषयलाई लिएर आईतबार एकैपटक देशभर शान्तिपूर्ण विरोध गर्दैछ । सातै प्रदेशका सदरमुकामहरुमा आईतबार विहान ११ बजे एकै समयमा गरिने शान्तिपूर्ण विरोध नेपालगन्जमा पनि गरिदैछ । देशभर गरिने उक्त विरोध कार्यक्रम अन्र्तगत राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले भोलि आईतबार नेपालगन्जमा जुलुस प्रदर्शन तथा जनसभा गर्दैछ ।

नेपालगन्जको एस.के. पेट्रोल पम्पदेखि शुरु हुने विशाल जुलुस प्रदर्शनमा नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ र नेकपा एमालेको भातृ संस्था अखिल नेपाल किसान महासंंघ तथा किसान सम्बद्ध अन्य विभिन्न संगठनका पदाधिकारी, सदस्य एवम आमकिसानहरुको सहभागिता हुने नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्लले जानकारी दिए ।

महामन्त्री मल्लका अनुसार, आईतबार विहान नेपालगन्जको एस.के. पेट्रोल पम्म नजिकबाट शुरु हुने जुलुस नेपालगन्जको परिक्रमापछि धम्बोझी चोकमा पुगेर सभामा परिणत हुनेछ । उक्त सभालाई अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका राष्ट्रिय किसान सञ्जालका अध्यक्ष डा. प्रेस दंगाल र नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेशचन्द तिमिल्सिनाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

आन्दोलन कार्यक्रम अन्तर्गत भोली आईतवार प्रदर्शन गरिने जुलुस र सभाको पूर्व सन्ध्यामा आज शनिवार नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आन्दोलनको आवश्यकता र औचित्यका बारेमा नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष तिमिल्सिनाले जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले किसानहरुले भोग्नु परेका समस्याको निराकरणका लागि आन्दोलनको कार्यक्रम अन्तर्गत १० बुँदे माग अघि सारिएको बताए ।

जसअन्तर्गत किसानका लागि हुने वीमा सम्बन्धि व्यवस्थाको उचित सम्बोधन, सहुलियत दरका कृषि कर्जा अनुदान, कृषि थोक बजारको उचित व्यवस्थापन, कृषि ऐन, समयमा मल, विउको सरल र सहज उप्लव्धता, दुध रकमको भुक्तानी, धान र उखुको समर्थन मूल्यको सरलीकृत व्यवस्थालगायतका माग समेटिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष तिमिल्सिना, अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिव एबम लुम्बिनी प्रदेश ईन्चार्ज आरती पौडेलले किसानको यो आन्दोलन रहर नभई बाध्यता भएको बताउँदै किसानहरु कुनै दल विशेषको पक्षपोषक नभई वर्गिय हितका लागि सधै लडिरहने बताए ।

सोक्रममा नेपाली काँग्रेस प्रदेश प्रतिनिधी पुरुषोत्तम शर्मा, नेपाल किसान महासंघका केन्द्रिय सदस्यद्वय प्रेम खरेल र विनोदराज सिग्देल, लुम्बिनी प्रदेश उपाध्यक्ष खड्ग बुढाथोकी, नेकपा एमालेका नारद शर्मा लगायतको उपस्थिती रहेको थियो ।

११ वटा सदस्य संस्थाहरु रहेको राष्ट्रिय किसान सञ्जालले कार्तिक २३ गते आईतबार विहान ११ बजे सातै प्रदेशमा एकैपटक किसानका विषयलाई लिएर आन्दोलन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *